नेपाल आइडल विजेता रबि ओडलाई महेन्द्रनगरमा भव्य स्वागत

नेपाल आइडल विजेता रबि ओडलाई महेन्द्रनगरमा भव्य स्वागत

केन्द्रबिन्दु
0
Shares

महेन्द्रनगर । नेपाल आइडल सिजन २ का विजेता रवि ओडलाई महेन्द्रनगरमा अभिनन्दन गरिएको छ । भीमदत्त नगरपालिकाले स्मारकमा कार्यक्रम गरी ओडलाई अभिनन्दन गरेको हो ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट र नगर उप प्रमुख सुशिला चन्दले ओडलाई दोसल्ला ओढाएर अभिनन्दन पत्र प्रदान गरे ।

हजारौ नगरवासी सहभागी कार्यक्रममा नगर प्रमुख विष्टले रविको विजय सबै नगरवासीको विजय भएको उल्लेख गर्दै नगरवासीका तर्फबाट अभिनन्दन गरिएको बताए ।

कार्यक्रममा नगर प्रमुख विष्टले ओडलाई नगरपालिकाबाट ५१ हजार सहयोग प्रदान गरिने घोषणा गरे । अभिनन्दपछि नेपाल आइडल ओडले आफ्नो जित सबै शुभ चिन्तकहरुको जित भएको बताए । ‘यो जित मेरो मात्रै होइन्, सबै शुभ चिन्तकहरुको हो,’ उनले भने, ‘तपाईहरुको सबैको साथ र सहयोग यो जितमा छ, यो जित तपाईहरुको हो ।’

नेपाल आइडल बनाउन आफूलाई सहयोग गर्ने सबै शुभ चिन्तकहरुलाई उनले धन्यवाद दिदैं आभार व्यक्त गरे । कार्यक्रममा उनले केही गीतहरु समेत गाए ।

भीनपा नगर प्रमुख विष्ट, उप नगर प्रमुख चन्द सहित जिल्ला समन्वय समितिका उप संयोजक सानु बुड थापा महरा, वडा नं. ४ का अध्यक्ष लक्ष्मीदत्त बोहरा, २ का अध्यक्ष डम्मर सिह कार्की, १७ का अध्यक्ष हिमाल बहादुर चन्द लगायत जनप्रतिनिधि, उद्यमी, व्यवसायी, स्थानीय सहभागी भएका छन् ।

रविलाई गाजाबाजासहित कार्यक्रम स्थलमा पुगाइएको हो । मदनचोकदेखि कार्यक्रम स्मारकसम्म छलिया नाच प्रस्तुत गरिएको छ । कार्यक्रम स्थलमा रविसित सेल्फी खिच्न दर्शकहरको भिड लागेको थियो ।

रविलाई उनको गृह नगर कृष्णपुर नगरपालिका, शुक्लाफाँटा नगरपालिका लगायतका विभिन्न स्थानमा सम्मान गरिएको छ । कृष्णपुर नगरपालिका ओड नेपाल आइडल सिजन २ का विजेता हुन् ।

Logo