छाडा भयो तीज

छाडा भयो तीज

केन्द्रबिन्दु
0
Shares

दुर्गा पंगेनी

–तीजको पूर्वसन्ध्यामा छोटो समयमै धेरै आलोचना खेप्यो, पार्वती राई अभिनित ‘कट्टुमा बुट्टा’ भन्ने गीतले । गोपाल नेपाल जिएम र पूर्णकला बिसीको स्वरमा रहेको उक्त गीतमा शब्द संयोजन शंकर चालिसेको छ । शंकर बिसी निर्देशित उक्त भिडियो युट्युबमा निकै रुचाइएको छ साथै गाली पनि उत्तिकै खाएको छ । हेर्नेहरूले कमेन्टमा लाइक भन्दा आलोचना धेरै गरेका छन् । लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका सांगठनिक सचिव शंकर बिसी, केन्द्रीय सदस्यद्वय पार्वती राई र पूर्णकला बिसीजस्ता कलाकारहरू सम्मिलित भएको भिडियो भएको कारण पनि यो गीत बढी आलोचित हुन पुगेको देखिन्छ ।

–‘लुतो हो कि पिलो’ भन्ने तीज गीत पनि आलोचनाको सिकार भएको छ । विनोद ढकाल र कमला बजगाईंको स्वर रहेको उक्त गीत मिसमास तरिकाले खिचडी पकाए जसरी निर्माण गरिएको छ । शब्द र संगीतमा विनोद ढकालको नाम राखिएको यो गीतमा थेगो भने विनोद शर्माको भनिएको छ । परेली फिल्म्सबाट बजारमा आएको उक्त गीतमा चन्दा दाहालले नृत्य गरेकी छन् ।

–स्मृति म्युजिकबाट बजारमा आएको गीत ‘दारु पार्टी छ’ भन्ने गीत पनि युट्युबमा गाली खाने गीतको अग्रपंक्तिमै छ । प्रकाश कटुवाल र शर्मिला थापाको स्वर रहेको उक्त गीतमा शब्द र लय पनि प्रकाश कटुवाल कै छन् । ‘ढाडे बिरालो’ गीतमा ज्योति मगरलाई अभिनय गराएर मनग्य चर्चा र आलोचना बटुलेका कटुवालको प्याटर्न नै यस्तै फरक गीतहरू हुने गरेका छन् । उनका प्रायः गीतहरू उत्ताउला र द्विअर्थी हुन्छन् । यो पटकको उनको तीज गीत ‘दारु पार्टी छ’ पनि सामाजिक संजालमा गाली पाउने गीतमा दरिएको छ । यो गीतको भिडिओ निर्देशन प्रकाश भट्टले गरेका छन् ।

–युट्युबमा गाली खाने अर्को गीत सरस्वती लामाको स्वरको नितान्त भिन्नै स्वादको तीज गीत परेको छ । ‘ओई शम्भु जमाना कस्तो आको हो, यसपालिको तीज पनि ¥याप मै जम्नेभो’ बोलको उक्त गीत एक किसिमको ¥याप संगीत हो । सरस्वती लामाको आवाजको प्रकृतिसँग मेल खाने गरी निर्माण गरिएको उक्त गीत पनि परम्परागत तीजे गीतका पारखीहरूको नजरमा पर्यो । फेसबुकमा समेत निकै आलोचित उक्त गीतका क्लिपहरू ट्रोल बनेर फेसबुकमा निकै छाएका छन् । गितार भिरेका गायिकाले जिन्स कट्टु लगाएर अनि सारी लगाएका कलाकारहरू नचाइएको उक्त भिडियो रुचाउने नयाँ पुस्ताका युवा–युवतीहरू पक्कै होलान् तर यो गीतले पनि सराहनाभन्दा आलोचना नै बढी पायो । टंक बुढाथोकीले संगीत भरेको उक्त गीतको भिडियोको निर्देशन विक्रम चौहानले गरेका छन् ।

–‘राडोको घडी र प्राडोको गाडी’ भन्ने गीत पनि सामाजिक संजालमा आलोचित छ । भागीरथ चलाउने र पूजा पुरीको स्वर रहेको उक्त गीत बाबुराम बोहराले लेखेका हुन् । रश्मी तामाङ र जेम्स बिसीको अभिनय रहेको उक्त गीतको भिडियो प्रकाश भट्ट निर्देशित छ ।

