नेपाल आइडल: ‘नो इलिमिनेशन डे’ स्वभाविक कि अत्याचार ? 

नेपाल आइडल: ‘नो इलिमिनेशन डे’ स्वभाविक कि अत्याचार ? 

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १६ भदौ । बिबाद नै बिबादका बीच फाइनलको यात्र तय गरेको नेपाल आइडलको हिजो शुक्रबारको शृंखला पनि बिबादरहित बन्न सकेन । एक हप्तादेखि ‘अब को आउट होला ?’ भन्दै शुक्रबारको शृंखला हेर्न आतुर दर्शकहरु त्यतिबेला ‘आगो’ बने जब निर्णायक मण्डलले आफ्नो पावर चलाए । निर्णायक मण्डल इन्दिरा जोशी, न्हू बज्राचार्य र कालीप्रसाद बाँस्कोटाले चारै जना प्रतियोगीलाई अर्को शृंखलामा लैजाने निर्णय सुनाएपछि रिजल्टको पर्खाइमा रहेका दर्शकहरु अचम्मित मात्रै भएनन् रिसले चुर बने ।

त्यसो त हिजो दिनभर नेपाल आइडलमा सहभागी आफ्नो रोजाईको प्रतियोगीलाई भोट माग्न व्यस्त दर्शकहरु एकाएक कार्यक्रमकै बिरोधमा उत्रिए ।  नेपाल आइडलको ‘टप फोर’मा पुगेका निशान भट्टराई, सागर आले, बुद्ध लामा र प्रताप दासको प्रस्तुतीपछि निर्णायकले आफ्नो पावर प्रयोग गरे र दर्शकलाई नमज्जा बनाइ दिए । 

शुक्रबारको शो गीतकार बसन्त चौधरीको ‘शान्ति लुकाउँ कहाँ…’ भन्ने गीतबाट सुरु भएको थियो । कार्यक्रममा चलचित्र चलचित्र ‘२ रुपैयाँ’ का नायकद्वय निश्चल बस्नेत र आशिक साहलाई पनि प्रस्तुत गरिएको थियो ।  शुक्रबारको कार्यक्रमका लागि मात्र ४ जना प्रतिस्पर्धीका लागि ३७ लाख २० हजार २८४ मत प्राप्त भएको थियो । 

स्वभाविक कि अत्याचार ? 

नेपाल आइडलको निर्णायक मण्डलले गरेको ‘नो इलिमिनेशन डे’ स्वाभाविक कि अत्याचार भन्ने बारेमा अहिले बादबिबाद भैरहेको छ । कतिपयले पैसा कमाउनकै लागि दर्शकलाई झुक्याइयो भनेर ३७ लाख २० हजार २८४ भोटको ६ रुपैयाका दरले हिसाबकिताब प्रस्तुत गरिरहेका छन भने कतिपयले यो ब्यबसायीक कार्यक्रम भएकाले स्वाभाविक भनिरहेका छन् ।

अन्तराष्ट्रिय प्रचलनका आधारमा भन्ने हो भने यो स्वाभाविक पनि हो ।  छिमेकी मुलुक भारतमा हुने इन्डियन आइडलमा पनि यस्तो हुदै आएको छ। तर प्रायत: प्रतिस्पर्धीको भोट बराबर भएको अथवा बिशेष परिस्थितिको बहानामा यस्तो गर्ने गरिन्छ तर नेपाल आइडलमा भने निर्णायकहरुले सिधै आफ्नो पावर प्रयोग गर्ने भनेर निर्धक्क भनेका छन् । निर्णायकमा यो अधिकार रहने भएता पनि विदेशमा अप्रत्यक्ष रुपमा यस्तो पावर प्रयोग हुने गरेको छ । यसैकारण पनि फेरि एक पटक नेपाल आइडलका निर्णायकहरु बिबादमा तानिएका छन् । यस अघि पनि निर्णायकहरुको टिप्पणी गर्ने शैलीको बिरोध हुदै आएको थियो ।

दर्शकहरुले भने नेपाल आइडलका संचालक र निर्णायक मण्डलले आफुहरुमाथि अत्याचार गरेको भन्दै आक्रोस पोखिरहेका छन् । उनीहरुले निर्णायकले चाहेको प्रतियोगी भन्दा अन्य प्रतियोगीले बढी भोट ल्याएका कारण पनि ‘नो इलिमिनेशन डे’ को नाटक रचेको आरोप लगाइरहेका छन् । जम्मा भोट सार्वजनिक गरे पनि कसको कति भोट भनेर सार्वजनिक नगरेका कारण यो आरोप नकार्न पनि नसकिने जानकारहरु बताउछन । आज फेसबुक, ट्वीटर र युट्युबमा समेत नेपाल आइडलको चर्को बिरोध भैरहेको छ । 

 

के होला अर्को साता ?

नेपाल आइडलले यो साता ‘झुक्याए’ पनि अर्को साता के होला भन्ने जिज्ञासा भने मेटिएको छैन । अर्को साता पनि निर्णायकहरुले आफ्नो पावर चलाउला वा कार्यक्रमलाई अगाडि बढाउला भन्ने उत्सुकता पनि जागेको छ । तर अन्तराष्ट्रिय मान्यताका आधारमा भन्ने हो भने अर्को साता बाध्य भएर कार्यक्रम अगाडि बढाउनुपर्ने हुन्छ । स्मरण होस् अर्को साता प्रतियोगीलाई प्राप्त हुने भोटमा अहिले प्राप्त भोट समेत गणना गरिने आयोजकले जनाएको छ । यसले गर्दा दर्शकको भोट भने खेर नजाने भएको छ ।

 

Logo