१७ उपाधिबाट सम्मानित अलौकिक कवि कुँवर भन्छन्- योगदानको आधारमा पाएको हुँ, स्वघोषित होइन

१७ उपाधिबाट सम्मानित अलौकिक कवि कुँवर भन्छन्- योगदानको आधारमा पाएको हुँ, स्वघोषित होइन


पोखराका अलौकिक कवि देशभक्त सिंह कुँवर  साहित्य सम्राट्, वाङ्मय सम्राट्, शब्द सम्राट्, सिर्जना सम्राट्, लेखक सम्राट्, रचना सम्राट्, महासाहित्यकार, बहुआयामिक व्यक्तित्व, संगीत मणिरत्न, दिव्य गायक, युग सञ्चारमणि र दुर्लभ महामानव लगायतका १७ उपाधिबाट सम्मानित भएका छन् । धेरै उपाधिबाट सम्मानित भएसँगै यतिबेला उनको विभिन्न संञ्चार माध्यमका साथै सामाजिक सञ्जालमा उनले पाएका उपाधिलाई लिएर आलोचना भइरहेका छन् । यसै सन्दर्भमा केन्द्रित रहेर केन्द्रबिन्दु डटकमले अलौकिक कवि देशभक्त सिंह कुँवरसँग टेलिफोन संवाद गरेकाे छ । प्रस्तुत छ, उक्त कुराकानीकाे सम्पादित अंश-   

तपाईं १२ विद्याका उपाधिबाट सम्मानित हुनुभएछ । यसरी सम्मान पाउनु भएको पहिलोपटक हो ? 

-म यसरी सम्मानित भएको यो पहिलोपटक होइन । यो भन्दा अगाडि २०७५ सालमा र गत वर्षपनि यही सम्मानबाट सम्मानित भएको थिए । यो सहित  तेस्रो पटक भयो ।  

तपाईंले पाउनु भएका १२ वटा उपाधि के–के हुन् ? उपाधि धेरै भएनन् र एक जनालाई ? 

-मैले पाएका उपाधिहरु साहित्य सम्राट्, वाङ्मय सम्राट्, शब्द सम्राट्, सिर्जना सम्राट्, लेखक सम्राट्, रचना सम्राट्, महासाहित्यकार, बहुआयामिक व्यक्तित्व, संगीत मणिरत्न, दिव्य गायक, युग सञ्चारमणि र दुर्लभ महामानव उपाधि हुन् । यसलाई मैले धेरै भयो, थोरै भयो भन्न मिल्दैन् । मैले साहित्यिक र सांगितिक क्षेत्रमा दिएको योगदानको आधारमा उहाँहरुले सम्मान गर्नु भएको हो । यस अगाडि पनि मैले थुप्रै साहित्य उपाधि र पुरस्कार पाएको छु । 

तपाईंलाई स्वघोषित उपाधि लिएको भन्ने आरोप लागेको छ नि, यसमा के भन्नुहुन्छ ?

-म पनि यस विषयमा चाँहि अचम्मित नै छु । मैले यी उपाधि पाएको १ महिना भइसक्यो । अहिले केही सञ्चारमाध्यम र केही व्यक्तिहरुले आरोप लगाइरहनु भएको छ । तपाई आफैँ भन्नुस् न कुनै संस्थाले निर्णय गरेको कुरा कसरी स्वघोषित हुन्छ । नेपालीहरुको प्रवृत्ति नै छ, आफूले पाए आहा, अरुले पाए योग्य थिएन । यसमा मेरो केही भन्नु छैन, यसलाई सामान्य रुपमा लिएको छु । मलाई मेरा आफन्त शुभचिन्तकहरुको राम्रो साथ छ । 

यति धेरै सम्मान एउटै व्यक्तिलाई, त्यसमा पनि तीन–तीनपटक ? पोखरामा अरु साहित्यकार नै नभएका हुन् ? 

-तपाईंले सही प्रश्न सोध्नुभयो, पोखरामा अरु योग्य साहित्यकार नभएका होइनन् । तर उहाँहरुले मैले साहित्य र संगीत क्षेत्रमा दिएको चार दशक लामो योगदानको कदर गर्नुभएको हो । म यसमा आफूलाई अयोग्य ठाँन्दिन । मेरा थुप्रै साहित्यिक कृतिहरुले रेकर्ड तोड्न सफल भएका छन् । 

तपाईंले अहिलेसम्म सांगतिक/साहित्यिक क्षेत्रमा अहिलेसम्म दिएका योगदान के–के हुन् ? 