यो वर्षको तीजलाई लक्षित गरेर दर्शक स्रोतामाझ आएका यि केहि उदाहरणिय गीत भए । तीजलाई लक्षित गरेर यस्ता उत्ताउला किसिमका थुप्रै गीत आएका छन् । करिब १ हजार २ सय तीज गीत यो पटक बजारमा देखिएका छन् । त्यो भिडमा आफुलाई चर्चित र लोकप्रिय बनाउन उत्ताउला किसिमका गीत स्रोतामाझ पस्किने चलन बढेको यि गीतहरुको आगमनले प्रष्ट्याउछ ।

एकदशक अघि गायिका कोमल वलिले ‘पोइला जान पाम’ गीत गाउँदा त्यसले तत्कालिन नेपाली समाजमा दह्रै हडकम्प मच्चाएको थियो । ‘पोइला’ भन्ने शब्द अश्लिल भएको भन्दै त्यो गीतका सर्जक डण्डपानी पान्डे र गायिका कोमल वलीले त्यसबेला दह्रै बहिष्कार सामना गर्नुप¥यो । आलोचना यतिसम्म भयो कि, त्यो गीतलाई प्रतिबन्ध गर्न तत्कालिन संचारमाध्यम अग्रसर भए । गायिका वलिले धेरै वटा अन्र्तवार्तामा पोइला चलनचल्तिको ठेट नेपाली शब्द भएको भन्दै प्रष्टिकरण दिनुप¥यो । भलै यो गीतले प्रतिबन्धको हल्ला पछि झनैं चर्चा कमायो तर नेपाली समाजका विद्धानहरुले तीज संस्कृतीलाई नराम्रो प्रभाव तुल्याउने गीतका रुपमा पोइला जान पामलाई चित्रण गरिरहे ।

यो भयो १ दशक अघिको कुरा, अहिलेसम्म आइपुग्दा बागमतीमा पानी धेरै बगिसकेको छ । गणतान्त्रिक मुलुकमा तीजका गीतका शब्द, भाका र प्रस्तुतीले पनि छलाङ नै मारेका छन् । गत वर्ष वान पिस लाए बाटोमै खोल्दिन्छु भनेको नमानेमा तिम्ले यत्रो…खाउ, खाउली केरा, स्याउ र केराले, जामा फाटेर क्वाप्प मुखमा हाल्छु म केरा काटेर, गर्मि भयो मलाई पंखा चलाइदेउ जस्ता दर्जनौं गीत सार्वजनिक भएका थिए ।

२ वर्ष अघिको तीजमा बजारमा आएको ‘तल पनि पिरलो माथि पनि पिरलो, चोरी खान पल्केको यो ढाडे विरालो’ ले टर्निङ प्वाइन्ट बनेर यस्ता गीतका निम्ती बाटो खोलिदिएपछि आक्रामक हिसाबले यसप्रकारका छिल्लिएका तीज गीत बजारमा आउन थालेका छन् । उक्त गीतमा अभिनय मात्र गरेकि ज्योती मगर त्यसबेला ‘कन्ट्रोभर्सी क्वीन’ नै बनेकि थिइन् ।

आफ्नो तीज गीतलाई अरूको भन्दा आकर्षक र चर्चित बनाउन गायक–गायिकाहरू लागि पर्छन् । अनि त्यो गीतलाई धेरैभन्दा धेरै दर्शकले हेरून् भन्ने अभिप्रायले उनीहरू आफ्ना गीतलाई अरूको भन्दा बेग्लै र विशेष बनाउने कोसिस पनि गर्छन् । यतिसम्म त ठिकै छ, तर अर्कोलाई पछि पार्ने प्रयासमा सदाचार र शिष्टाचारलाई नै चुनौती दिनु चाहि“ सोचनीय हुनजान्छ ।

