टोलटोलमा नेपाल स्काउटको ‘एसएमएस बिहावीयर रिइन्फोर्समेन्ट क्यापियन’

टोलटोलमा नेपाल स्काउटको ‘एसएमएस बिहावीयर रिइन्फोर्समेन्ट क्यापियन’


काठमाडौं ।

विगत लामो समय यता सामाजिक सेवामा अनवरत रूपमा खटिएको संस्था ‘नेपाल स्काउट’ कोभिड–१९ को महामारीका समयमा पनि उतिकै सक्रिय छ । विभिन्न सामाजिक गतिविधीमा आफ्नो अब्बल र उल्लेख्य उपस्थिति जनाउँदै आएको यस संस्थाले हाल महामारीबाट बँच्नका लागि अपनाउनु पर्ने उपाय तथा सर्वसाधारणहरूले सावधानीका लागि निरन्तर काम गर्दै आएको छ ।

विशुद्ध गैरराजनीतिक एवं सामाजिक अभियानका अभियन्ताको रूपमा आम नेपाली युवायुवती, बालबालिका तथा वृद्धवृद्धाहरूलाई चेतनाको विकास गराई देश विकास तथा समृद्धिका निम्ति आर्थिक, शैक्षिक, सामाजिक, मानसिक, सांस्कृतिक रूपान्तरणमा लागि परेको यस संस्थाले हाल कोरोना भाइरसविरुद्ध जनचेतना जागरण गर्नुलाई पनि विशेष प्राथमिकतामा राखेको छ ।

भाइरस नेपाल प्रवेश गर्नु अगावैबाट जनचेतनामूलक काम गर्दै आएको स्काउटले सुरुमा ‘ह्याण्ड स्यानेटाइजेसन स्टेसन’ स्थापना गर्ने, संक्रमितहरूको व्यवस्थापन, क्वारेन्टाइन निर्माण, होल्डिङ सेन्टर निर्माण, अस्पतालहरूमा स्वाब संकलन, स्वाब संकलन तथा त्यसलाई अस्पतालसम्म पु¥याउनेदेखि लिएर आइसोलेसनमै गएर स्वयंम् सेवा गर्ने, कोरोना संक्रमणबाट मृत्यु भएका शव व्यवस्थापन लगायतमा स्काउटले आफ्नो उल्लेख्य उपस्थिति जनाउँदै आएको छ ।

यसका साथै सरकारले घोषणा गरेको लकडाउन तथा निषेधाज्ञाका बीचमा पनि नेपाल स्काउट मानव तथा पशुपन्छीहरूलाई समेत खानाको व्यवस्थामा जुटेको थियो । हाल १५ दिने अभियान अन्तर्गत स्काउटले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपूर र ललितपुरमा हरेक दिन एसएमएस (स्यानिटाइजर, मास्क, सोसल डिस्टेन्स मेन्टेन) विषयक सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको बताउँछन् नेपाल संस्थाका संयोजक लोक बहादुर भण्डारी । उक्त अभियानलाई ‘एसएमएस बिहावीयर रिइन्फोर्समेन्ट क्यापियन’का रूपमा सञ्चालन गरिएको भण्डारीको भनाइ छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल स्काउट, युनिसेफ र हिसानको संयुक्त रूपमा आयोजित यो अभियान हाल विशेष गरेर बढी भिडभाड हुने ठाउँमा केन्द्रीत रहेको छ । ‘समाजमा धेरै जना मास्क बोकेर हिड्ने तर, मास्क नलगाउने, हात नधुने, सामाजिक दुरी कायम नगर्ने जस्ता गल्तिहरू भइरहेका छन् र त्यसमा सचेत बनाउने हाम्रो काम हो,’ भण्डारी भन्छन्, ‘यस प्रकारको हाम्रो अभियानमा सर्वसाधारणको उल्लेख्य साथ र समर्थन पनि प्राप्त भइरहेको छ ।’

दैनिक संस्थाका स्वयंसेवकहरूको सक्रिय सहभागितामा विगत १० दिनदेखि नेपाल स्काउट सचेतनाका लागि अनवरत रूपमा खटिइरहेको नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराई बताउँछन् ।

आम नेपाली आफैंमा सचेत र जागरुक छन्, तथापि कोरोना महामारी र यसले निम्त्याएको विषम परिस्थितिका कारण केही निरास बनेका छन् । यसकारण मानिसहरू आफूले निर्वाह गर्नुपर्ने जिम्मेवारीबाट समेत दिग्दार भएका छन् । त्यसैले उनीहरू सचेत हुँदा हुँदै पनि अझ त्यसको पुनःताजकिकरण गर्नका लागि नेपाल स्काउट ‘हेण्ड माइक’का साथ माइकिङ गर्दै हिडिरहेको भट्टराईको भनाइ छ ।

भाइरस संक्रमण त्रासका कारण जनजीवन कष्कटर बन्दै जाँदा स्काउट भने समाजलाई थप सचेत र उर्जाशिल बनाउन लागि रहेको र अबका दिनमा पनि निरन्रतर लागिरहने भट्टराई बताउँछन् ।

Logo