भारतको उत्तराखण्डमा पाँच प्रदेशबाट आउनेलाई अनिवार्य कोरोना परीक्षण

भारतको उत्तराखण्डमा पाँच प्रदेशबाट आउनेलाई अनिवार्य कोरोना परीक्षण


भारतको उत्तराखण्ड प्रदेशमा अन्य पाँच प्रदेशबाट आउने व्यक्तिलाई कोरोनाभाइरस परीक्षण अनिवार्य गरिएको छ । 

अधिकारीहरुका अनुसार, महाराष्ट्र, गुजरात, कर्नाटक, मध्य प्रदेश र छत्तीसगढ प्रदेशबाट आउनेलाई परीक्षण अनिवार्य गरिएको हो । कोरोनाभाइरसको महामारीबाट अत्यन्त प्रभावित भएकाले ती प्रदेशबाट आएकाहरुलाई परीक्षण अनिवार्य गरिएको अधिकारीहरुले जनाएका छन् । 

“उल्लेखित प्रदेशहरुमा कोरोनाभाइरसको महामारी अझै न्युन भएको छैन, त्यसैले ती मध्ये जुन प्रदेशबाट आएपनि उनीहरुलाई कोरोना परीक्षण गराउन निर्देशन छ,” निर्देशनमा उल्लेख गरिएको छ । विभिन्न प्रदेशहरुमा कोरोनाभाइरसबाट सङ्क्रमित र मृत्यु भएकाहरुको सङ्ख्यामा बृद्धि भएपछि यस्तो व्यवस्था गरिएको हो । 

भारतमा मंगलबार विहान थप १० हजार ५८४ जना नयाँ सङ्क्रमित थपिएका छन् भने अरु ७८ जनाको मृत्यु भएको छ । यो सङ्ख्या पछिल्लो २४ घण्टामा भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या एक करोड १० लाख १६ हजार ३४३ पुगेको छ । ती मध्ये एक लाख ४७ हजार ३०६ अझै सक्रिय अवस्थामा रहेका छन् । 

त्यसैगरी कोरोनाका कारण भारतमा अहिलेसम्म एक लाख ५६ हजार ४६३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । रासस

Logo