एकतर्फी प्रेममा परेका बलिउड सेलिब्रेटी

एकतर्फी प्रेममा परेका बलिउड सेलिब्रेटी

केन्द्रबिन्दु
0
Shares

प्रेम दोहोरो हुन्छ । र, हुनु पनि पर्छ । प्रेम एकतर्फी भयो भने त्यसको सन्तुलन बिग्रन्छ । यस्तो प्रेमको नतिजा निराशजनक निस्कने सम्भावना धेरै रहन्छ । प्रसंग त्यस्तै प्रेम कथाहरूको हो, जो दुःखान्त मोडमा टुंगिन पुगे । आउनुस् जानीराखौँ, बलिउड सेलिब्रेटीका एकतर्फी प्रेम र त्यसको परिणति कस्तो थियो ?

राजकुमार सन्तोषी र मीनाक्षी शेषाद्री
एक समयकी बहुचर्चित अभिनेत्री मीनाक्षी शेषाद्रीको नाम फिल्म–निर्माता राजकुमार सन्तोषीसँग जोडिएको थियो । भनिन्छ, सन्तोषीका धेरैजसो फिल्ममा मीनाक्षी नै हुन्थिन् । पछि यसको राज त्यतिबेला खुल्यो जब सन्तोषीले मीनाक्षीलाई प्रेम गर्ने खुलासा गरे । तर, मीनाक्षीले उनको प्रस्तावलाई स्वीकार गरिनन् । सँगसँगै सिल्भर स्क्रिनबाट बिदा पनि लिइन् । पछि उनले एकजना बैंकरसँग विवाह गरिन् ।

 

सुलक्षणा पण्डित र सञ्जीव कुमार
सुलक्षणा पण्डितले सञ्जीव कुमारलाई मन पराउँथिन्, प्रेम गर्थिन् । तर, यो एकतर्फी प्रेम थियो । उनले सञ्जीव समक्ष आफ्नो प्रेम दर्शाएकी पनि थिइन् । र, विवाहका लागि राजी गराउने प्रयाससमेत गरेकी थिइन् । तर सञ्जीवले उनको प्रस्ताव अस्वीकार गरे जसको केही समयपछि सुलक्षणा डिप्रेसनग्रस्त भइन् । ४७ वर्षको उमेरमा सञ्जीवको मृत्यु भयो । यसले गर्दा सुलक्षणालाई थप चोट प¥यो । उनी पागल भइन् । सुलक्षणाले फिल्ममा गाउनुका साथै अभिनय पनि गरेकी थिइन् । हालै उनकी बहिनीले एक अन्र्तवार्तामा भनेअनुसार सुलक्षणा अहिले ठीक भैसकेकी छिन् । उनले सात समुन्दर पार से…, छुपा छुपी खेँले आओ…, मौसम मौसम… जस्ता गीत गाएकी थिइन् ।

करण जौहर र ट्वीङकल खन्ना
फिल्म मेकर करण जौहर आफ्ना फिल्महरूमा प्रेम रोमान्सकै बढी बखान गर्छन् । तर, उनी वास्तविक जीवनमा प्रेममा कमजोर छन् । उनीसँग अहिले दुई सन्तान छन् । तर, उनकी श्रीमती छैनन् । सेरोगेसी (भाडाको कोख) बाट उनले दुई बच्चा जन्माएका हुन् । भनिहालौँ, करण ट्वीङकल खन्नासँग प्रेम गर्थे । तर, यो एकतर्फी प्रेम थियो । आफ्नो जमनाका सुपरस्टार राजेश खन्नाकी छोरी ट्वीङकललाई करण किशोरवयमै मन पराउँथे ।

 

रामगोपाल वर्मा र उर्मिला मातोन्डकर
बी–टाउन अर्थात् बलिउडमा रामगोपाल र उर्मिलाबीच अफेयरको खबर निकै फैलियो । रामगोपाल आफ्ना फिल्ममा उर्मिलालाई मात्र अभिनेत्री बनाउँथे । एकपटक त उनले उर्मिलाकै लागि माधुरी दीक्षितलाई फिल्मबाट आउट गरे । कारण पछि खुल्यो– उनले उर्मिलालाई मन पराउँदा रहेछन् । त्यही भएको हुँदा उनी उर्मिलालाई मात्र आफ्ना फिल्मका लागि साइन गर्थे । जब उनले उर्मिलालाई प्रेम प्रस्ताव राखे, उर्मिलाले सोझै अस्वीकार गरिदिइन् । त्यसपछि उनले उर्मिलासँग उनले फिल्ममा सँगै काम गर्न छाडेका थिए ।

सञ्जीव कुमार र हेमा मालिनी
सञ्जीव कुमार हेमा मालिनीलाई प्रेम गर्थे । उनले हेमाको घरमा बिहेको प्रस्ताव पनि राखे । तर, हेमाले यो प्रस्ताव अस्वीकार गरिन् । पछि उनले धर्मेन्द्रसँग विवाह गरिन् । सञ्जीव कुमारको यो एकतर्फी प्रेम थियो । हेमाले अस्वीकार गरेपछि सञ्जीव यति दुःखी भए, उनले जीवनभर बिहे नगर्ने फैसला नै गरे । पछि सुलक्षणा पण्डितले सञ्जीवसँग प्रेम गरिन् । तर, सञ्जीव कुमारको दिल–दिमाग हेमा मालिनीमै अल्झिएको थियो । उनले आफ्नो पीडा भुल्न मदिराको साहारा लिए । त्यसैले उनको ज्यान लियो ।

गुरुदत्त र वहीदा रहमान
क्लासिक निर्देशक गुरुदत्त आफ्नो समयकी सुन्दरी अभिनेत्री वहीदा रहमानलाई प्रेम गर्थे, एकतर्फी । वहीदाले कहिले पनि गुरुदत्तको प्रेमलाई स्वीकार गरिनन् । यसै कारणले गर्दा गुरुदत्तले मदिरा पिउन थाले । अन्ततः उनले आत्महत्या नै गरे । हुन त उनले त्यसअघि अर्की अभिनेत्री गीतादत्तसँग बिहे गरेका थिए । तर, त्यो सम्बन्ध त्यति न्यानो हुन सकेन ।

दिलीपकुमार र मधुवाला
बलिउडमा आजसम्म सुन्दरता र अभिनयका सम्बन्धमा तारिफ हुन्छ, मधुवालाको । त्यसैगरी अभिनय तर्फ दिलीपकुमारलाई समेत उत्तिकै संझिने गरिन्छ । यी दुई चर्चित जोडीले सँगसँगै केही फिल्ममा अभिनय समेत गरेका छन् । हो, यी दुईले भिन्न कालखण्डमा एकअर्कालाई प्रेम गर्थे । सन् १९६० मा किशोरकुमारसँग मधुवालाको विवाह हुनुअघि दिलीपकुमारलाई उनी प्रेम गर्थिन । विवाहपछि भने किशोरकुमारले उनलाई प्रेम गर्न थाले । मधुवालाको मृत्युपछि अदालतमा गएर रुदै ‘म मधुवालालाई प्रेम गर्छु’ भनेर उनले कराएपछि दुईको एकतर्फी प्रेम सार्वजनिक भएको थियो ।

 

Logo