“भगवान्ले मलाई पालेको छ”

“भगवान्ले मलाई पालेको छ”

केन्द्रबिन्दु
0
Shares

श्याम रिमाल/काठमाडौँ, १७ साउन ।

मूर्तिकार रामकृष्ण भण्डारीले बूढानीलकण्ठको आठ वटा ढुङ्गाको मूर्ति बनाइसक्नुभएको छ । 

विसं २०५०–५१ मा पिता कुलमानसिंह भण्डारीसँग नारायणस्थान पुग्नुभएका रामकृष्णले १ देखि ३ फिटसम्मको बूढानीलकण्ठको मूर्ति बनाउनुभएको छ ।

“सुरुमा बुवाले मूर्तिको स्केच तयार गर्नुभयो, त्यसपछि बुवासँगै मूर्ति बनाउन शुरु गरेँ, अब त सजिलैसँग मूर्ति बनाउँछु”रामकृष्णले भन्नुभयो । 

काठमाडौँको उत्तरी भागमा शिवपुरीको फेदीमा बूढानीलकण्ठ नगरपालिकामा रहेको जलाशायी शेषनागका पाशमा रहेका बूढानीलकण्ठको मूर्ति शताब्दीको मानिन्छ । प्रस्तरमूर्तिको सो मूर्ति बाइस फिट लम्बा र १२ फिट चौडाको छ । नेपाली प्रस्तरमूर्तिमा यसभन्दा ठूलो अर्को मूर्ति छ्रैन ।

लिच्छविकालका राजा विष्णु गुप्ताले आफ्नो राज्यकालमा विसं ६९७ मा सो मूर्ति बनाएको बताइएको छ । प्रतापमल्लले हनुमानढोका र बालाजुमा पनि सो मूर्तिको प्रतिकृति बनाएका थिए । 

रामकृष्णले बनाएका मूर्ति नयाँ नैकाप भञ्जाङ, कीर्तिपुर ट्यांला फाँट शिवालय, नगाउँ, तीनथाना, रामेश्वर मन्दिर, ढुंगेअड्डा, चिरायु भण्डारी, तीनथाना, शिव राउत, तीनथाना, र तीर्थ प्रधान, टयांलाफाँटमा राखिएको छ भने एक मूर्ति उहाँको आफ्नै घरमा छ । 

शङ्ख,चक्र, गदा र पद्म९विगुतको डल्लो देखिने० सहितको सो मूर्ति बनाउन पहिले निकै समय लागे पनि पछि हात बस्दै गएपछि सजिलो भएको ५९ वर्षीय मूर्तिकार भण्डारी बताउनुहुन्छ । 

सो मूर्ति उहाँले रु १६ हजारदेखि ५० हजार पारिश्रमिक लिएर निर्माण गर्नुभएको हो ।

“ मलाई बूढानीलकण्ठ मूर्ति बनाउन अझै मन लागेको छ, अब सानो आकार बनाउँछु होला, मुड चल्यो भने बनाइहाल्छु ”, उहाँले भन्नुभयो । भर्खरै मनाइएका नागपञ्चमीका बेलामा पनि उहाँले ‘अर्डर’ आएबमोजिम नागका दुइटा बनाउनुभयो र बिक्री गर्नुभयो ।

कुलमानसिंह र रामकृष्ण मन्दिर गएका बेला मूर्तिमा टेकेर पुजारी र भक्तजन हिँडेकाले डोब देखिएकाले त्यसले मूर्तिलाई बिगारेको उहाँको भनाइ छ । अहिले टाढैबाट मूर्तिको दर्शन र पूजा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

“नागहरु सपनामा आउँथेँ, रुखका गुँडमा बसेका भङेरा र सारौँका बच्चा र अण्डा खान पनि सर्पहरु आउँथेँ, चराहरु कराएपछि सर्प आएको थाहा हुन्थ्यो,” उहाँले आफ्नो सर्पसम्बन्धी अनुभव सुनाउनुभयो । 

उहाँले बूढानीलकण्ठ स्थानमै केही समय बसोबास गरेका खप्तड स्वामीका पनि पाँच मूर्ति बनाउनुभएको छ । “नारायण र भगवतीको मूर्ति त मैले आजै बनाएँ” यही साउन १६ गते रासससँग कुरा गर्दै रामकृष्णले बताउनुभयो । हालसम्म राजनीतिक व्यक्तित्व र देवीदेवताका गरी हजारौँ मूर्ति बनाउनुभएका उहाँको जीविका तिनै मूर्ति बनाएर चलेको छ । 

“वास्तवमा म धार्मिक मान्छे होइन, तैपनि भगवान्ले नै मलाई पालेका छन्, यो मेरो जीवनको विरोधाभास पनि हो” कीर्तिपुर नगरपालिका–१०, चिठु निवासी मूर्तिकारले भन्नुभयो, घरखर्च नभएका बखत गणेशको मूर्ति बनाउँदा तुरुन्तै बिक्ने गरेको छ ।”

कीर्तिपुर बाघभैरव, उमामहेश्वर, चिलञ्चो विहार, ल्होँ देवल, गणेश मन्दिर, महाङ्काल, बुद्धका अवतार, चिठु बहिली, शङ्खधर साख्वा, चार शहीद९राराहिल०लगायत मन्दिर, विहार र शालिकको क्षेत्र पनि हो । त्यहाँ रहेका धेरै धार्मिक मूर्तिमा पनि उहाँको छिनो परेको छ । कलाकारलाई बाँच्न गाह्रो नभएको उहाँको ४० वर्षको पेशागत अनुभव छ । रासस 

Logo