झ्याङगाउँका बासिन्दा लसुनबाटै आत्मनिर्भर

झ्याङगाउँका बासिन्दा लसुनबाटै आत्मनिर्भर

केन्द्रबिन्दु
70
Shares

रुकुम पश्चिम । रुकुम पश्चिमको सदरमुकाम खलङ्गाबाट केही टाढाको दूरीमा छ मुसीकोट नगरपालिका–१० को झ्याङगाउँ। सडक सञ्जालबाट यो गाउँ अझै जोडिन सकेको छैन। यहाँका स्थानीय सडकको पर्खाइमा छन्। गाउँमै सडक नपुगे पनि केही तल खोलामा भने सडक पुगेको छ। अन्य समयमा सडकको त्यति धेरै महत्व नभए पनि जब गाउँमा उत्पादन भएको कृषिजन्य वस्तु बजार पुर्याउने समय आउँछ त्यो बेला भने किसानलाई सडक आवश्यकता महसुस धेरै हुने गरेको छ।

सडकको समस्या भएपनि गाउँमा उत्पादन भएको कृषिजन्य बस्तु बिक्री गर्न भने बजारको समस्या छैन। यो गाउँमा अन्य कृषिजन्य वस्तुभन्दा पनि लसुन खेती राम्रो उत्पादन हुने गरेको छ। झ्याङ गाउँमा पछिल्लो केही वर्षयता लसुन खेतीतर्फ किसानको आकर्षण बढेको छ। सिङ्गो झ्याङ गाउँका बासिन्दाले लुसुन खेती गरिरहेका छन्। बाइस परिवार रहेको यो गाउँमा सबैले लसुन खेती गरिरहेका छन्। लसुन खेतीले यहाँका स्थानीयको आर्थिक अवस्थामा समेत सुधार ल्याएको छ।

गाउँमा पहिलो पटक २०६२/६३ सालदेखि लसुन खेती सुरु गर्नभएका स्थानीय ७१ वर्र्षीय झुपलाल खड्काले लसुन खेतीबाट पर्याप्त आम्दानी हुने गरेको बताए। “गाउँमा पहिलो पटक लसुन खेती गर्ने कुषक म नै हुँ, पछिल्लो सयम लसुन राम्रो उत्पादन हुने र आम्दानी पनि राम्रै हुने भएकाले गाउँका सबै किसान लसुन खेतीमा लाग्नुभएको छ,” खड्काले भने। गहुँबाट भन्दा लसुनबाट राम्रो आम्दानी हुने भएकाले लसुन खेतीलाई जोड दिएको उनी बताउछन्। “गहुँबाट ६ महिनासम्म राम्रोसँग खान नपुग्ने अवस्था हुन्थ्यो, अहिले लसुनबाट वार्षिक रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म कमाई हुन्छ, अन्य घरखर्च पनि व्यवस्थापन गर्न सहज भएको छ।”

गत वर्ष १४ क्विन्टल लसुन बिक्रीबाट रु एक लाख १० हजार आम्दानी भएको खड्काले बताए। एक दशकअघिको कुरा स्मरण गर्दै खड्काले भने, “पहिले डोकामा बोकेर चार घण्टा हिँडेर सदरमुकाम खलङ्गा पुगेर लसुन बिक्री गरेको हुँ, अहिले त गाउँ नजिकै सडक पुगेको छ। त्यही लगेर गाडीमा सजिलै बजार पुर्याउन सकिन्छ। धैरै कुरामा सहज भएको छ।” लसुनबाट मनग्य आम्दानी हुने भएकाले गहुँ लगाएको बारीमा आगामी वर्षदेखि लसुन खेती गर्ने सोच उनको छ।

स्थानीय ६१ वर्षीय कर्णबहादुर खड्का पनि यतिबेला लसुनले फल लगाउने (गाना) समय भएकाले लसुन खेतीको रेखदेख तथा गोडमेलनमा व्यस्त हुनुन्छ। घर नजिकैको केही जग्गामा गहुँ खेती गरे पनि धेरै जग्गामा लसुन खेती गरेको छ। गत वर्षको भन्दा यसपटक अलि धेरै लसुन खेती गरेको खड्काले बताए। विंस २०६८ देखि व्यावसायिक लसुन खेतीमा लाग्नुभएका खड्का लसुन खेतीबाट सन्तुष्ट छन्। “गहुँ खेतीभन्दा लसुन खेतीलाई जोड दिएको छु, गहँु खेतीबाट परिवारको खर्च व्यवस्थानप गर्न समस्या हुन्थ्यो, व्यावसायिक लसुन खेती गर्न थाले पनि आर्थिक रुपमा सहज भएको छ,” उनले भने।

“पहिले बजारको समस्या हुँदा व्यावसायिक रुपमा खेती गर्न सकिएको थिएन, अहिले त जति उत्पादन भए पनि लसुन खरिद गर्न ठेकेदार किसानकै बारीमा आउने गरेका छन्, यसले गर्दा पनि हामीलाई व्यावसायिक रुपमा लसुन खेती गर्न थप हौसला मिलेको छ”, खड्काले भने। उनले गत वर्ष लसुन बिक्रीबाट बीउबाहेक रु ८३ हजार आम्दानी गरेको सुनाए।

खड्काहरुको बसोबास रहेको यो गाउँमा पछिल्लो सयम लसुन खेतीप्रतिको आकर्षण बढ्दै गएको छ। उत्पादन र आम्दानी दुवै राम्रो पाउने भएपछि लसुन खेतीमा आकर्षण बढ्दै गएको स्थानीय समेत रहनुभएका मालिका मावि चुनका शिक्षक गोपाल खड्काले बताए। उनी पनि शिक्षक पेसासँगसँगै साँझ बिहानको समयम लसुन खेती गर्दै आएका छन्। शिक्षण पेसामा २५ वर्ष खर्चिएका खड्का कृषि पेसालाई पनि सगँसँगै अँगाल्दै आएका छन्। लसुनबाट मनग्य आम्दानी देखेपछि २०६८ सालदेखि व्यावसायिक लसुन खेती गर्न सुरु गरेको उनले बताए।

“बारीमा अहिले एक सय २० किलो लसुन लगाएको छु, गत वर्ष बीउबाहेक रु ९० हजार आम्दानी भयो, यो वर्ष लसुनबट राम्रै आम्दानी हुने विश्वास छ। वडामा उत्पादन भएको लसुन बिक्रीमा समस्या छैन्, कृषकले उत्पादन गरेको लसुन बारीमै पुगेर व्यापारीले कृषकसँगै मूल्य निर्धारण गरेर खरिद गर्ने गरेका छन्,” शिक्षक खड्काले भने। प्रचारप्रसार, अनुदानमा बीउ वितरण, बजार व्यस्थापनको सहजीकरण वडाले गरेको छ। लसुन उत्पादन गर्ने किसानलाई प्राविधिक ज्ञान पर्याप्त नभएकाले प्राविधिक ज्ञानको आवश्यक रहेको शिक्षक खड्काले बताए।

कुन बेला गोडमेल गर्ने, कुन औषधि प्रयोग गर्ने, बीउ कसरी लगाउने, प्राङ्गारिक मल व्यवस्थापनलगायत विषयमा प्राविधिकले किसानको खेतबारीमै पुगेर सिकाउन आवश्यक रहेको उहाँको भनाइ छ।

Logo