-२०४०/४१ सालबाटनै सानो उमेरको बाल्यकालमा स्कुलमा गीत गाउदा र गीत कविताहरु लेख्दा, वाचन गर्दा, गाउँ छिमेक टोलहरुमा आफ्ना प्रतिभा देखाउँदा सबैको प्रेरणा पाएपछि कला, साहित्य र संगीतमा म उत्साहित भएको हुँ ।

२०४५/४६ सालदेखिन अझ धेरै कला साहित्य र सङ्गितमा अभिरुचि हुँदै स्कुलले जीवनमा झन्झन्  कृयाशिल हुँदा अग्रजहरु बाट तारिफ र सम्मानित, २०४८ साल माघ महिनामा रेडियो नेपालको चर्चित कार्यक्रम ‘चौतारी’ मा गायन प्रस्तुति,२०४९/५० मा कलाकारिताको क्षेत्रमा थप अध्ययन विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा आफ्नो नृत्य, गायन, साहित्य र नाटक प्रस्तुति,२०५१ सालमा ‘अन्तिम सजाय’ नेपाली चलचित्रको  लेखन, गायन, सङ्गीत तथा नायकको भुमिका ,२०५२ सालमा पप एल्बम ‘इन्ट्री’ आफ्नै एकल स्वर, शब्द र सङ्गीतमा प्रकाशित, २०५३ सालमा ‘पोखरेली सान्नानी’ लोकदोहोरी एल्बम आफ्नै एकल स्वर, शब्द, सङ्गीतमा गायन इन्दिरा गुरूङ र बुनु श्रेष्ठसँग,२०५४ सालमा हिट पप एल्बम ‘बाचाकबुल’ आफ्नै एकल स्वर, शब्द, सङ्गीतमा ,२०५५ सालमा हिट पप एल्बम ‘डिजायर्स’ आफ्नै एकल स्वर, शब्द, सङ्गीतमा, २०५६ सालमा ‘रिमझिम पानीमा’ एल्बम लोचन भट्टराईसँग, २०५७ सालमा लोक एल्बम ‘चिउरी बोटको पात’ आफ्नै एकल स्वर, शब्द, सङ्गीतमा ,२०५८ सालमा लोक दोहोरी एल्मब ‘डाँडामाथि घाम झुल्केको छ’ आफ्नै एकल स्वर, शब्द, सङ्गीतमा ,२०५९ सालमा लोक दोहोरी एल्बम ‘सपनीमा तिमी आइरहनी’ आफ्नै एकल स्वर, शब्द, सङ्गीतमा, २०६० सालमा लोक दोहोरी एल्बम ‘रातो अनार दानाले’ आफ्नै एकल स्वर, शब्द, सङ्गीतमा, २०६१ सालमा पपएल्बम ‘इन्फ्याक्सन’ आफ्नै एकल स्वर, शब्द, सङ्गीतमा,२०६२ सालमा पपएल्बम ‘भूगोल’ आफ्नै एकल स्वर, शब्द, सङ्गीतमा, २०६३ सालमा चलचित्र ‘मार्केट’ मा इन्सपेक्टर इमानसिंहको भूमिका , २०६३ सालमा चलचित्र ‘नारीको वेदना’मा सङ्गीतकार, २०६४ सालमा चलचित्र ‘अनिकाल’ मा मुख्य पात्रको भूमिका,२०६५ सालमा लोक पप एल्बम ‘रेखाङ्कन’ आफ्नै एकल स्वर, शब्द, सङ्गीतमा,२०६६ लोकदोहोरी एल्बम सालमा ‘दुख्छ नहान’ आफ्नै एकल स्वर, शब्द, सङ्गीत रूबीगौली र सम्झना परियारसँग ,२०६७ सालमा लोकदोहोरी एल्बम ‘आउन एकैछिन’ गायन बिमाकुमारी दुरा र शर्मिला गुरूङसँग, २०६८ सालमा लोकदोहोरी एल्बम ‘चोरी भो चोरी भो’ मा गायन देबी घर्तिमगरसँग, २०६९ सालमा पप एल्बम इम्पोर्टेन्ट आफ्नै एकल स्वर, शब्द, सङ्गीतमा,२०७० सालमा रामभत्त जोजीजु र इतु जोजीजुको स्वरमा गीतकार राजेन्द्र अधिकारी ‘अपूर्णा’ को ‘खुल्ला आकाश’ एल्बममा सङ्गीतकार,२०७१ सालमा रेडियो एल्बम ‘मेघा’ आफ्नै एकल स्वर, शब्द, सङ्गीत साथमा देविका वन्दना, मिलन अमात्य, टीका पुृन, सङ्गीता तिमिल्सिना र स्वरूपा रसाइलीसँग, २०७२ सालमा आफ्नै एकल स्वर, शब्द, सङ्गीतमा ‘फुल्यो लाली गुराँस’ एल्वम बजारमा, २०७३ सालमा आफ्नै एकल स्वर, शब्द, सङ्गीतमा टीका पुनसँग दोहोरी एल्वम ‘टुक्रिएर तिमीसँग बस्नै सक्दिनँ’,२०७४ सालमा ‘क्या बात छ’ रिभेन्ज लभ  चलचित्रमा सङ्गीतकार तथा अमर नामक पात्रको भूमिका/दुई दर्जन भन्दा बढी म्यूजिक भिडियोमा मोडलिङ्/१,००० हजार भन्दा बढी रेडियो विज्ञापनहरूमा आवाज/एक दर्जन भन्दा बढी चलचित्रहरूमा विभिन्न पात्रहरूको लागि/भ्वाईस डविङ/एक दर्जन म्यूजिक भिडियोमा निर्देशक, २०७३/०७४ सालमा सरकारी नेशनल डकुमेन्ट्री पन्चासे , छाब्दी बाराही  डकुमेन्ट्री र गोकर्णेश्वर डकुमेन्ट्रीमा एकल आवाज आफ्नै एकल शब्द सङ्गीतमा नेपालका बहुचर्चित गायक गायिकाहरूः देविका बन्दना, रामकृष्ण ढकाल, प्रमोद खरेल, अन्जु पन्त, सत्यराज आचार्य, स्वरूपराज आचार्य, मनोजराज सिवाकोटी, दीपक लिम्बु, वि.वि. अनुरागी, मिलन अमात्य, मेलीना राई, टिका पुन, स्वरुपा रसाइली र सङ्गीता तिमिल्सिनालगायत आदिको सुमधुर आवाजहरुमा विभिन्न एल्बमहरु रेकर्डिङ्क भएका थिए ।

