दौडेर मनाइयो भानुजयन्ती (भिडियो सहित)

दौडेर मनाइयो भानुजयन्ती (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । २९ असार, काठमाडौं ।

भानुजयन्तीकै अवसरमा बुधबार (२८ असार) साहित्यिक दौड सम्पन्न गरिएको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको घर लैनचौर काठमाडौँबाट वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको घर बखुंबहाल, ललितपुरसम्म दौड गरिएको हो । साहित्यकार लक्ष्मण सापकोटा ‘रामायण’ बोकेर भानुको पहिरनमा दौडिएका थिए । उनको दौडलाई सडकमा मजा मानेर हेरिएको थियो ।

‘अध्यात्म रामायण’लाई नेपाली भाषामा भावानुवाद गरी भानुले नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियतामा योगदान पु¥याएका थिए । भानु प्रतिष्ठानलगायत विभिन्न साहित्यिक संघ–संस्थाले आयार्यको २०४ औँ जन्मजयन्ती आज मनाउँदै छन् ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मेका आचार्यले पृथ्वीनारायण शाहले नेपालको भूगोललाई एकताबद्ध गरेपछि ‘रामायण’ मार्फत नेपालीबीचको भावनात्मक एकतालाई जोड्ने काम गरेका थिए । भानुभक्तले नेपाली भाषामा भावानुवाद गरेको ‘रामायण’ नेपालका विभिन्न जातजातिले घर घरमा लय हालेर पढ्न थालेका थिए । पिता धनञ्जय र माता धर्मावतीदेवीबाट जन्मेका आचार्यका ‘प्रश्नोत्तर’ ‘भक्तमाला’ ‘वधूशिक्षा’ ‘रामगीता’ तथा दर्जनौँ फुटकरलगायत साहित्यिक कृति प्रकाशित छन् ।
‘प्रश्नोत्तर’ कृतिमा मानिसलाई नैतिक र व्यावहारिक बन्ने उपदेश दिइएको छ भने ‘वधूशिक्षा’मा छोरी र बुहारीलाई अर्तीउपदेश दिइएको छ । उहाँका फुटकर कवितामा कान्तिपुर र प्रकृतिको वर्णन, ढिलो प्रशासनतन्त्रलाई व्यङ्ग्य गरिनाका साथै समाजका यथार्थपरक घटना र परिवेशलाई चित्रण गरिएको छ ।

भारतको दार्जिलिङमा पनि हरेक वर्ष भानुजयन्ती भव्य रुपमा मनाउने गरिन्छ । आदिकविको निधन विसं १९२३ असोज ६ गते भएको थियो । स्रोत – रासस

 

Logo