१० महंगा आधुनिक नेपाली चित्रकार (भिडियोमा)

१० महंगा आधुनिक नेपाली चित्रकार (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

भनिन्छ, कलाको मूल्य हुँदैन । तर यो ब्यवसायिक जमानामा मूल्य नहुने कुरा पनि हुँदैन । त्यसैले चित्र कलाको मोलका विषयमा हामी केन्द्रीत हुँदैछौं । प्रश्न हो, नेपाली आधुनिक कला क्षेत्रमा महंगा चित्रकारहरु को–को हुन् । हामीले तिनै कलाकारको सूची प्रस्तुत गर्न खाजेका छौं । संवन्धित कलाकारको दावी, कला समीक्षक तथा अन्य कलाकारको अड्कल र कला ग्यालरी सञ्चालकहरुसँगको कुराकानीमा आधारित रहेर महँगा कलाकारको सूची तयार पारिएको हो । सर्वप्रथम कुरा गरौं, महंगा चित्रकारहरुको काउन्टडाउन –
१०. मनिषलाल श्रेष्ठ
¬भारतको मुम्बई स्थित गाईड वाकर फाउण्डेसनले कुनैवेला ५ वर्षका लागि चार नेपाली कलाकारलाई अनुबन्धित गरेको थियो । ती चार कलाकारमध्येमा परेका थिए, मनिषलाल श्रेष्ठ । स्रोतका अनुसार बार्षिक ५० लाख रुपियाँमा यी कलाकार अनुबन्धित भएका थिए । युवा पुस्ताका चर्चित यी कलाकारले पाँच लाख रुपैयाँसम्ममा केही चित्र बिक्री गरेका छन् । भनिन्छ, विश्व वजार यी युवा कलाकारवाट आकर्षित छ ।

९. रागिनी उपाध्याय, ग्रेला
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपति हुन् रागिनी उपाध्याय ग्रेला । इचिङ प्रविधीवाट चित्र कोर्ने रागिनी यस्तो माध्यमवाट चित्र कोर्ने सवैभन्दा लोकप्रिय नेपाली कलाकार हुन् । देश–विदेशमा समेत नाम चलेकी यी कलाकारसँग जापान स्थित एसियन आर्ट म्यूजियम फुकोहोकाले २० लाख रुपैयाँमा एउटा चित्र खरिद गरेको अनुभव छ । तीनदेखि पाँच लाख रुपैयाँमा उनका धेरै चित्र बिक्री भइसकेका छन् । उनको भक्तपुर बोलकोटस्थित निवासमा आफ्नै कला स्टुडियो र ग्यालरी रहेको छ ।

८. बीरेन्द्रप्रताप सिंह
अनुसन्धानमा आधारित चित्र कोर्ने कलाकार बीरेन्द्रप्रताप सिंह कम बोल्ने र कमै सार्वजनिक कार्यक्रममा निश्कने गर्छन् । तर उनको प्रदर्शनीमा अचम्मसँग कला पारखीहरुको भिड लाग्ने गर्छ । उनले प्रदर्शनीमा राखेका सवै चित्र बिक्रि भइदिन्छन् । केही वर्षअघिको एउटा प्रदर्शनीमा समेत यस्तै भएको थियो । राखिएका सम्पूर्ण तीन दर्जन चित्र नै बिक्री भएका थिए । जसको मोल २० लाखभन्दा माथि थियो । प्रदर्शनीबाट धेरै चित्र बिक्री हुनेमा उनी अगाडि पर्छन् ।

७. कृष्ण मानन्धर
‘स्किप’ नामक कला समूहका सक्रिय सदस्य हुन् कृष्ण मानन्धर अर्थात धेरै कलाकारका गुरु । उनीसँग ललितकला क्याम्पसमा धेरै समय प्रमुख भएर काम गरेको पनि अनुभव रहेको छ । उनले पाँच लाखदेखि तीन लाख रुपियाँसम्ममा धेरै चित्र बिक्री गरिसकेका छन् । संख्यात्मक रुपमा कुरा गर्दा उनले दुई सयभन्दा बढी चित्र धेरै मूल्यमा बिक्री गरिसकेका छन् ।

