यी बलिउडकर्मी जसको जीवन बेहाल बन्यो

यी बलिउडकर्मी जसको जीवन बेहाल बन्यो

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । १ साउन, काठमाडौं ।

इमरान हाशमीसँग काम गरिसकेकी अभिनेत्री अलीशा खानलाई केही महिनाअघि दिल्लीको ग्रेटर कैलाशको सडकमा यताउता गरिरहेको भेटियो । ‘नेम र फेम’ कमाइसकेपछि पनि सडकमा ओर्लने उनी एक्ली अभिनेत्री होइनन् । यस्ता केही बलिउडकर्मी छन्, जो आफ्नो समयमा चर्चित थिए र उनीहरूसँग सबैथोक थियो ।
तर समयले यसरी कोल्टे फेर्यो जसले गर्दा कोही फुटपाथमा पुगे त कोही पागलखाना । त्यति मात्र कहाँ हो र ? कति त यस्तो बिजोग अवस्थामा भेटिए जसलाई सामान्य मानिसले पहिचानसमेत गर्न सकेनन् ।

जगदीश माली

अन्तरा मालीका पिता तथा चर्चित फोटोग्राफर जगदीश माली मुम्बईको सडकमा भिख मागिरहेको अवस्थामा भेटिए । त्यहीबेला मिंक बरार नामकी मोडलले उनलाई चिनिन् । खाना दिइन् र सलमान खानको कारमा चढाएर घरमा पुर्याइदिइन् । जगदीश मानसिक रूपमा विचलित जस्ता देखिन्थे । उनले पुरानो र फाटेको लुगा लगाएका थिए । १३ मे २०१३ मा उनको मृत्यु भयो ।

गीतान्जली नागपाल
नामी मोडल थिइन्, गीतान्जली । उनले केही डिजाइनरका लागि र्याम्पमा उत्रिएकी थिइन् । तर, तिनै मोडल २००७ मा भिख मागिरहेको अवस्थामा फेला परिन् । उनलाई साउथ दिल्लीको एउटा बजारमा भिख माग्दै गरेको अवस्थामा भेटिएको थियो । उनी त्यसबेला लागुऔषधको नशामा फँसिसकेकी थिइन् । त्यसैका लागि आवश्यक खर्च जुटाउन उनी सडकमा नाङगो हात थापेर भिख माग्ने गर्थिन् । सुस्मिता सेन जस्ता हस्तीसँग क्याट वाक गरिसकेकी उनी अर्काको घरमा नोकर समेत बसेकी थिइन् ।

मिताली शर्मा
मिताली शर्मा भोजपुरी फिल्मकी नायिका हुन् । यिनै नायिकालाई मुम्बई प्रहरीले चोरी गरिरहेको अवस्थामा पक्राउ गरेको थियो । उनी घरबार त्यागेर करियर बनाउनका लागि मुम्बई गएकी थिइन् । केही फिल्ममा काम पनि गरिन् । यद्यपि पछिल्लो धेरै समय उनी कामविहीन भइन् । त्यही कारण उनी डिप्रेसनको सिकार समेत भइन् । पछि उनलाई चोरी गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गर्यो, त्यसबेला उनी केही दिनअघिदेखि भोकै थिइन् ।

परवीन बबी
‘दीवार’, ‘नमकहलाल’, ‘अमर अकबर एन्थोनी’ र ‘शान’ जस्ता सुपरहिट फिल्ममा काम गरेकी परवीन बबीलाई उनको अपार्टमेन्टमा मृत अवस्थामा भेटिएको थियो । २२ जनवरी २००५ मा मृत भेटिएकी उनी मुम्बईमा नितान्त एक्लो जीवन बिताइरहेकी थिइन् । उनी डिप्रेसनले ग्रस्त थिइन् । कसैसँग भेटघाट गर्दैनथिइन् । अचानक गायब भएकी उनी एकैचोटी मृत अवस्थामा फेला परेकी थिइन् ।

