काठमाडौं

दिनभर सिमसिमे पानी परिरहेको काठमाडौंको चिसोचिसो मौसम । बाहिरको सडक हिलाम्मे थियो । "/>

कविता नेपाली बनिन् नेपालकै पहिलो डान्सिङ सुपरस्टार

कविता नेपाली बनिन् नेपालकै पहिलो डान्सिङ सुपरस्टार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

दिनभर सिमसिमे पानी परिरहेको काठमाडौंको चिसोचिसो मौसम । बाहिरको सडक हिलाम्मे थियो । बुद्धनगरस्थित एपीवान टेलिभिजनको स्टुडियो भने सांगीतिक क्षेत्रका हस्तीहरूको उपस्थिति र नृत्यकारहरूको रौनकले गरमागरम बनेको थियो । सबैजना बुगीवुगी कार्यक्रमको टाइटल विजेता थाहा पाउन व्यग्र प्रतीक्षामा थिए । स्टुडियोमा रमाइलो माहोल छाएको थियो ।

सर्लाहीकी १८ वर्षीया कविता नेपाली नेपालकै पहिलो डान्सिङ सुपरस्टार भइन् । एपीवान टेलिभिजनद्वारा आयोजित अन्तर्राष्ट्रिय डान्सिङ रियालिटी सो ‘बुगीवुगी’को फाइनल राउन्डमा आफ्ना अन्तिम दुई प्रतिस्पर्धीलाई उछिन्दै उनले उक्त उपाधि चुमेकी हुन् । उपाधिसँगै उनले नगद २५ लाख पनि जितिन् । त्यसैगरी प्रगति पुन फस्ट रनरअप बनेकी छन् । यससँगै उनले ६ लाख रुपैयाँ प्राप्त गरेकी छन् । सरोज मोक्तान सेकेन्ड रनरअप बनेका छन् । उनले चार लाख रुपैयाँ प्राप्त गरे ।

बुगीवुगीका लागि अनलाइन अडिसन मार्फत देशभरबाट तीन हजार डान्सर सहभागी भएका थिए । ती मध्ये एक सय ५० जना डान्सरलाई दोस्रो राउन्डको अडिसनका लागि काठमाडौं बोलाइएको थियो । उनीहरू मध्येबाट १८ जना प्रतियोगी छानिए । त्यसबाट पनि भिडियो राउन्ड, कला प्रदर्शन राउन्ड लगायत विभिन्न चरणका कठिन सिँढी उक्लँदै उत्कृष्ट तीन छनोट भएका हुन् ।

अन्तिम राउन्ड दुई साता सम्म चलेको थियो । फाइनल विजेता घोषणा गर्ने दिन नजिकिँदै जाँदा अन्तिम तीन प्रतिस्पर्धी प्रगति, कविता र सरोजका फ्यानहरूले उनीहरूको पक्षमा भोट गर्न विभिन्न कार्यक्रम नै सञ्चालन गरेका थिए ।

एपीवान टेलिभिजनले अन्तर्राष्ट्रिय फ्रेन्चाइज बुगीवुगी रियालिटी सो नेपालमा पहिलोपटक आयोजना गरेको हो । भारतको सोनी टेलिभिजन सँगको सहकार्यमा एपीवान टेलिभिजनले नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय फेन्चाइजका रियालिटी सोहरू आयोजना गरिरहेको छ । त्यसैको निरन्तरतास्वरूप डान्स रियालिटी सो बुगीवुगी सञ्चालन गरिएको हो । यस लगत्तै नेपाल आइडल सिजन टु पनि सञ्चालन हुँदैछ । करिब आठ महिनासम्म चलेको यो कार्यक्रमको निर्णायकमा अभिनेता दिलीप रायमाझी, अभिनेत्री प्रियंका कार्की र कोरियोग्राफर कविराज गहतराज रहेका थिए ।
अन्नपूर्णबाट

Logo