गुणस्तरीय शिक्षाका लागि ६८ प्रज्ञार्थी छनोट

गुणस्तरीय शिक्षाका लागि ६८ प्रज्ञार्थी छनोट


टिच फर नेपालले शैक्षिक समानता र सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि ६८ प्रज्ञार्थी छनोट गरेको छ ।

यो वर्ष एक हजार ६०० भन्दा बढी आवेदनबाट ६८ प्रज्ञार्थी छनोट गरिएको टिच फर नेपालले जनाएको छ । आउँदो शैक्षिकसत्रबाट यी ६८ प्रज्ञार्थीले सात जिल्लाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने प्रयासस्वरुप निःशुल्क अध्यापन गराउनेछन् ।

गत शैक्षिक सत्रसम्म छ जिल्ला ललितपुर, सिन्धुपाल्चोक, धनुषा, दाङ, पर्सा र लमजुङमा कार्यरत टिच फर नेपालले यो वर्ष तनहुँमा पनि सो अभियान आरम्भ गर्ने भएको छ । योसँगै टिच फर नेपालले सात जिल्लाका ६७ विद्यालयका १५ हजार भन्दा बढी विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नेछ ।

विद्यालयमा पठाइनुअघि ती प्रज्ञार्थीलाई ४५ दिने तालीममा दिइनेछ । तालीममा उनीहरुलाई कक्षाकोठा भित्रका सिकाइ जस्तै कक्षा व्यवस्थापन, सिकाइ विधिलगायतका विषयमा जानकारी दिइने टिच फर नेपालका सह संस्थापक तथा तालीम निर्देशक स्वस्तिका श्रेष्ठले बताए ।
आगामी शैक्षिक सत्रदेखि टिच फर नेपालका १३८ प्रज्ञार्थीले सात जिल्लाका ६७ सामुदायिक विद्यालयमा अङ्ग्रेजी, विज्ञान र गणित विषय अध्यापन गराउने छन् । टिच फर नेपाल सामूदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न क्रियाशील एक शैक्षिक अभियान हो ।

यसले आफ्नो अभियानलाई शिक्षा मन्त्रालय, शिक्षा विभाग तथा सम्बन्धित जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा विसं २०७० देखि ललितपुर, २०७१ देखि सिन्धुपाल्चोक, २०७२ देखि धनुषा, २०७५ देखि दाङ, लमजुङ, पर्सा गरी छ जिल्लामा र २०७६ बाट तनहुँमा सञ्चालन गर्दैछ ।

अभियानका लागि यस संस्थाले विद्यालयसँगको साझेदारीमा विभिन्न विश्वविद्यालयबाट स्नातक उत्तीर्ण युवा छनोट तथा तालिम पश्चात अंग्रेजी, गणित र विज्ञान शिक्षकका रूपमा उपलब्ध गराउँदै आएको छ । हाल ललितपुर, सिन्धुपाल्चोक, धनुषा, दाङ, लमजुङ , पर्सा र तनहुँका जम्मा ६७ सामुदायिक विद्यालयमा सो अभियान सञ्चालित छ । सोमा १३८ प्रज्ञार्थी शिक्षक कार्यरत छन् ।

Logo