दलितमाथिको उत्पीडन एकजुट भएर अन्त्य गर्नुपर्छः मन्त्री किराती

दलितमाथिको उत्पीडन एकजुट भएर अन्त्य गर्नुपर्छः मन्त्री किराती


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले दलितमाथिको विभेद अन्त्य गर्ने उद्देश्यले बनाइएका कानुन भए पनि कतिपय अवस्थामा संस्कृतिका कारणले बाधा भइरहेको बताएका छन् ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, हस्तकला र समसामयिक चित्रकला विभागको सहकार्य र सामरी उत्थान सेवा केन्द्रको आयोजनामा ‘जात व्यवस्था र यौनिकताः कलाप्रतिरोध’ शीर्षकको कला प्रदर्शनीको शुभारम्भ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा उनले भने, ‘दलित आयोग बनेको छ, कतिपय कुराहरु संविधानमा प्रष्ट पनि भएको छ, तर व्यवहारमा कार्यान्वयन गर्ने सन्दर्भमा हजारौं वर्षदेखि भोग्दै आएको संस्कृति अहिले पनि बाधक छ । कानूनभन्दा पनि संस्कृति हावी भएर अहिले पनि गाउँगाउँमा, समुदायमा, जनजनमा यो उत्पीडन छ यसको अन्त्य हामीले एकजुट भएर गर्न जरुरी छ ।’ यी सबै समस्याको समाधान राजनीतिले नै गर्ने भन्दै उनले हो तर अधिकारको आन्दोलनमा कमी देखिँदा अलमल जस्तो भएको बताए ।

उनले भने, ‘जातीय उत्पीडनको कुरा गर्दा आर्थिक उत्पीडनको वास्ता नगर्ने, एउटा पक्षमा मात्रै केन्द्रीत हुँदा हामीले प्राप्त गर्न पर्ने अधिकारमा कमजोर भयौं । आन्दोलनलाई संयुक्त रुपमा मोर्चाबाट अगाडि लान सक्ने हो भने यो सशक्त र प्रभावकारी हुन्छ ।’

जात र लिङ्गको आधारमा समाजमा चरम विभेद भइरहेको भन्दै उनले भने, ‘त्यसप्रति नेपाल सरकारको तर्फबाट पश्चातापसहित क्षमा माग्न चाहन्छु । समयसँग तुलना गरेर हेर्दा केही सहज भएकै छ, तर पनि उत्पीडित समुदायको जीवन व्यवहारमा जाँदा अहिले पनि हामी जङ्गली युगमै छौं कि भन्ने अनुभूति पनि हुन्छ । समुदायभित्रै गएर हेर्ने हो भने मात्रै धेरै काम गर्न बाँकी रहेको अनुभूति हुन्छ ।’

Logo