डिभोर्सपछि मुख खोले मनोज गजुरेलले

डिभोर्सपछि मुख खोले मनोज गजुरेलले

केन्द्रबिन्दु
0
Shares

दुई दशक लामो बैवाहिक जीवनमा पूर्णविराम लगाएपछि चर्चित हाँस्यकलाकार मनोज गजुरेलले मुख खोलेका छन् । उनले सामाजिक सञ्जालको साहायतामा आफ्ना भनाई र अनुभव सार्वजनिक गरेका हुन् । यसअघि उनले केन्द्रबिन्दु डटकमलाई टेलिफोनमा संक्षिप्त अनुभव राख्दै भनेका थिए –‘हाम्रो ह्याप्पी इन्डिङ भयो, त्यतिमात्र ।’

गत पुष ११ गते विधिवतरुपमा सम्बन्धमा पूर्णविराम लगाएपछि मनोजकी श्रीमती मीना ढकाल मिडियामा छाइरहेकीछिन् । मीनाले दिएका अन्तर्वार्ताहरु युट्यूव च्यानलहरुमा ट्रेन्डिङमा परेका छन् । तर, मनोजले आफ्ना धारणा सार्वजनिक गरेका थिएनन् । पहिलो पटक उनले सामाजिक सञ्जाल मार्फत आफ्ना शुभेच्छुकहरुलाई यसरी संबोधन गरेका छन् –

मनोज गजुरेलको वालवाट जस्ताको त्यस्तै
श्रध्देय शुभेच्छुक महानुभावहरू
सबैमा हृदयदेखि नमन !

मेरो पारिवारिक सम्वन्धका बारेमा सामाजिक सञ्जालहरूमा आएका समाचार, टिका–टिप्पणी, जिज्ञासा र समाचारप्रति मेरो ध्यान आकृष्ट भएको छ । हामी (मीना ढकाल र मनोज गजुरेल) बिगत दुई दशकभन्दा बढी समयदेखी बैवाहिक बन्धनमा बाँधिएका हौं ।

हामीबाट एक छोरा र एक छोरी (मिरोज र मेमोरी)को जायजन्म भएको छ । हामी अलग परिवेश र फरक जीवनशैलीबाट आएको हुनाले होला, हाम्रो वैवाहिक जीवनको करिब प्रारम्भिक चरणदेखि नै सामान्य मतभेद हुँदै आएको थियो । हामीले हाम्रा सन्ततीको भविष्यका लागि पनि सकेसम्म मिलेर अगाडि बढ्न प्रयत्न गरेका थियौं । तर यसलाई जिवन्त बनाउन सकेनौं । त्यसैले पारिवारिक सहमतिका आधारमा हामीले कानुनी रुपमै छुट्टिने निर्णय गरÞ्यौं । यस क्रममा छोरी आमाको र छोरो बाबुको अविभावकत्वमा रहनेगरी सम्पतिलाई दुवै पक्षका परिवारको रोहबरमा चार भाग लगाई बाँडफाँड गरेका छौं ।

एउटा सामाजिक ब्यक्तिबाट यस्तो दुखद घटना जानकारी गराउनु आफैंमा सकारात्मक बिषय होईन । जीवनका धेरै पाटाहरु मध्ये पारिवारिक व्यवस्थापनको महत्वपूर्ण पाटो सफल पार्न नसकेकोमा तपाईंहरुसमक्ष क्षमाप्रार्थी छु । हामी दुबै गलत होइनौं तर फरक रहेछौं । त्यसै कारणले होला, दुई दशकभन्दा लामो सम्वन्ध जोगिएन ।

यो संवदनशील घडीमा हाम्रा दर्शक, श्रोता, पाठक, आफन्त, परिवारजन एवं सम्पूर्ण शुभ चिन्तकहरुमा आग्रह गर्न चाहान्छु कि म, मिनाजी, हामी दुबैका परिवारजन र हाम्रा सन्ततीको जीवनमा तपाईंहरुबाट सकारात्मक सहयोगको अपेक्षा गरेको छु ।

अन्त्यमा, विवाहपूर्वको प्रेम, वैवाहिक जीवनको अनुभव र सन्तानसुखको मीठो अनुभूतिकालागि मिनाजीलाइ म अन्तर हृदयबाट धन्यवाद सहित सफलताको कामना ब्यक्त गर्दछु । सबैको मंगल होस् ।

Logo