तरकारी खेतीबाट नाम र दाम

तरकारी खेतीबाट नाम र दाम

केन्द्रबिन्दु
56
Shares

बागलुङ । कुनै समय निर्माण क्षेत्रमा ज्याला मजदुरी गर्ने बागलुङ नगरपालिका ९ तित्याङका पदम खत्री यतिबेला तरकारी खेतीमा रमाएका छन् । तरकारी खेतीबाटै स्वरोजगार बनेका उनले जिल्लामा उत्कृष्ट किसानका रूपमा सम्मान समेत पाइसकेका छन् ।

कृषि ज्ञान केन्द्र बागलुङले खत्रीलाई गत धान दिवसमा उत्कृष्ट किसानका रूपमा नगदसहित सम्मान गरेको थियो । घर निर्माणलगायतका काममा मजदुरी गर्ने उनी १५ वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय छन् । विसं २०६६ मा एउटा प्लाष्टिक टनेलबाट तरकारीखेती सुरु गर्दै आएका खत्री यतिबेला जिल्लाकै सफल किसानका रुपमा परिचित छन् । उनले अहिले १८ रोपनी जग्गामा तरकारी खेती गरिरहेका छन् । उनीसँग फर्ममा आठ वटा साना र ठूला प्लाष्टिक टनेल छन् ।

अधिकांश दौतरीहरु पैसा कमाउन विदेश पलायन भए पनि खत्री भने तरकारी खेतीमै सक्रिय छन् । तरकारीखेतीबाट नाम र दाम दुवै हुन थालेपछि विदेश जाने योजना कहिल्यै नबनेको उनले सुनाए ।

“तरकारीखेतीबाटै वार्षिक रु १० देखि १२ लाखसम्म आम्दानी भइरहेको छ”, उनले भने, “तरकारीखेतीबाटै नाम र दाम हुन थालेपछि विदेश जानुपर्ने बाध्यता कहिल्यै आएन ।” उनले तरकारीखेतीबाटै परिवारको खर्च, बालबच्चाको पालनपोषण भइरहेको बताए । उहाँले हालसम्म एक दर्जनभन्दा बढी संस्थाबाट प्रोत्साहन स्वरुप पुरस्कार प्राप्त गरिसकेका छन् ।

“एक रोपनी जग्गाबाट सुरु भएको तरकारीखेती अहिले १८ रोपनीमा पुगेको छ । अहिले दाम मात्रै हैन नाम समेत कमाउन थालेको छु, पहिला वडामा मात्रै कृषक भनेर चिन्थे अहिले जिल्लाभर कृषकको परिचय फेरिएको छ”, उनले भने, “पाँच रोपनी आफ्नै र अन्य जग्गा भाडामा लिएर तरकारी उत्पादन गर्दै आएको छु ।”

अहिले खत्रीको टनेलमा टमाटर, सिमी, काक्रो, काउली, बन्दालगायतका तरकारी उत्पादन भइरहेका छन् । खत्रीले बेमौसमी तरकारी तथा खुला जग्गामा मौसमी तरकारीखेती गरिरहेका छन् ।

आठ वटा प्लाष्टिक टनेलमध्ये दुई वटा हाइटेक टनेल र अन्य परम्परागत टनेल रहेको बताउँदै खत्रीले नगरपालिकाको तरकारी खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत आधुनिक टर्नेल निर्माण भइरहको जानकारी दिए । खत्री एग्रो फार्ममा हालसम्म १२ लाख लगानी गरिसकेका छन् । उनले कृषि ज्ञान केन्द्रबाट प्लाष्टिक टनेल निर्माण र बिउबिजनमा सहयोग प्राप्त भइरहेको जानकारी दिए । हाल उनले तरकारीखेतीसँगै ब्रोइलर कुखुरा र भेडापालन पनि गरेका छन् । उनले एक जनालाई प्रत्यक्ष रोजगारी समेत दिएका छन्

Logo