प्रजातन्त्र सेनानी पूर्णानन्दका परिवारलाई राष्ट्रपतिको समवेदना सन्देश

प्रजातन्त्र सेनानी पूर्णानन्दका परिवारलाई राष्ट्रपतिको समवेदना सन्देश


राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातान्त्रिक आन्दोलनका योद्धा एवम् प्रजातन्त्र सेनानी पूर्णानन्द शर्मा दाहालका परिवारलाई प्रमुख जिल्ला अधिकारीमार्फत समवेदना सन्देश पठाएका छन् ।

राष्ट्रपति पौडेलले पठाएको सन्देश झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बुधबार शर्माको निवासमा पुगेर परिवारलाई हस्तान्तरण गरेका छन् । समवेदना सन्देशमा भनिएको छ–‘लोकतन्त्रका लागि भएका आन्दोलनमा पटक पटक सहभागी भएर जेलनेल र यातना भोग्नुभएका पूर्णनन्दजी एक निष्ठावान, सिद्धान्तनिष्ठ र असल नेता हुनुहुन्थ्यो । लोकतन्त्रप्रति समर्पित पूर्णनन्दजीको निधनले लोकतान्त्रिक आन्दोलनलाई अपूरणीय क्षति भएको मैले महसुस गरेको छु ।’

राष्ट्रपति पौडेलले सन्देशमार्फत पञ्चायतको कठिन समयमा २०२७ सालमा नेपाल विद्यार्थी संघको पूर्वाञ्चलमा संगठन विस्तारका क्रममा दमक हाइस्कूलका प्रधानाध्यापक रहेका पूर्णनन्द शर्माले गरेको सहयोगको स्मरण पनि गरेका छन् । झापाको कमल गाउँपालिका–६ का शर्माको गत सोमबार साँझ उपचारको क्रममा निधन भएको थियो । ८८ वर्षीय उनलाई मुटु तथा श्वासप्रश्वासको समस्या थियो । एक महिनादेखि थलिएका उनको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको थियो ।

शर्माले प्रजातन्त्रका लागि भएको आन्दोलनका क्रममा ५ वर्षभन्दा बढी जेलमा परेका थिए । बहुदलीय व्यवस्था प्राप्तिका लागि भएका आन्दोलनका क्रममा उनले पटक–पटक बन्दी जीवन बिताएका थिए ।

Logo