यस्ती थिइन् त्यसवेलाकी मनिषा

यस्ती थिइन् त्यसवेलाकी मनिषा

केन्द्रबिन्दु
0
Shares

आशिष अर्याल । ७ साउन, काठमाडौं ।

बैशालु उमेरमा मनिषा कोइरालाको जीवनशैली लोभलाग्दो थियो । सलमान खानदेखि आमिर खानसम्म, शाहरुखदेखि अनिल कपुरसम्मका एक से एक सुपरस्टारसँग स्क्रिन शेयर गरेकी उनी पछिल्लो समय ‘डियर माया’मा झुल्किइन् । त्यस्तै संजय दत्तको बहुचर्चित बायोपिकमा पनि उनी आमा बनेर देखा पर्दैछिन् । राजनकुमार हिरानीले निर्देशन गरिरहेको उक्त बायोपिकमा मनिषा सञ्जय दत्तकी आमा बन्नेछिन् । आखिर जे भएपनि बिवाह, सम्बन्ध बिच्छेद, क्यान्सर रोग जस्ता अप्रत्यासित परिघटनाबाट गुज्रदै आएकी मनिषाको फिल्मी जीवन पुन तङ्ग्रिएको छ ।

लामो बिश्रामपछि बलिउड फर्किएकी मनिषाको बर्तमान फिल्मका साथै धार्मिक अनुष्ठानमा वित्दो छ ।

मनिषा त्यस्ती नेपाली चेली हुन्, जसले बलिउड जस्तो विश्वकै ठूलो फिल्मी उद्योगमा आफ्नो दर्बिलो उपस्थिती जनाइन् । सौदागर, मन, अ लभ स्टोरी १९४२, दिल से, अग्नी साक्षी, अकेले हम अकेले तुम जस्ता सुपरहिट फिल्म दिएकी उनी ९० को दशकमा निकै चम्किएकी थिइन् । उनले पा“चवटा भाषाको लगभग ८० भन्दा बढी फिल्म खेलिन् ।

सानदार इन्ट्री
मनिषाको बलिउड करियर सन् १९९१ बट सुभाष घई निर्देशित फिल्म सौदागरबाट भएको हो । उनी त्यसबेलाका लिजेन्ड कलाकार राजकुमार–दिलीपकुमारसँग एकसाथ ठूलो पर्दामा देखिएकी थिइन् । यही फिल्म उनको सबैभन्दा ठूलो ब्लकबस्टर हिट फिल्म साबित भयो । करियरको पूर्वाद्ध सानदार रह्यो । उनी रातारात हिट भए ।

वास्तवमा अन्य बलिउड समकक्षी जस्तै फिल्मी पृष्टभूमी थिएन उनको । गैर फिल्मी पृष्टभूमीबाट आएपनि उनले आफ्नो अभिनय क्षमताको कारण हिन्दी सिनेमामा सर्बश्रेष्ठ अभिनेत्रीमा आफ्नो नाम दर्ता गरिन् । सन् १९९६ मा पार्थो घोष निर्देशित फिल्म अग्नि साक्षी र निर्देशक संजय लीला भन्सालीको फिल्म खामोशीले मनिषालाई बलिउड उद्योगको टप लिडिङ हिरोइन बनाइदियो ।

दुबै फिल्ममा उनलाई भिन्न भिन्नै रुपमा देख्न सकिन्थ्यो । अग्नी साक्षीमा मनिषाले एक रोगी पतिको ख्याल गर्ने पतिव्रता पत्नीको भूमिका निर्वाह गरिन् । त्यसैगरी खामोशीमा आवाजविहिन आमाबुवाकोख्याल राख्ने प्यारी छोरीको रुपमा देखिइन् । दुबै फिल्ममा उनले निर्वाह गरेको शसक्त भूमिकाले आलोचकलाई जिब्रो टोक्न बाध्य तुल्यायो ।
सन् १९९७ मा मनिषा बबी देओल र काजोलको अपोजिट फिल्म गुप्त द हिडन ट्रुथमा देखिएकी थईन् । यो पनि ब्लकबस्टर साबित भयो । त्यहीबर्ष मणि रत्नम निर्देशित फिल्म दिल सेमा उनले शाहरुख खानस“ग स्क्रिन सेयर गरिन् । यस फिल्मबाट उनले समालोचकको राम्रो तारिफ बटुलिन् । साथै फिल्म फेयर बेस्ट एक्ट्रेसको अवार्ड समेत हात पारिन् ।

