सुबास रेग्मीको थेगो ‘लोके’ कि ‘टिके’ !

सुबास रेग्मीको थेगो ‘लोके’ कि ‘टिके’ !

केन्द्रबिन्दु
0
Shares

‘लोके’ भन्ने शब्द राख्न नसकेर सुबासले ‘टिके’ भन्ने शब्द राखेर गीत बनाए । किनकि उनलाई अर्को सार्वजानिक मुद्दा पर्ला भन्ने डर छ अथवा भर्खरै बनाएको नयाँ अफिस तोडफोड होला भन्ने डर लागेर अहिले सोझो शब्द प्रयोग नगरी आफ्नै ‘टीको’ लाई बिम्ब बनाए ।

वर्षौं अगाडि लोकगीतमा संगीत पारखीहरुले लगानी गर्ने चलन बढेको थियो । मान्छेहरु त्यसरी गीतमा लगानी गर्न उत्साहित हुनुको पछाडि केही निश्चित कारणहरु थिए । जस्तै काँचको पर्दामा देखिन पाईनु। मोडलहरुसँगको सामीप्यता, रातारात चर्चा चरम चुलीमा पुगेर हिट भईने, दुनियाले बाटो हिड्दा फर्केर हेर्ने ईत्यादी कारणले गीत संगीतमा लगानी गर्ने गैह्र कलाकारहरुको लस्कर लम्बिदै गईरहेको थियो ।

त्यसरी लगानी गर्नेहरुको महत्वाकांक्षा लगानी गराई र ग्ल्यामर जनहरुको संगतमा मात्र सिमित रहेन । सजिलो रेकर्डिङ र अटो ट्युनरको कारण ति लगानीकर्ताहरु आफै गीत गाउन समेत तम्सिए ।

मोडलिङ गर्ने लगानीकर्ताहरु त अनगिन्ती नै भए । जति गीत तयार भए उति लगानीकर्ता आउन थाले अनि जति जना लगानीकर्ता आए उत्ति धेरै कलाकारहरु थपिदै गए । फलस्वरुप हरेक नयाँ गीत रिलिज हुँदा तिन-चार जना नयाँ कलाकार थपिदै गए । त्यसरी थपिएका कलाकारहरुलाई लगानी गर्न उक्साउनेहरु ले नै ‘मुर्गा’ भन्न थाले ।

ति मुर्गाहरु जसले आफुलाई लोक कलाकार हुँ भनेर दावी गरिरहेका थिए तिनीहरुलाई सांगीतिक जगतले ‘लोके’ भन्न थाल्यो । मैले त्यहि शब्दको अर्थ खुल्ने गरि यौटा ब्लग लेखें जुन कालान्तरमा नकै विवादित समेत भयो ।

यथार्थ कुरा पचाउन राम्रै लोक कलाकारहरुलाई पनि हम्मे हम्मे पर्यो किनकी त्यसरी मुर्गा नफसाएको लोक कलाकार नेपालमा विरलै होलान । अझ त्यसरी मुर्गा खोजेरै मात्र गीत बजारमा ल्याउन केही नयाँ गीतकारहरु र नव प्रवेशी गायीकाहरुले एक किसिमको होडबाजी नै चलाए ।

दोहोरीमा वेट्रेसको काम गर्ने युवतीलाई उसको ग्राहकले भिडियोमा लगानी गर्दिएर हिट गायिका बनाईदियो । मेनपावर दलाल र जग्गा दलाल मुख्य ग्राहक रहेका दोहोरीका अधिकांश युवतीका गीतहरुमा त्यस्तै ठगीको पैसा प्रयोग भयो जसबाट लगानी फिर्ता आवश्यक पनि थिएन ।

जसरी आयो त्यसरी गयो तरिकाले तिनीहरु पनि मेरो नजरको लोकेमा दर्ता भए । तर आम कलाकारले त्यो ब्लग पढेनन, उनीहरुले शब्दको प्रयोग प्रति नै बिरोध जनाए। मैले वास्तविक कलाकारलाई त्यो शब्दले छुदैन भनेर बुझाउने प्रयत्न नगरेको होइन तर कलाकारहरु त्यो कुरा सुन्ने चाहेनन् र मैले पनि अब त्यो शब्द सार्वजानिक प्रयोग नगर्न प्रतिवद्द भए ।

अर्को टोली छ खाडी मलेसियामा रोजगारी गर्ने युवाहरुको । उनीहरु कलाकारसँग नजिक हुन र रमाउनको लागी एक दुई महिनाको तलव सजिलै खर्च गर्न तयार हुन्छन ।

नेपालमा एउटा जमात छ जसको ब्यापार नै विदेशमा रहेका त्यस्ता युवा पत्ता लगाउने उनीहरुसँग बोल्ने अनी फकाउनेर लगानी गर्न उक्साउने काम गर्दछन । त्यसरी उक्साउने लोके र उक्सेर लगानी गर्ने टिके हुन । विसुद्द कलाकारीता गर्नेहरु म संग नरिसाए हुन्छ ।

