चलचित्रमा सेक्स, कति उचित

चलचित्रमा सेक्स, कति उचित

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु बहस

वर्तमान नेपाली चलचित्र उद्योगमा एकतिर व्यवसायका नाममा छाडापनका चलचित्रहरु हावी हुँदै गइरहेको अवस्था छ भने अर्कोतिर चलचित्र उद्योगमा नै लागेर आफ्नो कपाल फुलाएकाहरुले निर्माण गरेका चलचित्रहरु असफल भैरहेको अवस्था छ । अहिले बनिरहेका अश्लील पाराका चलचित्रहरुका बारेमा हामीले केही चलचित्रकर्मीहरुको विचार बुझेका थियौं ।

सेक्स र क्राइम बेचेर पैसा कमाउनेले च्याँखे दाउ पारेका छन्
अहिले बनिरहेका यस्ता चलचित्रहरु फ्रस्टेशनका अभिव्यक्ति हुन । ज—जस्ले सेक्स र क्राइम चल्छ भन्ने सोचले यस्ता चलचित्रहरु निर्माण गरे ती व्यक्तिहरुले चलचित्रको सोच नबुझेका हुन् । गैर चलचित्रकर्मीहरुले सेक्स र क्राइम बेचेर पैसा कमाउने च्या“खे दाउ थापेका हुन् । यस्ता दाउहरु धेरै टिक्दैनन् । आफ्नो सीमा र परिधि कसैले पनि नाँध्नु हुदैन । 

डा. प्रदिप भट्टराई
चलचित्र समीक्षक

तिनीहरुले आफ्नो इमान बेचेका छन्
जस्ले यस्ता चलचित्रहरु निर्माण गरिरहेका छन्, तिनीहरुले आफ्नो इमान बेचेको जस्तो लाग्छ । यस्ता चलचित्र बनाउनेहरुको जमातले राम्रा मेकरहरुलाई असर परेको छ । चलचित्रमा सेक्स बेचिनु हु“दैन । सामाजिक घेराभन्दा बाहिर गएर बनिरहेका यस्ता चलचित्रहरु हेर्दा लाग्दछ, यस्ता चलचित्र निर्माण गर्नेहरुका घर परिवारमा कोही सदस्य नै छैनन् । तर पनि चलचित्र बनाउने अधिकार सबैलाई छ, चलचित्रको ग्रेडिङको आवश्यकता छ । छुट्टै चलचित्र भवनको आवश्यकता छ । बाँकी आफ्नै इच्छा, आफ्नो चलचित्र ग्रेड ‘ए’ बनाउने या ‘सी’ ।

 

रेखा थापा
नायिका

 अहिले बनिरहेका चलचित्र फास्ट फुड हुन्
अहिले बनिरहेका चलचित्रलाई म फास्ट फुड भन्छु । केही समयका लागी खायो भने ठिकै होला तर स्वस्थ्य जीवन बाँच्नका लागि स्वस्थ्यकर खानाकै जरुरी हुन्छ । चल्यो भन्दैमा जे पनि बनाउने मान्छेहरु अनि बन्यो भन्दैमा जे पनि हेरिदिने दर्शकहरु दुबै सचेत हुनु जरुरी छ । यदि यस्तै हो भने हामीले आफ्नै अस्तित्व खोज्दै हिंड्नुपर्ने हुुनसक्छ । हाम्रो राम्रा चलचित्रहरु एकादेशका कथा बन्नेछन् ।
 

तुलसी घिमिरे
निर्देशक

सेक्सलाई आकर्षक र कलात्मक पाराले पस्किएमा चलचित्र राम्रो बन्न सक्छ
यस्ता चलचित्रहरु बन्नु हुँदैन । सेक्सलाई चलचित्रमा आकर्षक र कलात्मक पाराले पस्किएमा चलचित्र राम्रो बन्न सक्छ तर सेक्सलाई पैसा कमाउने माध्यम बनाउनु हुँदैन । अब यस्ता चलचित्रहरु चल्दैनन् । दर्शकहरुको चाहना फोहोरी चलचित्र होइन । यो कुरालाई ती निर्माता अनि निर्देशकले राम्ररी बुझेर आफ्नो सोचमा सुधार ल्याउनु पर्ने छ ।

विकास आचार्य
चलचित्र लेखक /निर्देशक

 

पैसा कमाउन यौनको व्यापार
चलचित्र समाजको दर्पण हो । तपाईंले चलचित्रको माध्यमबाट समाजलाई के दिने ? त्यो तपार्इं मेकरकै हातमा हुन्छ । पैसा कमाउने उद्देश्यले कहीं कतै तपाईहरु यौनको व्यापार गरिरहनु भएको त छैन ? एकपटक गहिरिएर चिन्तन गर्नुस् । तपाईंले निर्माण गरेको चलचित्र सबैभन्दा पहिले आफ्नो घर परिवारलाई देखाउनुस् । अनि बनाउनुस् यस्ता चलचित्रहरु । सोच्नुस्, कहीं कतै सामाजिक मर्यादा नाघिरहेका त छैनौं हामीले ? अश्लील चलचित्रको व्यापार रोकिनुपर्छ । हाम्रो नेपाली संस्कार र संस्कृति अत्यन्तै सुन्दर छ । स्वतन्त्रताका नाममा हाम्रो संस्कृतिमा आँच आउन हुदैन ।

नयनराज पाण्डे,साहित्यकार 

 

प्रस्तुति – सरिता लामिछाने

 

 

Logo