के गर्दैछन् मनिषा कोइरालाको पहिलो हिरो प्रकाश ? (भिडियो कुराकानी)

के गर्दैछन् मनिषा कोइरालाको पहिलो हिरो प्रकाश ? (भिडियो कुराकानी)

केन्द्रबिन्दु
0
Shares

लक्ष्मी नेपाल
काठमाडौं, १६ मंसिर । कलिउड हुँदै बलिउडमा राज गरेकी अभिनेत्री मनिषा कोइरालाको पहिलो नायक को होलान् ? धेरैको मनमा यो जिज्ञासा लागेको हुनुपर्छ ।

धेरैले देखेको तर थोरैले मात्र नजिकबाट चिनेका अभिनेतामा पर्छन्, प्रकाश अधिकारी । हुन पनि हिजो जस्तो साघुँरो घेरामा सिमित रहेन, नेपाली चलचित्र । यसको व्यापकताका कारण पनि यो क्षेत्र विशाल बन्दै गएको छ । कुनै बेलाका जल्दाबल्दा अभिनेता प्रकाश अधिकारी भन्छन् “आखिर मनिषाको पहिलो हिरो मै हुँ ।”

शम्भु प्रधानले निर्माण गरेको नेपाली चलचित्र बेहुलीबाट नायकका रुपमा डेब्यु गरेका प्रकाश अधिकारीलाई दर्शकले असाध्यै रुचाए । त्यसअघि अन्याय चलचित्रमा अभिनय गरिसकेका उनलाई तुरुन्तै बेहुलीका लागि अफर आएको थियो । र बेहुली नै पहिले रिलिज पनि भयो । तर उनलाई अझै पनि मनमा एउटा कुरा भने खड्किरहदो रहेछ ।

बेहुलीकी बेहुली भने जस्तो नभएकोमा । तर त्यसपछि बनेको चलचित्र फेरि भेटौलामा मनिषा कोइरालाको हिरो हुन पाउँदा भने उनी दङ्ग परे ।

तर त्यो बेला मनिषाले फेरी भेटौलामा आफ्नो भन्दा बढी पारिश्रमिक लिएर काम गरेको थाहा पाउँदा भने उनी चकित परे । र पछि आफूले पनि थप रकम माग गरेको उनी सुनाउँछन् । त्यो समय र मनिषाको चलचित्र प्रारम्भिक कलाकारिताबारे सम्झदै उनी यसो भन्छन् ।

लहडले सिने जगतमा पाइला टेकेका प्रकाशको विस्तारै कलाकारितामा रस भिज्दै गयो । शिव श्रेष्ठ उनका समकालिन मात्रै थिएनन्, उबेला मिल्ने साथी पनि । भुवन केसी लगायतका अभिनेताहरुको समूह बढ्दै थियो । उनी निर्माता, निर्देशकको आँखामा नायकका रुपमा घुमिरहेका थिए । तर पिताजी उबेला नेपाल प्रहरीको जागिरे भएकाले पनि प्रकाशलाई सरकारी जागीर नै खाओस् भन्ने पारिवारिक दवाव थियो । तर पिताजीको चहाना विपरित नै उनी यस क्षेत्रको नशामा लागे ।

नेपाली चलचित्रको नायक भनिए पनि त्यसअघि आफू राम्रो रचनाकार भएको प्रकाशको दावी छ । नेपाली विषयको विद्यार्थी भएकैले पनि रचनामा उनको रुचि थियो । उनले आज आफैलाई भार भयो आज आफ्नै जीन्दगीलगायतका सदाबहार गीत लेखेका छन् । भन्छन् मेरोबारेमा थाहा नभएको विषय पनि यहि नै हो, सायद ।

परिवारको समर्थन थिएन, फिल्म खेल्नलाई । लुकी चोरी खेलेका फिल्म मुस्किलले रिलिज हुन्थे । त्यसबाट आउने पारिश्रमिक पनि चित्त बुझ्दो थिएन । विवाह अघि गरेको बाचा उनले तोड्न सकेनन् । बीनासंग विवाह बन्धनमा बाँधिएका उनलाई परिवारमै रमाउनु पर्ने बाध्यता थियो । सायद यसैले पनि हुन सक्छ उनी खुल्ला आकासको पंक्षि झै उड्न पाएनन्, सिने जगतमा ।

