प्रदीप खड्काको ‘रोजी’ भयो, ‘रोज’

प्रदीप खड्काको ‘रोजी’ भयो, ‘रोज’

केन्द्रबिन्दु
0
Shares

अगामी भदौ २२ बाट देशब्यापी प्रदर्शनमा आउने चलचित्र ‘रोजी’ को नाम परिर्वतन गरिएको छ । ‘रोजी’ बाट यस चलचित्रको ‘रोज’ नामकरण गरिएको छ । काठमाडौं वडा नम्बर १५ बस्ने गोबिन्द महर्जन र उनकी श्रीमती नानीमैया महर्जनले आफ्नो मृतक छोरी रोजी महर्जनको हत्या घटनासँग चलचित्र रोजीको कथा र परिवेश मिलेको भन्दै पटक पटक सो नाम नराखिदिन दबाब दिएपछि निर्माण पक्षले नाम परिर्वतन गरेको हो ।

बिहिबार चलचित्र विकास बोर्डमा निर्माता–निर्देशक नीरक पौडेल, अर्का निर्माता मणिकरण केसी र मृतक रोजी महर्जनको परिवारबाट गोविन्द महर्जन एवम नानीमैया महर्जनबीच भएको वार्तामा आफ्नो छोरीको मृत्यु घटनासँग सम्बन्धित चलचित्रको कथा मिलेको महर्जन परिवारले जिकिर गरेका थिए । महर्जन परिवारले चलचित्र निर्माणको सुरुदेखि नै यस्तो नाम नराख्न दबाब दिँदै आएको निर्माण पक्षले वताएको छ ।

दुई पक्षीय वार्तामा अब निर्माण पक्षले चलचित्रको नाम रोजी नराख्ने, सत्य घटनामा आधारित रहेको पनि नभन्ने सम्झौता भएको छ । यस्तै महर्जन परिवारले पनि अगामी २२ भदौमा प्रदर्शनमा आउने यो चलचित्रलाई कुनै पनि बाधा नपुर्याउने सम्झौतामा उल्लेख छ । यसरी निर्माता पक्ष र महर्जन परिवारबीचको सम्झौतामा यो नाम रोजी नराखिने तय भएपछि यसको नाम परिवर्तन गरेर ‘रोज’ राखिएको हो । चलचित्रको नाम अब अंग्रेजीमा ‘ROSE’ हुनेछ ।

चलचित्रको नाम परिर्वतन गर्नुको कारणबारे निर्देशक पौडेलले भने, ‘मृतकको संवेदनालाई मध्यनजर गरेर हामीले नाम परिर्वतन गर्ने निर्णय गरेका हौं । कानुनी रुपमा हामी माथि हुँदाहुँदै पनि कसैको संवेदनालाई बिक्री गरेर पैसा कमाउनु हुन्न भन्ने हाम्रो मान्यता रहेको छ ।’ रोजी हत्या बाण्डको बारेमा आफुलाई सुरुमा जानकारी नभएको र महर्जन परिवारले चलचित्रको छायांकनमा बाधा पार्न थालेपछि सो हत्याकाण्डबारे आफूले अध्ययन गरेको पनि निर्देशक पौडेलले वताएका छन् ।

गोपीकृष्ण मूभिजको ब्यानरमा निर्मित यस चलचित्रमा अभिनेता प्रदीप खड्का, परमिता राणा, मिरुना मगर, कर्मा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

Logo