एउटै समूहले १० महिनामा ३३ किलो सुन तस्करी गरेको प्रहरीकाे निष्कर्ष

एउटै समूहले १० महिनामा ३३ किलो सुन तस्करी गरेको प्रहरीकाे निष्कर्ष


जिल्ला प्रहरी कार्यालय दोलखाले बरामद गरेको ११ किलो सुन तस्करी प्रकरणको अनुसन्धान सकेको छ । 

लुकाई छिपाई अवैध रूपमा सुन पैठारी गर्ने पूर्व योजनासहित विभिन्न तहमा जिम्मेवारी पूरा गर्ने समूह बनाएर आपराधिक समूहले चीनबाट अवैध सुन पैठारी गरी काठमाडौं लैजाने गरेको प्रहरीले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । 

चीनबाट अवैध सुन तस्करी गरी दोलखाका बिगु गाउँपालिका–३ जामुने स्थित सिता तामाङको घरमा डेरा गरी बस्ने केशर तामाङले कोठामा सुन लुकाई राखेको भन्ने सूचनाको आधारमा गत असोज १० गते समेत गरी विभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय दोलखाबाट खटिएको प्रहरी नायव उपरीक्षक दीपक खड्काको कमाण्डल ११ किलो सुन बरामद गरेको थियो । 

दोलखा प्रहरीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार अवैध सुन पैठारी र संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुर शीर्षकमा मुद्दा दर्ता गरी उनीहरुलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्ज काठमाडौंबाट खटिएका प्रहरी अधिकृतहरू समेतको प्रत्यक्ष सहभागितामा जिल्ला प्रहरी कार्यालय दोलखाबाट अनुसन्धान गरिएको प्रतिवेदनमा जनाइएको छ । 

पक्राउ प्रतिवादीहरूबाट १० करोड ६८ लाख ६८ हजार ७ सय ६१ रुपैँया मूल्य बराबरको  ११ किलो ५ सय ३२ दशमलव ३८ ग्राम सुन र  नगद १८ लाख ३३ हजार ५ सय रूपैयाँ समेत बरामद गरिएको  छ । उनीहरूले २०७९ साल मङ्सिरदेखि मिति २०८० असोज १० गतेसम्म चीनबाट लुकाई छिपाई अवैध पैठारी गरेको बरामद ११ किलो ५ सय ३२ दशमलव ३८ ग्राम समेत ३३ किलोग्राम सुन पैठारी गरेको पुष्टि भएको प्रहरीको उक्त प्रतिवेदनमा दाबी गरिएको छ । जसको मूल्य ३१ करोड ११ लाख ७० हजार ४ सय ४६ रुपैँया रहेको छ । 

बरामद सुन नेपाल राष्ट्र बैक टक्सार विभाग बबरमहल काठमाडौंमा बुझाइएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी दीपक खड्काले जानकारी दिए । तस्करबाट बरामद नगद १८ लाख ३३ हजार ५ सय कसुरजन्य सम्पत्ति तथा एक/एक थान मोटरसाइकल समेत रोक्का नियन्त्रण तथा जफत ऐन २०७० बमोजिम जफतको मागदाबी लिई जिल्ला प्रशासन कार्यालय चरिकोटमा बुझाइएको खड्काले जानकारी दिए । 

सो घटनामा संलग्न भएको आरोमा १५ जना पक्राउ परेका र अन्य १२ जना फरार रहको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा दुई चिनियाँ नागरीक पनि छन् ।  चीनको सिचुवान दोमे चोल्खा घर भई हाल काठमाडौं महानगरपालिका–२५ किमडोल बस्ने ६६ वर्षका तासी दावा भन्ने आकर, चीनको सिचुवानका हाल काठमाडौं महानगरपालिका–१५ किमडोल बस्ने ५४ वर्षका टासी भन्ने गेञ्जो रौ रहेका छन् । 

यस्तै, दोलखाको बिगु गाउँपालिका–१ स्थायी घर भई काठमाडौं महानगरपालिका–६,बौद्ध रामहिटी बस्दै आएका ५५ वर्षका नुर्वु छिरिङ शेर्पा,सोही स्थान घर भई काठमाडौं महानगरपालिका– ६ बौद्धरामहिटी बस्ने ३२ वर्षकी सुनमाला तामाङ, बिगु– १ का १८ वर्षका पेम्बा तामाङ, सोही स्थानका ३९ वर्षका च्याङबा भन्ने चस्मान तामाङ, ३२ वर्षका केशर तमाङ, २० वर्षका माधवकुमार मगर र बिगुका एक नाबालक पनि पक्राउ परेका छन् । 

गुल्मीको सत्यवती गाउँपालिका–६ का टोखा नगरपालिका–७ ढुंगेधारा ग्रिनल्याण्ड बस्दै आएका ६२ वर्षका सनद प्रधान, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–७ का टोखा नगरपालिका–३ झुडोल बस्ने ४५ वर्षका लालबहादुर तामाङ, सोहि नगरपालिका–५ का ललितपुर महानगरपालिका–१२ हस्खामा बस्ने ४८ वर्षका दीपेन्द्रराज शाक्य,बाग्लुङको बाग्लुङ नगरपालिका–४ श्रीनगरटोल  नगरपालिका–६ का ४४ वर्षका तिलक बिक, रसुवाको कालिका गाउँपालिका–३ घर भई काठमाडौं टोखा नगरपालिका–१० प्रगतिनगर बस्ने ३८ वर्षको चेतनाथ न्यौपाने, रामेछापको मन्थलीका हाटेचौर स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका–२० भीमसेनस्थान बस्ने ३३ वर्षकी महिमा माझी समेतलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरेको छ ।  घटनामा संलग्न फरार अन्य १२ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

सो घटनामा संलग्नलाई भन्सार ऐन २०६४ को दफा ५७ (१) (घ) को १ (ख) अनुसार, संगठित अपराध निवारण ऐन २०७०, नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५, बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ र मुलुकी अपराध संहिता २०७४ को दफा ४३ को एकीकृत कसुर अन्तर्गत मुद्दा अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

Logo