संजीव कुमार, मृत्यु पछि जसका १० फिल्म प्रदर्शित भए

संजीव कुमार, मृत्यु पछि जसका १० फिल्म प्रदर्शित भए

केन्द्रबिन्दु
0
Shares

मुम्बाई, २० कात्तिक । सन् ६० देखि ८० को दशकमा बलिउड फिल्म उद्योगका नामूद कलाकार संजीव कुमारको मृत्युभएको आज ३२ औं पूण्य तिथि हो । सन् १९८५ नोभेम्बर ६ तारिखका दिन संजीव कुमारको ४७ बर्षको उमेरमा हृदयघातका कारण मृत्यु भएको थियो ।

फिल्मी करिअरमा सैयौं सफल चलचित्रमा अभिनय गरेका संजीव कुमारको मृत्यु भएपछि उनी अभिनित १० चलचित्रहरु प्रदर्शनमा आए । युवा अवस्था देखिनै मुटुको समस्या रहेको थाहा पाएपछि संजीव कुमारले आफ्नो मृत्यु अल्पआयुमा हुन्छ भन्ने महसुस गरेरै विवाह नगरेको बताईन्छ । संजीव कुमारको परिवारका अधिकांश सदस्यहरुको मृत्यु ५० बर्ष भन्दा कम उमेरमा भएको थियो । जसको कारण उनलाई पनि आफु कम उमेरमै मर्छु भन्ने लाग्ने गरेको थियो । संजीव कुमारको कान्छो भाई नकुलको मृत्यु उनी भन्दा धेरै अगाडी भैसकेको थियो । त्यसको ६ महिना पछि ठुलो दाई किशोर कुमारको पनि मृत्यु भएको थियो ।

त्यो बेलाको चर्चा अनुसार संजीव कुमारलाई हेमा मालिनी औधि मन पथ्र्यो । उनले आफ्नो विवाहको प्रस्ताव हेमा मालिनीको घरमा पनि पठाएका थिए । तर हेमा मालिनीले उनको विवाहको प्रस्तावलाई स्विकार गरिनन् । किनकी हेमा धमेन्द्रलाई मनपराउथिन् । उता अर्को तर्फ संजीव कुमारलाई अर्की अभिनेत्री सुलक्षणाले मनपराउथिन् । तर संजीवको मनमा हेमा मालिनीमात्र बसेको थियो । यस्तो अवस्थामा संजीवले सुलक्षणलाई पनि स्विकार गर्न सकेनन् भने हेमा मालिनीलाई पनि पाउन सकेनन् । यही क्रममा संजीव कुमारको मृत्यु पनि भयो ।

अभिनयको क्षेत्रमा चर्चित रहदाँ संजीव कुमारले एकै पटक धेरै चलचित्रमा अभिनय गरिरहेका हुन्थे । उनको मृत्यु अचानक भएपछि धेरै फिल्महरुलाई प्रदर्शनमा आउन अप्ठ्यारो अवस्था आयो । यस्तो अवस्थामा धेरैले फिल्मको कथालाई नै परिवर्तन गरेर भएपनि प्रदर्शनमा ल्याए । यो क्रम सन् १९९३ सम्म जारी रहेको थियो । संजीव कुमारको मृत्यु भएको एक बर्षपछि सन् १९८६ मा कातिल, हाथों की लकिरें, बात बन जाए, कांच की दिवार, लव एण्ड गड, राही प्रदर्शनमा आएको थियो । यस्तैगरी सन् १९८८ मा उनको अभिनय रहेको दो वक्त की रोटी, ना मुमकिन प्रदर्शनमा आयो भने सन् १९८९ मा ऊच नीच बीच आयो भने सन् १९९३ मा प्रोफेसर की पडोसन आएको थियो ।

सन् १९३८ जुलाई ३ तारिखमा जन्मिएका संजीव कुमारको वास्तविक नाम हरिहर जेठालाल जरीलाल जरीवाला हो । उनले हम हिन्दुस्तानी फिल्ममा पहिलो पटक अभिनय गरेका थिए । यो फिल्म सन् १९६० मा प्रदर्शनमा आएको थियो ।

Logo