बिर्तामोड

नेपथ्यले मुलुकको पूर्वी देखि पश्चिमी किनारा सम्मको यात्रा गर्ने क्रममा पूर्वको केन्द्र बिर्तामोडमा आफूलाई प्रस्तुत गरेको छ । "/>

नेपथ्यको मुलुक यात्रा बिर्तामोडबाट सुरु

नेपथ्यको मुलुक यात्रा बिर्तामोडबाट सुरु

केन्द्रबिन्दु
0
Shares

बिर्तामोड

नेपथ्यले मुलुकको पूर्वी देखि पश्चिमी किनारा सम्मको यात्रा गर्ने क्रममा पूर्वको केन्द्र बिर्तामोडमा आफूलाई प्रस्तुत गरेको छ ।तरार्इका चार शहरमा हुने श्रृंखलावद्ध आयोजना मध्ये पहिलो कार्यक्रम मंगलबार यहाँ सम्पन्न भएको हो । ‘सडक दुर्घटना न्यूनीकरण महाअभियान’को नाराका साथ यहाँ कन्सर्ट आयोजना भएको थियो ।

पूर्वनिर्धारित समय अनुसारै ठीक पौने छ बजे यहाँस्थित डोमालाल राजवंशी रंगशालामा नेपथ्यको म्यूजिक भिडियो ‘सा कर्णाली’ बज्न थालेपछि विशाल मैदानमा उपस्थित दर्शकहरुले चर्को कोलाहलका साथ स्वागत गरेका थिए । त्यसपछि अर्को म्यूजिक भिडियो ‘ऐनाझ्याल’ प्रस्तुत गरिएको थियो । त्यसपछि मञ्चमा प्रकट भएको नेपथ्य टोलीले ब्याण्डकै सबैभन्दा पहिलो रेकर्ड भएको गीत सुनाएको थियो ।

‘आँगनै भरि हिउँ नै झरे

आरु फूल है टिपि राखे है’

ब्याण्ड २५ वर्ष पुगेको अवसरमा यसरी मुलुकभरि घुम्ने कार्यक्रमलाई निरन्तरता दिन खोजिएको हो । यसरी चयन गरिएको पहिलो रेकर्ड भएको गीतमा ब्याण्डका प्रारम्भिक दिनदेखि अहिले सम्मका सदस्यहरुको सम्झनारुपी तस्बिरहरु प्रस्तुत गरिएको थियो । स्थानीय तन्नेरीहरुले उत्साहका साथ यस गीतलाई स्वागत गरेका थिए ।

पूर्वी नेपालकै पुरानो बिर्ता बजार (अनारमनी) लाई महेन्द्र राजमार्गसँग जोड्ने बिन्दु नै आजको सम्पन्न बिर्तामोड बन्न पुगेको छ । उत्तरमा शनिश्चरे र दक्षिणमा भद्रपुर चन्द्रगढीको यो मिलनविन्दु पछिल्लो समय झापा जिल्लाकै मुटु भनेर पनि चिनिन्छ ।

स्थानीयस्तरमा आयोजना हुने फूटबल प्रतियोगीताको आयोजनास्थलका रुपमा समेत चिनिएको यस प्रांगणमा हजारौं दर्शकको उपस्थिती देखिन्थ्यो । मैदानलाई कन्सर्ट थलोका रुपमा तयार पार्न खटिएका स्थानीय टेन्ट हाउस व्यावसायी खोकन घोषका अनुसार प्राविधिक व्यवस्थापनमा यत्तिको अब्बल कार्यक्रम उनले जीवनकालमै बिर्तामोडमा देखेका थिएनन् । काठमाडौंदेखि पाँच वटा ट्रकमा लोड भएर आएका सामग्रीहरुले रंगशालाको बीचैमा उभ्याएको मञ्च आधुनिक साउण्ड सिस्टम र प्रकाश ब्यवस्थाले भरिएको थियो ।

कार्यक्रम त्यसपछि पनि नेपथ्यका नयाँ पुराना गीतहरुबाट निरन्तर अघि बढिरह्यो । सँधै झैँ ‘रेशम’, ‘जोमसोमे बजार’, ‘छेक्यो छेक्यो’, ‘चरिम¥यो शिशैको गोलीले’, ‘भेँडाको ऊन जस्तो’ हुँदै ‘तालको पानी’ जस्ता गीतहरुलाई दर्शकले असाध्यै मन पराएका थिए । देशभक्ति जगाउने ‘गाउँ गाउँबाट उठ’ हुँदै कार्यक्रमको अन्त्यमा भने ‘रातो र चन्द्र सूर्जे’ प्रस्तुत गरिएको थियो ।

भौगोलिक अवस्थितीका कारण पूर्वाञ्चलका फरक जिल्लाहरुको केन्द्रका रुपमा विकास हुँदै गएको यो सहरमा नेपथ्य दोश्रोपटक उपस्थित भएको हो । सन् २००५ मा ‘सुन्दर शान्त नेपाल’ संगीत यात्राका क्रममा नेपथ्यले पहिलोपटक यस सहरमा आफूलाई प्रस्तुत गरेको थियो । त्यो शान्ति यात्रा भएता पनि त्यतिबेला स्थानीय विद्यालयलाई सघाउने समेत उद्देश्यले विद्यालय प्रांगणमै कार्यक्रम आयोजित थियो ।

गीत गाउनुका साथै समसामयिक विषयवस्तुमा अभिमत पनि सुनाउने गायक अमृत गुरुङले कार्यक्रममै बिर्तामोडको पहिलो कन्सर्टको सम्झना गरे । ‘त्यस ताका नेपाल त्रासमा बाँचेको थियो जतिबेला साँझ यसरी कार्यक्रम त परको कुरा हिँडडुल गर्न पनि अप्ठेरो थियो,’ उनले भने, ‘अहिले यहाँ हजारौं मानिस यो झिलिमिली बत्तीका साथ यस डोमालाल राजवंशी रंगशालामा रमाइलो गरिरहेको देख्दा अब उज्यालो भविष्यको संकेत मलार्इ बिर्तामोडले दिएको छ ।’

कार्यक्रम हेर्नका निम्ति पूर्वाञ्चलकै फरक फरक भेगका दर्शकहरुको उल्लेखनीय उपस्थिती थियो । स्थानीय सहकारी ‘सहारा नेपाल’ ले बिर्तामोडमा नेपथ्यलाई प्रस्तुत गरेको हो । कन्सर्टबाट उठेको पैसाले राजमार्गमा ट्राफिक व्यवस्थापनका लागि उपकरणहरु मद्दत गर्ने जानकारी आयोजकले दिएका छन् । बिर्तामोडमा सम्पन्न भएपछि नेपथ्यको यो यात्रा अब मंसिर ७ गते धरान, १० गते बुटवल हुँदै १३ गते धनगढी पुगेर सम्पन्न हुनेछ ।

Logo