बमजनको कला र गला: मुखले चित्र कोरेर करामत

बमजनको कला र गला: मुखले चित्र कोरेर करामत

केन्द्रबिन्दु
0
Shares

शारीरिक रुपमा कमजोर हुँदैमा मान्छेको कला र प्रतिभा रोकिँदैन । उनीहरुले पनि समाजलाई योगदान दिन सक्छन् । मात्र पारिवारिक सहयोग र समाजको हौसलाको खाँचो हुन्छ भन्ने दरिलो उदाहरण हुनुहुन्छ मकवानपुरको थाहा नगरपालिका–१ पालुङ्का अमिर बमजन ।

जन्मैदेखि शारीरिक अपाङगताका कारण उहाँको हात र खुट्टाको सहारा गुमाए पनि कला र गलाले साथ दिएको छ । उहाँ सफल चित्रकार र गायक बन्नुभएको छ । “अपाङ्गता भएका व्यक्तिलाई परिवार, समाज र सरकारले बुझिदिनुप¥यो हामी तपाईंहरु सरह गर्न सक्छौँ, मात्र वातावरणको खाँचो छ,” शुक्रबार राजधानीमा उहाँको चित्रकला प्रदर्शनी र चार वटा गीत विमोचनका क्रममा दर्शकका सामु बमजनले भन्नुभयो । वरिष्ठ चित्रकार किरण मानन्धरको सहयोगमा चित्रकला सिक्नुभएका बमजनको एकैचोटि चार गीत विमोचन भयो ।

उहाँले दर्शकसामु मुखले कुची चलाएर चित्र कोर्नुभयो । रूखमा बसेको चराको सुन्दर चित्र बनाउँदै गर्दा उहाँसँगै अपाङ्गता भएका अर्का चित्रकार लक्ष्मीभक्त भासिमाले क्यान्भासमा हिमाल उतार्दै हुनुहुन्थ्यो । उहाँहरुको यो प्रतिभा प्रस्फुटन गर्न अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको संस्था करुणा फाउण्डेशनले सहयोग गरेको थियो ।

अपाङ्गता भएका व्यक्तिहरुको २७ औँ अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा बमजन र भासिमाको कला र गला राजधानीमा प्रस्तुत भएको थियो । अपाङ्गता भएका व्यक्तिहरु कला र दक्षताले निपूर्ण हुन्छन् ।

मलाई निन्द्रामा झस्काउँछ
मेरो देश कतै अल्झियो कि
दुःख प¥यो कि पीडा प¥यो
कहीँ कतै घाउ बल्झियो कि
मलाई निन्द्रामा….

वसन्त सापकोटाको सङ्गीतमा बमजनको स्वर र शब्दका गीतले देशको पीडा बोलिरहेको थियो । सापकोटाकै सङ्गीत रहेको अर्को गीत यस्तो थियो ।

दैवले मलाई ठगे तापनि
म ठग्ने छैन मेरो जीवनलाई
‘यो मनले के भन्छ’ र ‘माया भन्ने कुरा पनि अच्चम्म कै हो’ भन्ने गीतसँगै विमोचन गरिएको थियो । गीतको श्रव्य दृश्यमा साङ्केतिक भाषाको समेत प्रस्तुतीकरण थियो ।

“बमजन सानो छँदा बार्दलीमा बस्थे । रोडमा गाडीहरु घुइँघुइँ चलिरहन्थे । चराका आवाज सुनिरहन्थ्यो । हावाहरु सिरिरी चलिरहन्थ्यो । त्यहीँ बताससँगै गाउन पुगेँछु म, मलाई केही थाहा छैन मैले के गरिरहेछु, अनायासै अगाडिको गुम्बालाई हेर्दै चित्र बनाउन थालेँ,” बम्जनले पुराना याद सम्झिनुभयो ।

वि.सं २०७२ सालको भूकम्पबाट घर ढलेपछि उहाँ टहरामा बस्दै गर्दा करुणा फाउण्डेशनका सुदीप काफ्लेसँग भेट भएपछि जीवन फेरिएको बम्जन सुनाउनुहुन्छ । अहिले वरिष्ठ चित्रकार किरण मानन्धर, सङ्गीतकार न्ह्यु बज्राचार्य र वसन्त सापकोटासँग सिक्न र काम गर्न पाएकामा गर्व गर्दै उहाँले अझै धेरै कुरा सिक्ने चाहना व्यक्त गर्नुभयो । ललितकला प्रतिष्ठानका प्रथम कुलपति किरण मानन्धरले कलाकारको प्रतिभाबाट प्रभावित भएर उनीहरुलाई प्रेरणा दिने काम गरेको प्रतिक्रिया दिनुभयो ।

Logo