चुरा नाडीमा झन् सेक्सी देखियो–मलाई साडीमा झन सेक्सी देखियो, छोटा छोटा लुगा लाउने सबै अंगदेखाउने –त्यसैमाथी भएन ट्याटु लेखाउने, छोटो छोटो मिनिस्कर्ट लगाउँदा क्या सेक्सी देखिन्छ शिर्षकका तीज गीत यो वर्ष आएका छन् । जुन भाका र शब्दले तीजको छनक कतै पनि दिदैन् । नृत्यमा समेत तीजको फ्लेभर पाइन्न । उत्तेजक, छाडा र द्धिअर्थी शब्दहरु थोपरिएका छन् । घन्टा, केरा, ललिपप जस्ता द्धिअर्थी शब्दावली प्रयोग गरिएको छ ।

अघिल्ला वर्षहरूमा राम्रै चलेका कलाकारहरूले समेत आफ्ना गीतहरूमा दोहोरो अर्थ बोक्ने शब्द राख्ने र खेलेरै अंग प्रदर्शन गराइएका दृश्यहरू समावेश गरेर भिडियो रिलिज गर्ने गरेका थिए । यससम्बन्धमा उनीहरूको निकै आलोचना समेत भएको थियो ।

यसपटकको तीजका अवसरमा भने त्यसरी नाम चलेका कलाकारहरूबाट अश्लीलताको ट्याग लाउन मिल्ने त्यस्ता गीतहरू बजारमा आएनन । बरु यसपटकको तीजमा फरक स्वादका गीतहरू अथवा विशुद्ध ‘तीजे भाका’ भन्दा बाहिर गएर फरक स्वादका गीत निकाल्ने कलाकारहरू धेरै देखिए । विशुद्ध झ्याउरे भाकालाई रेकर्ड गराई अथवा नया“ किसिमको भाका बनाई रातो साडी लगाई नाच्दै गरेको भिडियो बनाएर तीजको गीत हो भनेर दावी गर्ने कलाकारहरू प्रसस्तै भेटिए ।

तीज गीत छिल्लिने क्रममा रत्यौली गीतमा परिणत भएको यो क्षेत्रका विज्ञहरु बताउँछन् । बाटोमै खोल्दिन्छु, मेरो मायालाई मिठो लाग्ने स्याउ भन्दा नि केरा जस्ता गीत आउनु तीज गीतको नाममा कलंक हुन् ।

यो वर्ष करिब १ हजार २ सयवटा तीज गीत सार्वजनिक भएका छन् । जसमध्ये ९० प्रतिशत तीज गीत रत्यौली शैलीका भएको बताइन्छ । १ हजार २ सय वटा गीतमा एउटा गीत शब्द, रेकर्डिङ देखि म्युजिक भिडियोसम्म बन्नेक्रममा १ लाख ५० हजार खर्च हुन्छ, यसहिसाबले हेर्दा १८ करोड रुपैयाँ हाराहारी रकम खर्च भएको देखिन्छ । यसरी खर्च गरेका गीतको अडियो भिडियो आम्दानी जिरो भएकाले पनि युट्युबमा गीत बढि लोकप्रिय भइदिए हुन्थ्यो भन्ने कलाकारको चाहना हुन्छ । त्यसैले थम्बबेलमा युवतीको आकर्षक सेक्सी तस्विर राखेर भएपनि त्यसलाई हिट बनाउन प्रयास गरिन्छ ।

राम्रा भनिएका २ प्रतिशत गीतको युट्युबमा भ्युअर्स नै छैन् । मानिसहरु उच्छृंखल र छाडा गीतलाई गाली गरेर पानी माथीको ओभानो हुने तर खोजी खोजी हेरेर तृप्ति लिने गर्छन् । साहित्यमा सेक्स जोडिनु, मायापिरतीका कुरामा द्धिअर्थी संवाद हुनु स्वभाविकै भएपनि प्रस्तुतीकरणमा समस्या देखिएको छ । हट एन्ड सेक्सीको नाममा भिडियोमै नभएको उत्तेजक र भल्गर तस्विर राख्ने गरिन्छ । छिल्लिएका गीत, हट एन्ड सेक्सी ट्यागलाइनका गीत युट्युबमा धेरैपटक हेरिने भएकाले पनि अक्सर कलाकारहरु यस्तै गीतहरु सृजनामा सक्रिय भएको विश्लेषकहरु बताउँछन् । अझ राम्रै र सभ्य किसिमका तीज गीतको भिडियो निर्माणको क्रममा उत्ताउला गतिविधी गर्ने पहिरन उचाल्ने गतिविधी धेरै देखिएका छन् ।