चर्चालाई जतातिर डोर्याएपनि सुबास रेग्मी खरो बोल्ने मान्छे हुन् । उनको भाषा कहिलेकाही तितो सुनिन्छ । कुकुर बिरालो काण्डमा बिम्बको प्रयोग नगर्दा उनको कार्यालयमा तोडफोड भएको थियो अहिले पनि ‘लोके’ शब्द राख्दा तोडफोडमा परिने या मुद्दा खेप्न पर्ने सम्भावना देखेरै उनले टिके शब्द प्रयोग गरेका हुन सक्छन । उनी आफै पनि हरेक दिन रातो टिका लगाउछन ।

पैसा कमाउनको लागि या चर्चा बटुल्नको लागि जे पनि गर्ने परम्पराको बिम्ब स्वरूप सुबास भिडियोमा लुठो बनेर नाच्नु र आयोजकलाई ‘बिलो द बेल्ट’ ढोगेरै पनि मेला महोत्सव धाएर घरबार चलाउने बाध्यता भएकाहरुलाई दृश्यले नराम्रोसँग व्यंग्य हानेको छ । उनले जसरि आयोजक पात्रलाई ढोगेका छन् त्यो दृश्यलाई धेरै तर्कद्वारा प्रष्ट्याउन सकिन्छ ।

त्यसरी नै ढोगेर महोत्सवमा प्रवेश पाएकाहरु कालान्तरमा अरुको खुट्टा तानातानमा रमाउने र मेला महोत्सवमा आफ्नै साथि कलाकारको नाम कटाएर आफ्नो या आफु नजिकका हितैषीहरुको नाम थप्न लगाउने ‘ठुला लोके’ हरुमा परिणत हुन्छन । भिडियोमा अटाउन नसकेर होला नत्र ठेकेदारी प्रथाको बारेमा पनि दृश्य रहन्थ्यो होला ।

गीतको अन्तिम अन्तरा भने सुबास रेग्मीको आफ्नै कथा हो । ‘अनुजलाई प्रेम र अग्रजलाई सम्मान’ उनले पटक पटक दोहोर्याउने थेगो नै हो । लगानी रहरले गरे या बाध्यताले गरे त्यो उनि आफै जानुन नेपाली संगीतमाथि उनको ठुलो लगानी रहेको यथार्थ हामी सबै सामु प्रष्ट छ ।

समग्रमा टिके गीत हेरें । मुर्गा, लोके, वास्तविक लगानीकर्ता लगायत सबैको मर्मलाई यथार्थपरक रुपमा उतार्ने प्रयत्न गरेको गीत एउटा अब्बल ब्यंग्य हो त्यहाँ प्रयोग भएको टिके शब्द सिम्बोल मात्र हो । सुरतालको बारेमा म त्यति जानकार छैन, स्वर राम्रो नराम्रो अचेल अटो ट्युनले छुट्याउनै नसक्ने बनासक्यो ।

गीतको भिडियोमा ‘टिके’ पात्रले आयोजकलाई ढोग्दै निहुरमुन्टि भएको आजको यथार्थलाई जस्ताको तस्तै पस्केको हेर्दा गीत चेतनामुलक पनि लाग्यो । जे भईरहेको छ त्यहि पस्कन सक्नु निकै हिम्मतको काम हो ।

गीत रातभरिमा पाँच हजार भ्यु पनि गएन, सुबास रेग्मीले बुष्ट गरेर भ्यु जम्मा पार्दैनन त्यसैले यदि मुर्गा नखोजी उनले यो गीतको निर्माण गरेका हुन भने यो गीतको लगानी पनि सम्पूर्ण रुपमा डुब्ने निश्चित देखिन्छ ।

आलोचना उनको पनि नभएको होइन तर पनि संगीत ब्यबसायी भएर श्रष्टा कलाकारहरूको हक हितको चिन्ता गर्नु, अनि कलाकारको अधिकारको लागी यथार्थ कुरा लेख्नु र बोल्नु उनका विशेषता हुन् । स्वार्थले भरिएको कलाक्षेत्रमा अरुको भलो चिताउनु पनि दुर्लभ स्वाभाव नै मानिन्छ ।

यथार्थ कुरालाई छाति पिटेर ब्यक्त गर्ने हिम्मत र शाहस भएका सुबास रेग्मीको अन्तरआत्माको यो सकारात्मक भावना र समग्र संगीत क्षेत्रको विकासको चाहनालाई बुझ्ने दर्शक कति होलान त्यो भने हेर्न बाकी छ । अन्त्यमा उनकै नारा:- ‘जय गीत जय संगीत’

Logo