भारत भूषण
सन् १९४० को दशकका सबैभन्दा ठूला स्टारमा एक थिए, भारत भूषण । तर, उनले जीवनको उत्तराद्र्धमा एकदमै दुःखलाग्दा दिनहरू गुजारे । खासगरी धार्मिक फिल्मबाट चम्किएका उनको अभिनेत्री मीना कुमारीसँग अफेयरमा रहेपछि ओरालो यात्रा सुरु भयो । अन्ततः उनलाई फिल्मको अफर आउनै छाड्यो । उनीसँग जीवन गुजाराका लागि पैसा नै भएन । आखिरमा उनले एक फिल्म स्टुडियोमा वाचम्यानका रूपमा काम गरे । उनको मृत्यु १९९२ मा एक भाडाको कोठामा भयो ।

ए.के.हंगल
बलिउड फिल्ममा चरित्र अभिनेताका रूपमा ख्याति कमाएका ए.के.हंगलले ९२ वर्षको उमेरमा सबैलाई अलविदा भनेका हुन् । निकै चर्चित फिल्महरूमा काम गरिसकेका उनले जीवनका आखिरी दिनहरू अत्यन्त कष्टपूर्वक गुजारे । उनीसँग उपचार गर्नेसम्म पैसा थिएन । यस्तो खबर आएपछि अमिताभ बच्चनले सहयोगका लागि २० लाख रुपैयाँ दिने बताएका थिए ।

अचला सचदेव
कुनै बेला अचला सचदेवलाई देखेर बलराज साहनीले बहुचर्चित फिल्म ‘वक्त’का लागि एउटा गीत गाएका थिए । तर अचलाको जीवन निकै दुःखदायी रह्यो । जीवनका अन्तिम क्षणमा उनी एकदमै बेसहारा थिइन् । समकक्षी बलिउडकर्मीले मात्र होइन, अमेरिकामा भएका छोरा र मुम्बईमा बस्ने छोरीले समेत उनको खोज खबर गरेनन् । अन्तिम समयमा उनलाई ‘जनसेवा फाउन्डेसन’ले आफ्नो गेस्ट हाउसमा लगरे स्याहार–सुसार ग¥यो जबकि कुनै बेला अचलाले तिनै फाउन्डेनलाई लाखौं रुपैयाँ डोनेसन दिएकी थिइन् ।

भगवान दादा
भगवान दादा अभिनेता र फिल्म निर्देशक थिए । उनी आफ्नो कमेडी फिल्म ‘अलबेला’का लागि बढी चिनिन्छन् । हिन्दी फिल्ममा नृत्यको एक विशेष शैली सुरु गर्ने उनीबाट अमिताभ बच्चनसमेत प्रभावित थिए । यद्यपि पछि उनी आर्थिक रूपले टाट पल्टिँदै गए । गुजाराका लागि फिल्ममा सानोतिनो रोल समेत गर्न राजी भए । उनका निकट मित्रहरू पनि टाढिए । २००२ फेब्रुअरी ३ मा उनको दुःखद मृत्यु भयो ।

राज किरण
राज किरण राम्रा अभिनेता थिए । ‘अर्थ’ फिल्ममा काम गरिसकेका उनी अमेरिकाको एटलान्टास्थित एक पागलखानामा भेटिए । दुःखको क्षणमा उनलाई परिवारले त्यागे । साथीभाइले ‘मृत्यु भएको’ अफवाह फैलाए । सुभाष घईको फिल्म ‘कर्ज’मा एकसाथ काम गरेका ऋषि कपूरले यो कुरालाई पत्याएनन् र राजलाई खोज्न अमेरिका पुगेका थिए ।

सतीश कौल
पन्जाबी सिनेमामा ‘अमिताभ बच्चन’को नामले पुकारिने सतीश कौलले जीवनका आखिरी दिनहरू कष्टसाथ बिताए । उनी डिप्रेसनका रोगी थिए । कसैले उनलाई अस्पतालमा भर्ना गरिदिएका थिए । त्यसबेला पनि उनलाई भेट्न न परिवार पुगे, न उनका साथीभाइ नै ।

 

Logo