२०७४ सालमा मंसिर १६ गतेका दिन  ‘लभ स्टेशन’ गजल संग्रह कृति प्रकाशित, सङ्ग्रह  २०७४ माघ २७ गते डेढ घण्टामै लेखिएको ऐतिहासिक मुक्तक सङ्ग्रह 'सेतो संसार' प्रकाशित,२०७४ मा चोका सङ्ग्रह राजमहल प्रकाशित, २०७४ चैत्र १ एक घण्टामै लेखिएको ऐतिहासिक हाइकु सङ्ग्रह ३ अमृत प्रेम ३ प्रकाशित चोका सङ्ग्रह ३ राजमहल ३ प्रकाशित, २०७५ असार १ गते सेदोका सङ्ग्रह 'नेपाली माया' प्रकाशित,२०७५ असोज २० गते पोखराको साहित्यिक ईतिहासमै पहिलो ताङ्का सङ्ग्रह 'एक नम्बर' प्रकाशित,२०७६ पुस २६ गते शनिबारका दिन सिजो सङ्ग्रह 'सामना'को पहिलो संस्करण प्रकाशित,२०७६ पुस २६ गते सिजो सङ्ग्रह 'सामना'को दोश्रो संस्करण र तमन्ना प्रकाशित,२०७७ असार १ गते आफ्नै शुभजन्मदिनमा कविता सङ्ग्रह कविता क्याफे प्रकाशित, २०७७ पुष ११ गते पोखराकै ईतिहासमा पहिलो छेस्का सङ्ग्रह ३ सुहाना ३ प्रकाशित  लगायतका कृतिहरु सार्वजनिक २०७८ असार १ गते आफ्नै जन्मदिनमा कविता संग्रह विवश बस्ती प्रकाशित ,२०७८  फागुनमा कविता संग्रह 'आगोका आवाजहरु' प्रकाशित  २०७९ बैशाख १ गते 'कसैले नबुझेको मान्छे म' प्रकाशित, २०७९ असार १ गते आफ्नै जन्मदिनमा कविता संग्रह, ३ परदेशमा रित्तिएका मेरा सपनाहरू ३ प्रकाशित२०८० बैशाख १६ गते नेपाली साहित्य ईतिहासकै पहिलो पुर्णिामा काव्य संग्रह 'मानवता' प्रकाशित भएका छन् ।

आगामी योजनाहरु के-के छन् ? नयाँ केही ल्याउँदै हुनुहुन्छ ?

-तिहारपछि नेपाली साहित्य ईतिहासकै आठौं 'शित काव्य संग्रह' आहा बजारमा ल्याउने तयारी छ । अन्य पनि थुप्रै संग्रह छन् । यो पुस्तक निकाल्ने काम साह्रै, झन्झटिलो हुँदो रहेछ । कतिपय किताबहरु भाषिक शुद्दताका लागि सम्पादकको काम हुँदैछ । 

अन्त्यमा, तपाईंले पाउनुभएका उपाधिलाई लिएर निकै आलोचना भइरहेको छ ? यसमा केही थप प्रस्ट्याउन चाहनुहुन्छ ? 

-मैले अगाडि पनि भनिसकेको छुँ । म योग्य भएर र मलाई योग्य ठानेर यो उपाधि दिनुभएको हो । आलोचकहरुले मलाई मात्र होइन, मेरो बुबालाई पनि छोरोको नाममा पुस्तक छपाइ दिइरहने ? लगायतका प्रश्न सोधिरहन्छन् । हामी र हाम्रो परिवारलाई यस्ता कुराले केही असर पार्दैन । साहित्यिक र सांगीतिक क्षेत्र मेरो रुचिको क्षेत्र हो, जीवनपर्यन्त यही क्षेत्रमा रहन्छु । 

Logo