दशौं एनिभर्सरीमा धुर्मुस सुन्तलीको ‘उनी र म’ (गीत सहित)

दशौं एनिभर्सरीमा धुर्मुस सुन्तलीको ‘उनी र म’ (गीत सहित)

केन्द्रबिन्दु
0
Shares

चर्चित हाँस्य कलाकारद्धय सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तलीको विवाह भएको आज एकदशक पुगेको छ । २०६४ मंसिर १४ गते लगनगा“ठो कसेका यी जोडीले दाम्पत्य जीवन सुरु गरेसँगै आफ्नो ‘करिअर’लाई उचाइमा पुर्याएका थिए । सामाजिक रुपान्तरणका निम्ती सक्रिय उनीहरु आफ्नो पेशा र सामाजिक भुमिकालाई निरन्तर अगाडि बढाउन सफल छन् ।

विवाहको दशौं एनिभर्सरीको अवसर पारेर धुर्मुस सुन्तलीले बिहिबार ‘म जुन दिन देखि…’ (उनी र म) गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । सुबिहानी फिल्मस्को प्रस्तुतिमा संघिय मामिला तथा स्थानिय विकाश मन्त्रालयका सचिव एवं चर्चित गीतकार दिनेश थपलियाको शब्द, लोकप्रिय संगीतकार अर्जुन घिमिरेको संगीत तथा संगीत संयोजन रहेको यो म्युजिक भिडियोमा यस जोडीले अभिनय गरेको छ । सुबिहानी धुर्मुस सुन्तलीकी सुपुत्री हुन् ।

भर्सटाइल गायक राई इज किङ अर्थात राजेश पायल राई र अन्जु पन्तको आवाज रहेको यस गीतको छायांकन कतार र नेपालमा गरिएको हो । धुर्मुस सुन्तली युट्युब च्यानलबाट सार्वजनिक यो गीतको छायांकन बलिउडमा सफल क्यामेरा पर्सन पप्पा र नेपालका नवराज उप्रेतीले गरेका हुन् । भिडियोमा हरिष निरौला (कक्रोज) को कोरियोग्राफी, टेकेन्द्र शाहको भिडियो सम्पादन र प्रकाश कोइरालाको परिकल्पना रहेको छ । ‘यो गीत हाम्रो सफल दाम्पत्य जीवनको प्रतिक हो, हामीलाई माया गर्नुहुने, साथ र सहयोग गर्नुहुने सबैको गीत हो’ दशौं एनिभर्सरीको दिन धुर्मुस सुन्तलीले केन्द्रविन्दुलाई भनें–‘हाम्रो प्रयासलाई सार्थक तुल्याइदिने, प्रेरणा र हौसला प्रदान गर्ने सम्र्पुण नेपाली दाजुभाई, दिदीबहिनी तथा आमाबुबामा यो गीत समर्पित छ ।’

एनिभर्सरीको अवसरमा धुर्मुसले फेसबुकको आफ्नो वालमा यस्तो लेखेका छन् –
सुखमा साथ दियौ, दुःखमा हात दियौ । राम्रा काम गर्न हौस्याउन प्रेरणादायी बात दियौ । दुई दिने जिन्दगीमा साह्रै मिठा मिठा सौगात दियौ । कलाकारिता र सामाजिक काममा सधैं अघि बढन काँध थापेर हरपल साथ दिने जीवनसाथी पाएको आज ठ्याक्कै नौ बर्ष पूरा भएर १० वर्ष लागेछ । यो यात्रा सम्म आइपुग्न साथ दिने परिवारजन, सम्पुर्ण सुभचिन्तक, सहयोगी मन, अनि सम्पुर्ण संचारकर्मीहरुमा विशेष धन्यवाद र आभार बेक्त गर्दछौं ।साथै येस्तै न्यानो र मिठो माया सधैं पाइराखौ, love u kunju!

काभ्रे जिल्लाको पहरी गाऊँँका भुकम्प पीडित २० परिवारका लागि भुकम्प प्रतिरोधी २० घर निर्माण, सिन्धुपाल्चोकको गिरानचौरको भुकम्प पिडित तामाङ्ग गाउमा ६६ आवासिय घर तथा महोत्तरीको बर्दिबास स्थित मुसहर बस्तीमा मानवता र सद्भावका लागि अपाङ्ग, बालमैत्री ५३ घरको एकिकृत नमुना मुसहर बस्ती निर्माण सम्पन्न गरेको छ, धुर्मुस सुन्तली फाउण्डेशनले । त्यसैगरी यस फाउन्डेशनद्धारा रौतहटको सन्तपुरमा निर्माणधिन नमूना बस्ती हाल चर्चाको शिखरमा छ । राष्ट्रको पक्षमा ब्यवहारले सधैं समर्पित धुर्मुस सुन्तली अर्थात सिताराम कट्टेल र कुञ्जना घिमिरेका आउँदा दिन अझ सुखमय हुन् । हरेक मनोकांक्षा पुरा हुन् । केन्द्रबिन्दुको तर्फवाट हार्दिक शुभ कामना ।

 

Logo