धेरैवर्षसम्म गीत गाएर चर्चा नपाइरहेका गायक प्रकाश कटुवाललाई ढाडे विरालो गीतले चिनायो भनेरसम्म २ वर्ष अघि समाचार आएका थिए । त्यसपछि प्रकाश त्यस्तै किसिमका गीत निर्माणमा सक्रिय छन् । गत वर्ष उनले वान पिस लाए खोल्दिन्छु भनेको नमानेमा तिमीले यत्रो खाउ जस्तो छिल्लिएको गीत गाए । उनकै संगीतको खाउली केरा बोटमै पाकेको पनि द्धिअर्थी लाग्छ । द्धिअर्थी र छिल्लिएका गीतका निम्ती नै उनको ब्रान्ड बनिसकेको छ । ढाडेविरालोबाट लोकप्रिय भएकैले हुनसक्छ, उनी झन झन अगाडी बढेर यस्ता गीत बनाइरहेका छन् ।

कन्ट्रोभर्सी क्वीन गायिका ज्योती मगरले यो वर्ष ‘मन्दिरमा बस्छु अनि घन्टा बजाउँछु’ गीत गाइन् । यो गीत द्धिअर्थी मात्र भएकाले खासै विवादित भएन् । गत वर्षको तीज गीतका रुपमा यसपालीको तीजमा दरको साटो रक्सी खाइन्छ गाएपछि त्यसले खुबै चर्चा पाएको थियो । उक्त गीतको भिडियोमा तीज पार्टीका रुपमा पोल डान्स गर्ने, सेक्सुअल पोजिसन झल्किने अभिनय ज्योतीले गरेकि छिन् । यस्तै ज्योतीले गतवर्ष नै तीलक वलिको एल्बमका लागि ‘मुखमा हाल्छु म केरा काटेर गाइन् ।’ उक्त गीतको भिडियोलाई अश्लिल मान्दै युट्युबबाट झिकिएको थियो तर पछि पुन पोष्ट गरियो ।

गत वर्ष दामोदर भन्डारी र उमादेवीको चाइनिज लुगा शिर्षकको गीतमा पुरुष मोडलले युवतीको जामा सुरुमै फर्काइदिएको दृष्य राखिएको थियो । वास्तवमा भिडियोका निर्देशकले यो दृष्य राख्नुले नियतमै खोट देखिन्छ । गीतमा विकृतीको विरोध गर्ने शब्द धेरै छन् तर छायाकंनको क्रममा युट्युबमा भ्युअर्स बढाउनलाई त्यसप्रकारको दृष्य लिइएको देखिन्छ ।

गर्मी भयो मलाई भित्रबाट पंखा चलाइदेउ शिर्षकको गीतमा गर्मी भएको भन्दै मोडल जानवी बोहोरालाई पटक पटक सारी फर्काउन लगाइएको छ । गीतको मर्मलाई नै मोड्ने गरि जानवीलाई त्यसरी प्रस्तुत गर्नुको पछाडी युट्युब भ्यु बढाउन गरिएको मेहनत मान्छन, विश्लेषकहरु । तीलक वलिको केरा काटेर गीतको भिडियोमा ज्योती मगरको स्कर्ट हावामा यसरी उड्यो कि नदेखिनुपर्ने अंग पनि देखियो भनेर चर्को आलोचना भएको थियो । यद्यपी ज्योतीले स्कर्ट भित्र छाला कलरकै स्ल्याक्स रहेको र हावाले स्कर्ट उड्दा छाला र स्ल्याक्सको रंग नछुटिएकोले त्यस्तो देखिएको स्पष्टिकरण दिएकि थिइन् ।

यस्तै गत वर्ष नै प्रविण थापाको तीज गीत सारी र चोली लाउदिन म त जवानी छेकिन्छ । मिनिस्कर्ट लाउछु बरु क्या सेक्सी देखिन्छ भन्ने गीतको सुरुवातमै महिला मोडललाई अर्धनग्न देखाइएको छ ।

Logo