नाटक रुपाकृः कृष्ण र रुपाको अमर प्रेम

नाटक रुपाकृः कृष्ण र रुपाको अमर प्रेम


अहिले कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘रुपाकृ’ नाटक मञ्चन भइरहेको छ । यो नाटक कृष्ण वली र रुपा मगरको कथामा आधारित छ ।

केही समयअघि यो जोडी युट्युबमा भाइरल भएका थिए । भाइरल हुनुको कारण थियो, उनीहरुको आदर्श प्रेम । उनीहरुको प्रेमलाई दुनियामाझ छताछुल्ल पार्ने अर्को कारण थियो, कृष्णको नियती । काठमाडौं कुलेश्वरका कृष्ण वली विद्युत प्राधिकरणमा कार्यरत थिए ।

एक फिल्मको छायांकन हेर्न गएको बेला कृष्ण र रुपा मगरको भेट भयो । उनीहरुको चिनजान भयो । माया बस्यो । उनीहरुको जात मिल्दैनथ्यो । तर, मन मिल्थ्यो । मन मिलेपछि उनीहरुले अन्तरजातीय विवाह गरे ।

विवाह भएको धेरै भएकै थिएन । उनीहरुले दाम्पत्य सुखको अनुभव पनि राम्ररी लिन पाएकै थिएन । एउटा दुर्घटना भयो । विद्युतको काम गर्ने क्रममा विद्युत सर्ट भइ कृष्ण जीवन मरणको दोसाँधमा पुगे । तत्काल उनको उपचार गराइयो । कृष्ण त बाँचे तर उनको दुई हात र एउटा खुट्टा सधैको लागि काटियो ।

यसरी नव दाम्पत्यमै ठेस लागेपछि पनि उनीहरुको माया रोकिएन । बरु झन प्रगाढ भइदियो । अशक्त भइसकेका कृष्णको जीवनमा खुसी फर्काउनका लागि रुपाले आफुलाई पूर्ण रुपमा समर्पण गरिन् । उनको यही समर्पण र त्यागलाई कसैले युट्युबमा राखिदियो । उनीहरुको यो प्रेम कथा विश्वभरका नेपालीले क्षणभरमै थाहा पाए । विश्वभरका नेपाली उनको जीवनमा खुसी फर्काउन चाहे । त्यही हार्दिकताले कृष्णप्रति विश्वभरबाट माया बर्षियो ।

झट्ट सुन्दा कुनै काल्पनिक प्रेम कथा जस्तै लाग्ने यो यर्थाथलाई अहिले नाटकीय रुप दिइएको छ । सर्वनाम थिएटरमा गत सोमबारदेखि मञ्चन सुरु भएको नाटकले रुपा र कृष्णको जीवनकथालाई फेरि जीवन्त बनाइदिएको छ ।

नाटकको निर्देशन रेनुका कार्कीले गरेकी हुन् । नाटकमा सुनिशा बजगाई, सुदिप जंग कार्की, सुमन कुइकेल, लोकेस राई, नारायण ढकाल, सन्जु क्षेत्री, विपुल थापा मगर, राजिव जोशी, परि शाक्यले अभिनय गरेका छन् ।

नाटक धेरै लामो छैन । करिब ४९ मिनेटको छ । तर, नाटक हेरिरहँदा अन्यत्र ध्यान मोडिदैन । कृष्ण र रुपाको प्रेम, विवाह र समर्पणलाई सुन्दर ढंगले मञ्चमा प्रस्तुत गरिएको छ ।

प्रकाश संयोजन र पाश्र्व ध्वनी निकै सुन्दर छ । कलाकारको अभिनय परिपक्क र स्वभाविक लाग्छ । नाटक घरी संवेदनशिल मोडमा पुग्छ त घरी रोमान्टिक । दर्शकको मन स्थिर रहन पाउँदैन । दर्शक कहिले भावुक बन्छन् त कहिली मायावी ।
समग्रमा नाटक रोचक र मर्मस्पर्शी छ ।

Logo