पैसा र पब्लिसिटीका लागि आफैंलाई श्रद्धान्जली दिनेहरु

पैसा र पब्लिसिटीका लागि आफैंलाई श्रद्धान्जली दिनेहरु

केन्द्रबिन्दु
0
Shares

दुर्गा पंगेनी
काठमाडौं, २ पुस । ग्ल्यामरको क्षेत्रमा सधैं कुनै न कुनै विषयमा चर्चा र विवादमा भैरहेको हुन्छ । यो क्षेत्रमा साना तिना स्क्यान्डल र विवादहरु हुनु सामान्य मानिन्छ । तर पछिल्ला घटनाक्रमहरुले के देखाउँदै लगेको छ भने कलाकारहरु आफैं नै कुनै न कुनै किसिमका स्क्याण्डल निम्त्याउछन् । यो स्क्याण्डलको हद अहिले आफ्नै मृत्यु भएको भन्ने सम्ममा पुगेको छ ।

मनोरन्जन क्षेत्रमा ब्यापारिक प्रयोजनले सक्रिय केहि सर्जकहरु जीवन होस् या मृत्यु त्यसलाई निकै सस्तो रुपमा लिन थालेका छन् । पब्लिसिटी स्टन्टको लागि कलाकार कुन हदसम्म तल झर्छन् भन्ने कुरा पहिला पत्रपत्रिका मार्फत् थाहा पाइन्थ्यो । तर अहिले सामाजिक संजालको व्यापक प्रयोग बढेपछि कलाकारहरुले आफुलाई चर्चामा ल्याउन फेसबुक लगायत अन्य सामाजिक संजाललाई दरिलो माध्यम बनाएका छन् ।

अहिले भिडियो निर्माताहरुको आकर्षण युट्युवमा बढेपछि लोक गीतका कलाकार देखि भिडियो मार्फत् कलाकारीतामा आउन चाहनेहरुको आकर्षण ह्वात्तै बढेको छ । आफुले निर्माण गरेको भिडियो धेरै भन्दा धेरैले हेरेर केही अर्थोपार्जन् होस् भन्नकै लागि भिडियोमा अश्लिल दृष्य, सम्वाद वा भनौ थमनेलमै वयस्कले मात्र हेर्नुहोला जस्ता कुरा समावेश गरेर आफ्नो भिडियोको भ्यू बढाइरहेका छन् । यि त भए आफ्नो भिडियोको भ्यू बढाउने सामान्य चलन ।

आफ्नो भिडियोको भ्यू बढाउन लोक गीतका गायक गायिकाहरुले यो हदलाई पनि पार गरेका छन् । उनीहरुले आफ्नो गीतको भिडियो धेरैले हेरुन् भनेर सामाजिक संजालमा आफ्नो मृत्युको खवर पोष्ट गरेर समेत भिडियो चलाउन थालेका छन् ।

केहि समय अगाडी लोक गायक पुश्कल शर्माको मृत्यु भएको सम्बन्धि समाचार चर्चित समाचार वाचिका एवं लोक गायिका कोमल ओलीलाई समाचार सरह वाचन गर्न लगाएर म्युजिक भिडियोमा राख्दा गायक शर्माको मृत्यु भएको हल्ला फैलिएर एकाएक उनि चर्चामा आए । यो कार्यले उनको गितले युट्युबमा धेरै पटक हेरियो भने उनले राम्रै सब्सक्राइबर समेत पायो । त्यसपछिका उनका हरेक गीतहरुले युट्युवमा राम्रै भ्यू पाइरहेको छ ।

उक्त भिडियोमा अनुहार देखाएका प्राय कलाकारले पुश्कल शर्माले झुक्याएर आफुलाई त्यो दृश्यमा अभिनय गराएको भनेर आलोचना समेत गरे । चर्चित गायिका कोमल ओली, लोकगायकहरु खड्ग गर्बुजा, पुरुषोत्तम न्यौपाने, रमेश बिजी लगायत पुश्कलकै सहकर्मीहरुले समेत पुश्कलको तिब्र आलोचना गरे । गीतमा कथाको मागमै उक्त दृश्य राख्नु परेको भन्दै पुश्कलले सफाई दिदैं गलत संदेशको लागि माफी पनि समेत मागे ।

उनको गीतको कथामा एउटा कलाकारले आफ्नो मृत्युको परिकल्पना गरेको देखाउने प्रयत्न गरिएको थियो । कथा बस्तु अनुसारको भिडियो निर्माण गर्दा आफनो मृत्युको हल्ला फैलिएको र आफु जिवितै रहेको भनेर पुश्कल शर्माले पटक पटक आफुलाई पुष्टि गर्नु परेको थियो ।

पुश्कल शर्माको ह्वात्तै बढेको चर्चासंगै लोक गीतका भिडियोहरुमा मृत्युका दृश्यहरु र तिनै दृश्यहरुलाई आधार मानेर समाचार लेखिने चलन भने रोकिएन
थुप्रै लोक गीतहरुमा अभिनय गरिसकेका कलाकारद्वय बिमल अधिकारी र सारिका केसी को वालमा अचानक श्रद्दान्जली दिएका पोष्टहरु देखापरे । सुरुमा मोडल कलाकार सारिका केसी ले ‘हार्दिक श्रद्दान्जली’ मात्र लेखेर बिमल अधिकारीको फोटो पोष्ट गरिन त्यसको ५ मिनेट पछी बिमल अधिकारिले पनि हार्दिक श्रद्दान्जली सारिका भनेर सारिकाको फोटो पोष्ट गरे ।

सामान्य रुपमा फेसबुक नियाल्दा जबसम्म पछिल्लो पोष्ट न्युज फिडमा देखिएन तव सम्म बिमल अधिकारिको कुनै दुर्घटनामा परेर मृत्यु भएको हुन सक्ने आशंकाले एउटा तरङ्ग पैदा गर्यो अनि लगत्तै बिमल अधिकारिले पनि सारिकाको लागि त्यस्तै पोष्ट गरे । त्यसपछि उनिहरुको नाममा हार्दिक श्रद्दान्जली लेखिएका पोष्टहरु लगातार सेयर हुन थाले संगसंगै गीत र भिडियोको पनि प्रचार सुरु गरियो । म्युजिक भिडियोको प्रर्बद्धनका निम्ती यि कलाकारहरुले त्यसरी स्टाटस हाल्न हुन्थ्यो या हुदैनथ्यो भन्ने सोच्न आवश्यक सम्झिएनन् तर उनीहरुको यो हर्कत बहसको विषय भने बन्यो ।

 

Logo