युट्युबमा सबैभन्दा बढी हेरिने नेपाली गायिका

युट्युबमा सबैभन्दा बढी हेरिने नेपाली गायिका

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १७ साउन ।

“कुटुमा कुटु सुपारी दाना” बोलको गीतमा स्वर दिने गायिकाको नाम के हो ?
अर्को प्रश्न, ‘हाउ फन्नी’ फिल्मको “शिरैमा शिरबन्दी” बोलको गीत गाउने गायिका को हुन् ?

यी दुवै प्रश्नको एउटै जवाफ हो, मेलिना राई । उनले गाएका यी दुवै गीत युट्युबमा एक करोडभन्दा बढी पटक हेरिने भिडियोको सूचीमा छन् । हामीले समाचार तयार पार्दासम्म फिल्म दुई रुपियाँको ‘कुटुमा कुटु’ बोलको गीत १ करोड ३३ पटक हेरिएको छ । त्यसैगरी ‘शिरैमा शिरबन्दी’ गीतको भिडियो पनि १ करोड ५ लाखभन्दा बढी पटक हेरिसकिएको छ ।

मेलिनाले गाएका अधिकांश गीत रुचाइएका छन् । युट्युबमा २० लाख देखि ६० लाखसम्म हेरिएका उनका गीतको संख्या धेरै छन् । उनको लोकप्रियता बुझ्न यही तथ्यांक काफी छ ।

मेलिना राई उमेरले २४ वर्षकी भइन् । तर छोटो समयमै यी उदीयमान गायिकाले नेपालमा सफल गायिकाको पहिचान बनाएकी छिन् । उनी कन्सर्टका लागि जहाँ जान्छिन्, त्यहाँ उनको गीत सुन्न हजारौं दर्शक कुरेर बसेका हुन्छन् ।

‘नाई नभन्नु ल ३’ मा समावेश ‘कम्मरमाथि पटुकी’ बोलको गीतले मेलिनालाई एकाएक चर्चामा ल्याएको थियो । यो गीत जति सफल भयो, मेलिनाको चर्चा अनि तारिफ र प्रशंसा पनि उत्तिकै भयो । अहिले युट्युबमा १ करोड भ्युवर्स नजिक पुगेको छ । समाचार तयार पार्दासम्म ९५ लाख ८० भन्दा धेरै दर्शकले यो गीतको भिडियो हेरिसकेका छन् ।

राजनराज शिवाकोटी, मेलिना राई र राजन इन्सानको स्वर रहेको ‘२ रुपियाँ’ फिल्मको ‘कुटुमा कुटु’ बोलको गीत फिल्म रिलिजपूर्व नै भाइरल भइसकेको छ ।

मेलिनाको ‘तिमीले बाटो फे¥यौ अरे’ बोलको गीतको भिडियो स्टुडियोमै छायांकन गरिएको छ । यस गीतमा मेलिना आफैं देखिएकी छिन् । तर उनको लोकप्रियता र स्वरको जादुका कारण यो गीत पनि ६१ लाखभन्दा धेरैपटक हेरिसकिएको छ ।
उनका बाँकी गीतहरूलाई पनि दर्शकहरूले उत्तिकै मन पराएका छन् । युट्युबमा मेलिनाका गीतहरू सर्वाधिक हेरिने गीतमा पर्छन् ।

दार्जिलिङको खर्साङमा जन्मेकी मेलिनाको स्थायी घर भने नेपालकै मोरङ जिल्ला हो । उनी सानैदेखि काठमाडौंमा बस्दै आएकी छिन् । उनका बाबु संगीतका गुरु हुन् । त्यसैले मेलिनाले बाल्यकालबाटै सांगीतिक माहोलमा हुर्कने मौका पाइन् । सुरिलो स्वरसँगै आफ्नो आर्कषक अनुहारका कारण पनि यी गायिकाले धेरैको ध्यान आकृष्ट गरेकी छिन् ।

 

Logo