चलचित्र क्षेत्रले ठूलो फड्को मारेको दाबी

नेपाली चलचित्र क्षेत्रले ठूलो फड्को मारेको भन्दै प्रकाश प्रविधिले सहज बनाएको बताउँछन् । हिजो बनेका चलचित्र र आज बन्ने चलचित्रको कथा र अभिनय फरक हुनु समय अनुकुल पनि हो कि भन्छन् उनी ।

करिब ३० वटा चलचित्रमा अभिनय गरिसकेका प्रकाशको पछिल्लो चलचित्र रङ्ग बैजनी हो । त्यसयता उनी चलचित्रका पर्दामा आएका छैनन् । उनलाई अब पर्दामा देखिने उति रहर पनि छैन । फाट्ट फुट्ट अभिनयका लागि अफर त आउछन् तर सम्भव भएनन् । तर जति गरे, सके त्यतीमै आनन्द मान्छन् उनी । बरु राजनीतिक मञ्चको मोह एक्कासी बढेको छ उनीमा । समय र समूदायले साथ दिए देशको राजनेता बन्ने जोस बढेको छ ।

बिसं. २०१९ साल पुष २५ गते मोरङको बिराटनगरमा जन्मिएका प्रकाश काठमाण्डौको बत्तिसपुतली बस्छन् । माता सितादेवि र पिता नरेन्द्रबहादुरका १२ सन्तान मध्ये उनी माइला सुपुत्र । बाबु आमा र तिनै १२ सन्तान मध्ये एक दाजू र एक दिदीलाई पनि प्रकाशले सधैंका लागि गुमाइसके । बाँकी अरु दाजूभाइ र दिदी संगसंगै त्यही टोलमा लहरै बस्छन् । उमेरले साढे ५ दशक नागेका उनी बाँचुन्जेल यतिकै स्फुर्त रहने बताउँछन् । त्यसका लागि उनी हरेक विहान व्यायाम गर्छन् । मर्निङ्ग वाकपछि योग यिनको नित्य कर्म । परिवारमा पनि उनको सहयोग उतिक्कै रहेको श्रीमती विना बताउँछिन् ।

प्रकाश बारे श्रीमतीको धारणा

सधै आफूलाई सकरात्मक राख्न जोड गर्ने प्रकाश अरुलाई छिट्टै विश्वास गर्छन् रे । दुई छोरी र श्रीमतीका साथ बस्दै आएका प्रकाशको यही बानीका कारण परिवारमा ठाकठुक पर्दो रहेछ, प्रकाशको सवल र कमजोर पक्ष बताउँछिन् विना ।

उ बेलै एमए गरेका प्रकाशलाई जागिर खान कुनै गाहे थिएन । तर त्यो बन्धन मन परेन । उनले घरपरिवारलाई समय दिदै व्यवसायमा लगानी गरे । कहिले पोल्टी फर्म खोले त कहिले दाना उद्योगमा लगानी गरे । अहिले पनि उनको हाइड्रो पावरलगायतका बिभिन्न व्यवसायमा लगानी छ ।

सिने जगतले थोर बुहत जति चिनायो त्यसमै खुशी छन् प्रकाश । चलचित्र क्षेत्रले जति दियो सन्तोष नै छ । चुनाबी प्रचार–प्रसारमा व्यस्त देखिएका उनी भन्छन् “बरु अब त देशलाई केही दिने बेला हो यो । त्यसैले यता राजनीतिमा ब्यस्त रहन्छु ।”

राजनीतिक चासो

यो बर्ष देश निर्वाचनमय बनिरहदा धेरै कलाकारहरु राजनीतिमा सक्रिय छन् । पुरानादेखि नयाँ पुस्ताका कलाकारको आकर्षण राजनीतिक मञ्चमा देखिएका बेला एउटा कालखण्डका चर्चित नायक प्रकाश अधिकारी पनि चुनाबी प्रचार प्रसारमा ब्यस्त छन् ।

यसअघि कहिकतै कुनै पार्टीमा नदेखिएका उनी अचानक पार्टीका कार्यक्रममा बाक्लै गरी सहभागि हुन्छन् । उनी नेपाल प्रहरीका डिआइजी नवराज सिलवालले पार्टी प्रवेश गरेकै दिन एमाले मोहमा परेको बताउँछन् ।

हेर्नुहोस् विस्तृत भिडियो कुराकानी

Logo