नेपाली सेनाको सफा हिमाल अभियान सुरु

नेपाली सेनाको सफा हिमाल अभियान सुरु

केन्द्रबिन्दु
126
Shares

काठमाडौं । मुलुकका हिमशिखरहरुका फोहोर संकलन गर्दै व्यवस्थापन गर्दै आएको नेपाली सेनाको सफा हिमाल अभियानको चौंथो संस्करण बिहीबारदेखि सुरु भएको छ।

मुख्यालय जंगी अड्डामा बिहीबार प्रधानसेनापति प्रभुराम शर्माले सम्बद्ध टोलीलाई ब्यानरसहित आवश्यक सामाग्री हस्तान्तरण गरी अभियान उद्घाटन गरेका हुन्।

कार्यक्रममा प्रधानसेनापति शर्माले प्रकृति र पर्यावरण संरक्षणका लागि हिमालहरुको स्वच्छता कायम रहनुपर्ने बताए। यो उद्देश्यले यस वर्षमा पनि सफा हिमाल २०२४ आयोजना गरिएको जानकारी दिए। विगतका अनुभव र यस वर्षको विस्तृत र व्यवहारिक योजनाले गर्दा अभियानले सफलता पाउने विश्वास उनले व्यक्त गरे।

उनले भने, ‘प्रकृति र पर्यावरण संरक्षण गर्नका निमित्त हाम्रा हिमालहरुको स्वच्छता कायम राख्ने नेपाल सरकारको राष्ट्रिय कार्यक्रम कार्यान्वयनलाई नेपाली सेनाले प्राथमिकतामा राख्दै आएको छ। यसै क्रममा अघिल्ला वर्षहरुमा झै यो वर्षमा पनि सफा हिमाल २०२४ आयोजना गरिएको हो। विगतका अनुभवहरु र यस वर्षको विस्तृत र व्यवहारिक योजनाले गर्दा यस अभियानले पक्कै पनि पाउन सक्छ भन्ने विश्वास छ।’

सगरमाथा, ल्होत्से, पुमोरी, आमादब्लम, मकालु, धवलागिरी लगायतका ६ वटा हिमाल सफा गर्न लागेको छ। सफा हिमाल अभियान आउँदो जेठ २२ गते विश्व वातावरण दिवसको अवसरमा समापन हुने जनाइएको छ।

अभियानमा नेपाली सेनाका ४३ जना आरोही सदस्य र शेर्पालगायतका अन्य व्यक्तिको पनि सहयोग रहनेछ। सफाइ अभियानमा वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पर्यटन बोर्डसहित सम्बन्धित गाउँपालिका र निजी क्षेत्रको सहकार्य रहने नेपाली सेनाले जनाएको छ।

हिमाल सफाइका लागि यसपटक १२ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान छ।

Logo