त्यसपछि उनी अजय देवगन स्टारर फिल्म कच्चे धागेमा देखिइन् । अर्को फिल्म मनमा उनले आमिर खानस“ग स्क्रिन शेयर गरिन् । यो फिल्मले उनको करियरलाई थप उचाईमा पुर्यायो । त्यस बर्षको सर्वाधिक हिट फिल्ममा दरियो, मन ।

२००० मा उनी मल्टीस्टारर फिल्म लज्जामा देखिइन् । २००२ मा अजय देवगनस“ग कम्पनी फिल्म खेलिन् । यस फिल्मको लागि उनले तेस्रो फिल्म फेयर क्रिटिक्स अवार्ड पाइन् ।
२००३ मा उनी कम बजेटको फिल्ममा देखिइन् । यही बर्ष केन्द्रित फिल्म इस्केप फ्रम तालिबानमा अभिनय गर्न पुगिन् । त्यस फिल्मका लागि उनलाई बंगाल फिल्म जर्नालिस्ट एसोसिएशन अवार्डबाट सम्मानित गरियो ।

पछि मार्केट नामको फिल्म खेलिन् । त्यसबाट पनि उनले राम्रो प्रतिक्रिया पाइन् । फिल्मले बक्स अफिसमा राम्रो कारोबार गर्यो ।

को–कोसँग जोडियो मनिषाको नाम ?
९० को दशकमा मनिषाको चमकदमक बेग्लै थियो । त्यहीताका हो, उनको अफेयरको एकपछि अर्को चर्चा चलेको पनि । सुरुमा उनी विवेक मुश्रानसँग नजिकिएकी थिइन् । विवेकले मनिषासँगै सौदागरमा अभिनय गरेका थिए । तर, उनीहरुको सम्बन्ध लामो समय रहेन । त्यसपछि उनी अष्ट्रेलियन राजदुत क्रिप्सिन कोनोरीस“ग अफेयरमा रहिन् । उनीहरुबीच इंगेजमेन्ट समेत भएको थियो, २००२ मा । तर, पछि मनिषाले उनलाई बाइबाई गरिन् ।

त्यसपछि मनिषा अभिनेता नाना पाटेकरसँग जोडिइन् । अग्नी साक्षीमा मनिषाले उनैसँग स्क्रिन शेयर गरेकी थिइन् । तर, बिवाहित नाना पाटेकरस“गको सम्बन्धले पनि राम्ररी बिट मार्न पाएन । उनीहरु छुटिए । अब मनिषाको नाम हुशेनसँग जोडियो । उनीहरुको रहस्यमय सम्बन्ध पनि अन्ततः पूर्ण विराम लाग्यो ।

सन् २००३ मा लन्डन गएकी मनिषा त्यही नै नाइजेरियन व्यापारी सेसिलसँग नजिकिइन् । उनलाई भेट्नकै लागि मनिषा लन्डन पुग्थिन् । त्यसपछि मनिषा अर्यान भाइदस“ग जोडिन आइपुगिन् । त्यस्तै प्रशान्तसँग पनि उनको नाम जोडियो । त्यसो त सन् २००७ मा उनको संगित निर्देशन सन्दीप चोट्वास“ग अफेयर रहेको पनि चर्चा थियो । त्यसपछि उनी लेखक तथा खेल परामर्शदाता क्रिष्टोफरस“ग रोमान्स गर्न आइपुगिन् । तर, यी कुनैपनि सम्बन्धको ह्याप्पी इन्डिङ हुन पाएन ।

मनिषाको हेल्थ टिप्स
अनेक उतार–चढावबीच आफ्नो करियरलाई सन्तुलित ढंगले अवतरण गर्ने प्रयासमा रहेकी मनिषा कहिले हेल्थ टिप्स बाढिरहेकी हुन्छिन्, कहिले गेरुबस्त्र धारण गरेर धार्मिक अनुष्ठानमा सहभागी हुन्छिन् । खासगरी क्यान्सरको उपचारपछि तङ्ग्रिएकी उनी अरुलाई पनि स्वास्थ्यप्रति सचेत रहन सर्तक गराउ“छिन् । उनले अहिले आफ्नो स्वास्थ्यलाई नै प्राथमिकतामा राखेको बताउ“छिन् । त्यस्तै, आध्यात्मिक झुकाव पनि बढेको छ । उनी पाइलट बाबाको आश्रममा पुग्ने गरेकी छिन्, पटक–पटक । उनलाई पाटेघरको क्यान्सर भएको थियो, सन् २०१२ मा ।

 

Logo