धेरै पढेका १० हिरोहरु (भिडियो समेत)

धेरै पढेका १० हिरोहरु (भिडियो समेत)

केन्द्रबिन्दु
0
Shares

अदिती/दिवस
एउटा यस्तो समय थियो, जतिवेला नेपाली चलचित्र क्षेत्रमा पढेको अभिनेता को हो भन्यो भने, सवैले लिने नाम थिए,– राजेश हमाल । किनभने त्यसवेला एमए गरेको, त्यसमाथि अंग्रेजी साहित्यमा पढेको हिरो अर्को कोही पनि थिएन ।

राजेशसँग स्पर्धामा रहेका अर्का अभिनेता धिरेन शाक्यले उल्लेख्य मात्रामा पढेका थिएनन् भने हमालका अर्का प्रतिस्पर्धी सरोज खनालले स्नातकसम्म अध्ययन गरेका थिए । हमालभन्दा केही अघिका भुवन केसीले पनि वीकम गरेका थिए । भुवन र सरोज पनि उतिवेला पढेकै अभिनेतामा दरिन्थे । हमालभन्दा निकै अघिका अभिनेता विश्व बस्नेतले मनग्गे पढेका थिए । कर्णेल भक्तबहादुर बस्नेतका छोरा विश्व सिन्दुर फिल्ममार्फत सफल हिरो भएपछि नेपाली सिनेमा पहुँच भएका दर्शक माझ आइलडनै बनेका थिए ।

यी त इतिहासका कुरा हुन् । वर्तमानमा आउने हो भने पनि धेरै अभिनेता अन्डर एसएलसी, अन्डर प्लस टु र अन्डर ग्राजुएट छन् । अर्थात अहिले पनि मास्टर्श गर्ने अभिनेताहरुको खडेरी छ ।

चलेका अभिनेता सौगात मल्ल अन्डर एसएलसी हुन् । आयुसमान देशराज जोशी र पल शाह अन्डर प्लस टु हुन् भने चर्चित अभिनेता अनमोल केसी अन्डर ग्राजुएट हुन् । विराज भट्ट, दिलिप रायमाझी, दयाहाड राई, आर्यन सिक्तेल, नाजिर हुसेन लगायतका कलाकारले कति पढेका छन् भन्ने जवाफ उल्लेख्य छैन । तर अभिनयमा उनीहरुको स्वअध्ययनको कुरा गर्ने हो भने त्यो मास्टर्शभन्दा कम नलाग्ला । अझ केदार घिमिरे, सिताराम कट्टेल, नारद खतिवडा, दिपकराज गिरी, हरिबंश आचार्यले त स्वअध्ययनमा पिएचडी नै पुरा गरेका होलान् ।

तर, आज हामी औपचारिक अध्ययनमा अगाडि रहेका अभिनेताहरुको चर्चा गर्न खोजिरहेका छौं । अर्थात चलचित्र क्षेत्रमा धेरै पढेका अभिनेताहरुको फेहरिस्त पेश गर्न खोजेका हौं । अर्को भाषामा भन्नुपर्दा विश्वविद्यालयको प्रमाणपत्र लिएका हिरोहरु आजको हाम्रो रिपोर्टका पात्र हुन् । सवैभन्दा पहिला धेरै पढेकाहरुको सूचीको १० औं नम्मरमा परेका अभिनेताको कुरा गरौं –

१०. भुवन केसी
जागे सारा रात बोलको गीत गाएर गायकको रुपमा मनोरञ्जन दुनियामा पाइला राखेका थिए, अभिनेता भुवन केसीले । उनी राम्रो अभिनयको साथ साथै राम्रो गायक पनि हुन् । रेडियो नेपालबाट कारियर सुरु गरेका उनले चलचित्र जुनी बाट नेपाली सिने क्षेत्रमा प्रवेश पाएका थिए । उनले बी.कम अर्थात ब्याचलर इन कमर्शसम्मको अध्ययन गरेका छन् । उतीवेला यतिसम्मको अध्ययनलाई राम्रो मानिन्थ्यो ।

९.जीवन लुइटेल
सन् २००२ मा मिष्टर नेपाल भएपछि चलचित्रमा आकर्षित भएका जीवन लुइटेलले छोटो समयमा धेरै फिल्ममा अभिनय गरे । उनको पहिलो फिल्म थियो, तिर्खा । खासगरी विकास आचार्यका फिल्म र अभिनेता आर्यन सिक्तेलको प्रतिस्पर्धी भएपछि उनले धेरै फिल्म पाएका थिए । उनले अभिनय गरेको पछिल्लो फिल्म राधाले राम्रै सफलता पाएको निर्माण पक्षको दावी रहेको छ । उनले बिजिनेश स्टडिजमा ब्याचलर गरेका छन् । जीवन लुइटेल केही समयदेखि अमेरीकामा बसोबास गर्दै आएका छन् ।

८. सलोन बस्नेत
– बालकलाकार भएर नेपाली बाबु बाट नेपाली सिने क्षेत्रमा उदाएका अभिनेता हुन् सलोन बस्नेत । चलचित्र होस्टेलमा उनको अभिनयको सबैले तारिफ गरे । जिवनत अभिनयका धनी सलोनले बिजिनेश स्टडिजमा ब्याचलर गरेका छन् । बाबु सोभित र काका जयकिशनको प्रेरणाले यस क्षेत्रमा आएका सलोनले अध्ययन रोकेका छैनन् ।

