एनआरएनएले भूकम्प प्रभावितको पुनःस्थापनामा सहयोग गर्ने

एनआरएनएले भूकम्प प्रभावितको पुनःस्थापनामा सहयोग गर्ने


गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष राजेन्द्रकुमार शर्मा (आरके) नेतृत्व टोलीले भूकम्प प्रभावित स्थानीयलाई राहत वितरण गरेको छ।टोली तत्कालीन, मध्यकालीन र दीर्घकालीन रुपमा गर्न सकिने सहयोगका विषयमा स्थानीयसँग छलफल गरेर काठमाडौँ फर्किएको छ।

भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका स्थानीय प्रशासन, स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नागरिक अगुवा, महिला एवम् बाल अधिकारकर्मी, पत्रकार महासङ्घको स्थानीय प्रतिनिधिसँग राहत तथा वितरण र उद्धारको विषयमा छलफल गरेको हो।

राहत तथा उद्धारका लागि कात्तिक २० गते शर्मा नेतृत्वको टोली भूकम्प प्रभावित क्षेत्र प्रस्थान गरेको थियो। टोलीले भूकम्पबाट घाइते भएर भेरी अस्पतालमा उपचाररत व्यक्तिहरुलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै केही आर्थिक सहायता प्रदान गरेको थियो। 

त्यस्तै, जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट प्रभावित भएको जाजरकोटको बारेकोट गाउँपालिका, नलगाड नगरपालिका, भेरी नगरपालिका तथा रुकुम पश्चिमको आठ बिसकोट नगरपालिका, सानोभेरी गाउँपालिकामा राहत सामग्री वितरण गरिएको छ। 

भूकम्प प्रभावितलाई २ हजार थान कम्बल, ५ सय थान त्रिपाल, ४ हजार मिटर म्याट्रेस र खाद्यान्न वितरण गरिएको महासचिब बुद्धिसागर सुवेदीले जानकारी दिए। भूकम्पबाट अति प्रभावित कोट गाउँपालिकाको रामिडाँडामा टोलीले उपलब्ध गराएको राहत सामग्री राष्ट्रपति रामचन्द्र पौडेलबाट वितरण भएको थियो। त्यस्तै टोलीले कर्णाली प्रदेशका अर्थमन्त्री बेदराज सिंहलाई राहत सामग्री हस्तान्तरण गरेको थियो। 

त्यसैगरी नलगाड नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलवीर बिक र वडा अध्यक्षहरू बद्री पन्त र मोहन खत्रीसहित सञ्चारकर्मीहरूको उपस्थितिमा हस्तान्तरण गरिएको थियो। त्यस अवसरमा अध्यक्ष शर्माले पहिलो चरणको राहतअन्तर्गत एनआरएनएले संस्थागत रुपमा सहयोग उपलब्ध गराएको जानकारी दिंदै अब मध्यकालीन र दीर्घकालीन रूपमा पुनस्र्थापनाका लागि सहयोग गर्न तयार रहेको जानकारी दिए। 

एनआरएनएले विशेषज्ञ सहितको टोलीले परामर्श सेवा उपलब्ध गराउने र त्यसको प्रक्रिया छिट्टै सुरु अध्यक्ष शर्माले बताए। तत्काल मानसिक स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालनका लागि स्थानीय एफएम पाइला रेडियो र एनआरएनएबीच सम्झौता भएको छ।

एनआरएनए टोलीले रुकुमपश्चिम आठबिसकोट नगरपालिकाको छेप्का र जाजरकोटको भेरी नगरपालिकाको रिम्नामा भूकम्पबाट मृत्यु भएका परिवारका सदस्यहरूलाई भेटेर मृतकका परिवारलाई समवेदना दिदैं केही आर्थिक सहयोग गरेको थियो।

अध्यक्ष शर्माले अब भूकम्प प्रतिरोधी क्षमताको घर बनाउनुपर्ने र त्यसको लागि आफूहरु प्राविधिकसहित अन्य सहयोग गर्न तयार रहेको जानकारी दिए। महासचिव सुवेदीले विश्वमा नेपालीले सिकेको ज्ञानलाई भूकम्प पछिको पुनर्निर्माण प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा पूर्वअर्थमन्त्री जनार्दन शर्मा, पूर्वराज्यमन्त्री गोपालजीजंग शाहलगायत स्थानीय जनप्रतिनिधि एवम् राजनीतिक दलका नेताहरुको सहभागिता थियो।

शर्माको नेतृत्वमा निवर्तमान अध्यक्ष रविना थापा, उपाध्यक्ष गंगाधर गौतम, उपाध्यक्ष राज रेग्मी, महासचिव सुवेदी, सचिव लोक दाहाल, युरोप संयोजक चिन्तामणि सापकोटा, युरोप महिला संयोजक गीता खनाल थापा, पूर्वउपाध्यक्ष नरेन्द्र भाट, अभियन्ता शनि ओली, ओम शर्मा लगायत सहभागी थिए।

शर्माले आउँदो दुई वर्षभित्र १० करोडको आपतकालीन राहत तथा उद्धार कोष बनाउने घोषणा गरिसकेका छन् भने व्यक्तिगत तर्फबाट २१ लाख रुपैयाँ प्रदान गर्ने घोषणा पनि गरेका छन्। 

त्यस्तै, सुवेदीले १९ लाख, कोषाध्यक्ष ठाकुरप्रसाद ढुंगानाले १७ लाख, पूर्वअध्यक्ष कुलआचार्यले ५ लाख ५ हजार ५५५, उपाध्यक्ष खगेन्द्र न्यौपानेले ५ लाख, युवा उपाध्यक्ष अब्दुल बाशिद ५ लाख तथा सचिव लोक दाहालले ५ लाख रुपैयाँ, उपाध्यक्ष गोविन्द श्रेष्ठ ‘रोविन्द’ ले ३ लाख, सचिव कृष्णजीवी पन्तले २ लाख १११ सहयोग प्रदान गर्ने घोषणा गरेका छन्। त्यस्तै, उपाध्यक्ष डा. केशव पौडेल, उपाध्यक्ष गंगाधर गौतम, सचिव दयानिधि सापकोटाले जनही एक लाख रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता जनाइसकेका छन्।

Logo