नेपालले पर्वत र जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद गर्दै

नेपालले पर्वत र जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद गर्दै

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । नेपालले पहिलो पटक आगामी जेठमा पर्वत र जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय संवादको आयोजना गर्ने भएको छ।

पर्वतीय क्षेत्रको मुद्दामा सबै पर्वतीय राष्ट्रहरुको समान धारणा कायम गरी आगामी दिनमा सोसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहललाई प्रभावकारी बनाउन जेठ ९ र १० गते काठमाडौँमा संवाद गर्न लागिएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ।

‘पर्वत, जनता र जलवायु परिवर्तनमा अन्तर्राष्ट्रिय संवाद’मा नेपाललगायत अन्य पर्वतीय मुलुकका प्रतिनिधि, विषय विज्ञ एवं साझेदार संस्थाको सहभागिता रहनेछ। जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रको पारिस्थितिकीय प्रणाली, जनजीवन र जैविक विविधतामा परेको नकारात्मक असरका बारेमा नेपालले सन् २००९ देखि जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनलगायतका अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउँदै आएको छ।

गत वर्ष दुबईमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२८) ले पहिलो पटक पर्वतीय क्षेत्रको जलवायु सङ्कटलाई सम्बोधन गर्ने निर्णय गरेको थियो।

उक्त निर्णयअनुसार आगामी जुनमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रयसङ्घीय संरचना महासन्धी (युएनएफसिसिसी) अन्तर्गतको वैज्ञानिक तथा प्राविधिक परामर्श सहायक निकाय (एसबिएसटिए) को ६०औँ बैठकमा पर्वत र जलवायु विषयमा विज्ञ छलफल आयोजना गर्न निर्देशन दिएको थियो।

Logo