६. उमाशङ्कर साह
भारतको मुम्बई स्थित गाईड वाकर फाउण्डेसनमा अनुबन्धित हुने भाग्यमानी कलाकारमा पर्छन् उमाशंकर साह । उनले बार्षिक ५० लाखभन्दा बढी रकमका चित्र उक्त फाउन्डेशनलाई बिक्रि गर्छन् भनिन्छ । उमाशंकरले २४ लाख रुपैयाँसम्ममा एउटा चित्र बिक्री गरेका छन् । १० लाख रुपैयाँसम्ममा केही चित्र बिक्री गरिसकेको पनि उनी वताउँछन् ।

५. शशि बिक्रम शाह
घोडाका पर्याय शशि बिक्रम शाह यतिवेला अस्वस्थ छन् । ललितकला क्याम्पसको प्रमुख भइसकेका उनका पाँच लाखसम्ममा धेरै चित्र बिक्री भइसकेका छन् । ‘स्किप’ नामक कला समूहका तीन सदस्यमध्येका यी सुरुदेखि नै महँगा चित्रकारको रुपमा गनिन्थे । नेपाली कलालाई विश्व वजारमा पु¥याउन उनको ठूलो योगदान रहेको मानिन्छ । उनलाई खोज्दै विश्वका कलापारखीहरु नेपाल आउने गरेको पनि कलाकारहरुको अनुभव रहेको छ ।

४. विजय थापा
०३७ सालमा एक लाख १० हजारमा एउटै चित्र बिक्री गर्न सफल भएपछि विजय थापाको महँगो यात्रा सुरु भयो । स्वर्गीय राजा वीरेन्द्रका कलागुरुका रुपमा चर्चित यी कलाकार पनि कला बजारमा महँगा भएको चर्चा हुनेगर्छ । उनले एउटा चित्र लाखौं रुपियामा बिक्रि गरेको बताईन्छ । नेपाल सरकारले हरेक बहालवाला प्रधानमन्त्रीको पोट्रेल चित्र थापालाई नै बनाइमाग्ने गरेको छ ।

३. शशिकला तिवारी
– एक दशकअघि जापानको एसियन आर्ट म्यूजियम फुकोहोकाले १० लाख रुपैयाँमा शशिकलाको एउटा चित्र खरिद ग¥यो । तीनदेखि पाँच लाखसम्ममा उनका केही चित्र बिक्री भइसकेका छन् । उनी खासगरेर फूल मार्फत महिलाका कथा–ब्यथा प्रस्तुत गर्छिन् । शशिकलालाई पनि विश्वका कलापारखीहरु खोज्दै आउने गरेको कलाकारहरुको अनुभव रहेको छ ।

२. उत्तम नेपाली
– एक लाखदेखि तीन लाख रुपैयाँसम्ममा उत्तम नेपालीका धेरै चित्र बिक्री भइसकेका छन् । उनले ५ लाख रुपियाँसम्ममा एउटा चित्र विक्रि गरेकाछन् । विदेशी कलापारखीहरूको रोजाइका कलाकार मानिने उनी बरिष्ठ कलाकार हुन् । प्राज्ञ भएर तत्कालिन प्रज्ञा प्रतिष्ठानमा काम गरिसकेका उनी हाल अस्वस्थ छन् ।

१. किरण मानन्धर
१४ वर्ष अघि फ्रान्समा एउटा चित्र किरण मानन्धरले २५ लाख रुपैयाँमा बिक्री गरे । केही वर्षअघि भारतको मुम्बई स्थित गाईड वाकर फाउण्डेसनले प्रतिवर्ष ६० लाख रुपैयाँ दिनेगरी उनलाई ५ वर्षका लागि अनुबन्धित ग¥यो । यी विविध कारणले पूर्व कुलपति समेत रहेका किरण मानन्धर सवैभन्दा महंगा कलाकार भएका छन् । उनको फान्स र जर्मनीमा समेत भिन्नै कला स्टुडियो रहेको छ । भनिन्छ, लैनसिंह बाङदेल र लक्ष्मण श्रेष्ठ पछि विश्व वजारले धेरै चिनेको नेपाली कलाकार किरण नै हुन् ।

Logo