७. सन्दिप क्षेत्री
चर्चित हाँस्य कलाकार हुन् सन्दिप क्षेत्री । तर उनको परिचय यत्तिमा सीमित छैन । उनले ६ एकान ६ मा नायक भएर अभिनय गरेका छन् । यतिवेला उनलाई फिल्मी अफरहरु आइरहेको स्रोतको दावी रहेको छ । यी हाँस्य अभिनेताले कमर्श विषयमा मास्टर्श सम्मको अभिनय गरेका छन् ।

६. दिनेश डिसी
बहुमुखी प्रतिभाका धनी दिनेश डिसी रेडियोकर्मी हुन्, फिल्म निर्देशक हुन् र अभिनेता पनि हुन् । विद्यार्थि राजनीतिवाट सानो पर्दामा आएका डिसीले कुनैवेलाको चर्चित टिभी शो ट्वाक्क टुक्कको निर्देशन गरेर ख्याति कमाएका थिए । उनी फिल्म निर्देशकहरुको संस्था निर्देशक समाजको अध्यक्ष पनि भइसकेका छन् । उनले धेरै फिल्ममा अभिनय गरेका छन् । उनी सोलो हिरो भएको फिल्म किशोर राना निर्देशित घाम छाँया हो । यस फिल्ममा डिसीले नायिका क्षितिजा शाक्यसँग स्क्रिन सेयर गरेका छन् । डिसीले सरस्वती क्याम्पसवाट एमवीए सम्मको अध्ययन गरेका छन् । उनले अस्कल क्याम्पसवाट वीएससी सकेर एमवीए गरेका हुन् ।

५. सुरज सिंह ठकुरी
कान्तिपुर टिभीको कल कान्तिपुरबाट टिभी यात्रा सुरु गरेका सुरज चलचित्र कर्कश बाट सिनेमा क्षेत्रमा प्रवेश गरेका हुन् । नाइ नभन्नु ल २ मा अभिनेता भएर देखिएपछि उनले राम्रै चर्चा पनि पाएका थिए । म्यूजिक भिडियोको निर्देशन र मोडलिङका नामी सुरजले इनभयारोेमेन्ट एन्ड साईन्समा मास्टर्श गरेका छन् ।

४. राज बल्लभ कोईराला
कुनै समय अभिनेता राजबल्लभ कोइरलाको नाम निकै ठूलो सुनिन्थ्योे, फिल्मबृत्तमा । हाल अमेरिकामा बसोबास गरिरहेका उनले २००७ मा चलचित्र पर्खी बसे बाट रजतपटमा इन्ट्री मारेका थिए । दर्जनौं फिल्मका हिरो कोइराला राम्रो अभिनय गर्ने कलाकारमा दरिन्थे । उनले २०११ मा पोलीगन कलेजबाट मासकम्यूनिकेसन एन्ड जर्नालिजममा मास्टर्श गरेका हुन ।

३. खगेन्द्र लामिछाने
चलचित्र बधशालाबाट चलचित्र क्षेत्रमा प्रवेश गरेका अभिनेता हुन् खगेन्द्र लामिछाने । राम्रो, स्तरिय र बौद्धिक फिल्म खेल्छन् भन्ने छवी बनाएका खगेन्द्र प्रसाद लामिछा सन् १९९९ देखि रंगमञ्चमा सक्रिय छन् । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाटक महोत्सवमा लेखक, निर्देशक, अभिनेताको रुपमा सहभागिता जनाइसकेका उनी खासमा रंगकर्मी हुन् । तर फिल्म क्षेत्रमा पनि उनको योगदान कम छैन । खासगरी पशुपतिप्रसादमा उनले निर्वाह गरेको भूमीका तारिफ योग्य रह्यो । खगेन्द्रले त्रिभुवन युनिभर्सिटी बाट मास्टर्श गरेका छन् । उनको चलचित्र डमरुको डन्डिबियो र जय भोले प्रर्दशन क्रममा छन् ।

२. प्रदीप खड्का
भर्खरै मात्र प्रदर्शनमा आएको चलचित्र लिलिबिलीबाट हिटको ह्याट्रिक गर्न सफल भएका छन अभिनेता प्रदिप खड्का । स्केपबाट चलचित्र नगरिमा प्रवेश गरेका उनले यसअघि प्रेमगीत र प्रेमगीत २ मा नायक भएर आफ्नो कौशल प्रदर्शन गरिसकेका छन् । उनले सिक्किम मनिपाल युनिभर्सिटीबाट मर्केटीङमा मास्टर्श गरेका छन् ।

१. राजेश हमाल
युग देखी युगसम्मवाट रजतपटमा पाइला टेकेका अभिनेता राजेश हमाल यस्ता अभिनेता हुन् जो आम नेपाली माझ परिचित छन् । उनी सिंहदरबार देखि जनताको झुप्रोसम्म रुचाइएका सुपरस्टार पनि हुन् । राजेशले यस्तो ख्याती आर्जन गर्नुमा उनको औपचारिक अध्ययन पनि साहायक सिद्ध भएको छ । उनले भारतको चंडिगढ युनिभर्सिटीबाट अंग्रजी साहित्यमा मास्टर्श गरेका छन् ।

Logo