उत्कृष्ट ५ स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२३ को घोषणा

उत्कृष्ट ५ स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२३ को घोषणा


प्रविधि क्षेत्रको सबैभन्दा प्रतिष्ठित र लोकप्रिय रहेको आइसिटी अवार्ड कार्यक्रम अन्तर्गत यस वर्षको लागि विभिन्न ३ विधामा उत्कृष्ट ५ को सार्वजनिक गरिएको छ । स्टार्टअप आइसिटी अवार्ड २०२३, प्रडक्ट आइसिटी अवार्ड २०२३ र राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२३ विधामा १४ जना जुरी सदस्यहरुको छनौटको आधारमा आज उत्कृष्ट ५ को घोषणा गरिएको हो ।

उत्कृष्ट ५ मा पर्ने स्टार्टअपहरुमा भोजमाण्डु फुड प्रा.लि, दियो एआई टेक्नोलोजी प्रा.लि, जीजी कर्पोरेसन प्रा.लि, रासन टेक्नोलोजिज प्रा.लि र यार्सा टेक प्रा.लि रहेका छन् । यसैगरी प्रडक्ट आइसिटी अवार्ड अन्तर्गत उत्कृष्ट ५ प्रडक्टहरुमा डिजी बज, फास्ट बैंकिङ, मनि मित्र, क्युकआरपिए र यात्री पी-१ रहेका छन् । 

राइजिङ स्टार इन्नोभेसन विधा अन्तर्गत उत्कृष्ट ५ मा पर्न सफल इन्नोभेसनहरुमा ब्लाङ्सेर, ड्रेसन, द्रिश्य, इन्टर्नसाथी र प्रष्ट नेपाली रहेका छन् ।

आइसिटी अवार्ड २०२३ का यी ३ विधाहरुमा २०० बढिको नोमिनेसन प्राप्त भएको थियो । उत्कृष्ट १२ स्टार्टअप, १३ राइजिङ स्टार र १४ प्रडक्टले गत असोज १९ र २० गते काठमाडौंमा आयोजना भएको स्टार्टअप एण्ड आइडिया फेस्टमा सहभागी भएर प्रडक्ट र स्टार्टअप प्रदर्शनीमा राखेका थिए । 

यसैगरी उनीहरुले असोज २७ गते आयोजना भएको ग्राण्ड जुरी सेसन अन्तर्गत प्रिजेन्टेसन एण्ड स्पिड डेटिङमा पनि सहभागी भएर प्रस्तुती दिएका थिए । उनिहरुको प्रस्तुती, आइडिया र स्टार्टअपको बारेमा कान्तिपुर टेलिभिजनमा विशेष टेलिभिजन शो पनि प्रशारण हुने आयोजकले जनाएको छ । 

विभिन्न ३ विधामा छनौट भएका उत्कृष्ट ५ हरुले केहि समयपश्चात सञ्चालन हुने पब्लिक भोटिङमा सहभागी हुनेछन भने स्टार्टअप लगायतका विधामा जुरी समितीले कार्यालय भिजिट पनि गर्नेछ । उत्कृष्ट ५ मा पर्न असफल स्टार्टअप, प्रडक्ट र राइजिङ स्टारहरुले पनि पब्लिक च्वाइस आइसिटी अवार्ड २०२३ विधामा सहभागी हुन पाउनेछन् । 

सर्वोत्कृष्टलाई पुस ६ गते आयोजना हुने ग्राण्ड फिनाले कार्यक्रममा विशेष सम्मान गरिने अयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए ।

यसैगरी आइसिटी अवार्ड २०२३ अन्तर्गत अन्य व्यत्तिगत र सस्थागत अवार्ड विधाहरुमा पनि छनौट प्रकृया जारी रहेको छ । प्रोफेसनल एक्सिलेन्स, पायोनियर, आन्टरप्रेनर्स, वुमन आइकन र नेपाली डायस्पोरा आइसिटी अवार्डका विधाहरुमा दोश्रो चरणको छनौट प्रकृया सञ्चालनमा छ । त्यस्तै, डिजिटल एजुकेसन, डिजिटल गर्भनेन्स र डिजिटल सर्भिसेस विधामा पहिलो चरणको छनौट प्रकृया सञ्चालन भइरहेको छ ।

साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड विधामा नोमिनेसन अवधी समाप्त भएर स्क्रिनिङ भइरहेको आयोजकले जानकारी दिएको छ । साउथ एसिया स्टार्टअप अवार्डमा विभिन्न ६ देशबाट ६० बढिको नोमिनेसन प्राप्त भएको छ । यस विधामा सर्वोत्कृष्ट छनौटकोे लागि भारत, बंगलादेश, पाकिस्तान र श्रिलंकाबाट जुरी सदस्यहरु रहेका छन् ।

क्रम लिभिङ विथ आइसिटीले आयोजना गर्दै आइरहेको आइसिटी अवार्ड सन् २०१६ बाट सुरु भएको हो । यस वर्ष आठौँ संस्करणअन्तगर्तको आइसिटी अवार्डमा १३ विधामा ५५० बढिको अनलाइन नोमिनेसन प्राप्त भएको छ । छनौटको लागि १४ जना विज्ञ जुरी सदस्यहरु रहेका छन् भने १३ जनाको शिशिष्ट सल्लाहकार समिति रहेको छ ।

अवार्डमा छनौट प्रकृयाको लागि २५ बढि जुरी मिटिङ र प्रवर्द्धनको १० बढि प्रि-इभेन्ट क्याम्यिनसँगै टेलिभिजन शो पनि सञ्चालन हुनेछ । यस अवार्ड कार्यक्रममा नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दुरसञ्चार प्राधिकरण, नास्ट, एफएनसिसिआई, न्यास आइटी लगायतका राष्ट्रिय, अन्तर्राष्ट्रिय सस्थाहरुको सहकार्य रहेको छ ।

Logo