कोरोना संक्रमणबाट धादिङका तीन जनाको निधन

कोरोना संक्रमणबाट धादिङका तीन जनाको निधन


धादिङ।

कोभिड –१९ को संक्रमणका कारण दुई दिनका अवधिमा धादिङका तीन जनाले ज्यान गुमाएका छन् । नेपाल बार एशोसिएशन धादिङका संस्थापक अध्यक्ष अधिवक्ता गोबिन्दबहादुर श्रेष्ठको संक्रमणबाट मृत्यु भएको छ ।

त्रियासी वर्षीय श्रेष्ठको उपचारका लागि अल्का अस्पताल लगिएकामा मृत्यु भएको धादिङ बार एशोसिएशनका अध्यक्ष कृष्णराज अधिकारीले जानकारी दिए । दुई दिन अघि अस्पताल लगिएकामा भर्ना गर्न समेत समस्या भएको थियो । निमोनिया र दमको समस्या भोगिरहेका श्रेष्ठका दुई छोरा र चार छोरी छन् । श्रेष्ठ धादिङ बार एशोसिएशनको २०४६ सालमा स्थापना हुँदा अध्यक्ष थिए ।

यसैगरी कोरोना भाइरसको संक्रमणबाट ज्वालामुखी गाउँपालिका वडा नं ७ का मोहन लोहनीको आज मृत्यु भएको छ । उनको काठमाडौँ मेडिकल कलेज (केएमसी) मा उपचारका क्रममा मृत्यु भएको हो । लामो समयदेखि युवा राजनीतिमा संलग्न लोहनी पूर्वमाओवादी केन्द्र निकट वाइसिएल नेपालका केन्द्रीय सदस्यसमेत थिए । लोहनी धादिङबाट प्रतिनिधिसभामा निर्वाचित खेम लोहनीका भाइ हुन् ।

मंगलबार मृत्यु भएका बसेरी गाविसका पूर्वअध्यक्ष डम्बरबहादुर ढकाललाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । मृत्युपछि परिवारका निश्चित केही व्यक्तिले मात्र व्यक्तिगत सुरक्षा सामग्री लगाएर सद्गत गरेका छन् । मृत्युपछि कसैको कोरोना परीक्षण नगर्ने भनिए पनि निजी अस्पतालमा उनको कोरोना परीक्षण गराइएको थियो ।रासस

Logo