संसारकै हाइयेस्ट–पेड नायिका घरजग्गा कारोबारमा

संसारकै हाइयेस्ट–पेड नायिका घरजग्गा कारोबारमा

केन्द्रबिन्दु
0
Shares

जेनिफर लरेन्स पारिश्रमिकको मामिलामा पछिल्ला दुई वर्षदेखि संसारमै सबैभन्दा बढी रकम पाउने अभिनेत्री हुन् । तर उनी अझै पनि घरजग्गा बिक्री कारोबार (रियल इस्टेट बिजनेस) मा रमाइरहेकी छन् ।

फोब्र्स पत्रिकाले जनाएअनुसार, ‘हङ्गर गेम्स’ फिल्मकी यी नायिकाले १ जुन २०१६ यता शुल्क र करको रूपमा ४ करोड ६० लाख डलर आमदानी गरेकी छन् । उनले हालै मात्र क्यालिफोर्नियास्थित सान्ता मोनिकामा रहेको आफ्नो कन्डोमिनियन घर बेचिन् जसबाट उनलाई कम्तीमा २ लाख ८० हजार डलर खुद नाफा भएको छ ।

उक्त घर गत महिना मात्र ११ लाख ५ ० हजार डलरमा बिक्री भएको थियो । नायिका जेनिफर लरेन्सले दुई बेडरुम र दुई बाथरुमसहितको यो टाउनहाउस घर सन् २००६ मा ८ लाख ७९ हजार डलरमा किनेकी थिइन् ।

जेनिफरले यो घर सन् २०१२ मा रोमान्टिक कमेडी फिल्म ‘सिल्भर लाइनिङ्स प्लेबुक’ मा अभिनयका लागि ओस्कार पुरस्कार पाउनुभन्दा धेरै वर्षपहिले नै किनेकी थिइन् ।
तर यी २६ वर्षीया अभिनेत्री जेनिफर लरेन्स आफूले किनेको १ हजार ४ सय १३ वर्गफुट क्षेत्रफल ओगटेको त्यस घरमा पछिल्लोपटक कहिले बसेकी थिइन् भन्ने कुराचाहिँ स्पष्ट छैन ।

उनी अहिले बसोबास गरिरहेको घर भने उनको उदाउँदो करिअरका लागि बढी उपयुक्त देखिन्छ । सन् २०१४ मा यी अभिनेत्रीले बेभर्ली हिल्स क्षेत्रमा ५ हजार ५ सय ५० वर्गफुट ओगटेको पाँच बेडरुम, एक जिम, एक गर्मेट किचेन र स्विमिङ पुलसहितको घर ७० लाख डलरमा किनेकी थिइन् ।

अब भने सुश्री लरेन्स संसारकै महँगो मानिने आवासीय क्षेत्र म्यानहटनमा घरजग्गा जोड्ने ध्याउन्नामा छन् । न्युयोर्क पोस्ट पत्रिकाले जनाएअनुसार, उनले हालै ट्राइबेका क्षेत्रमा डुप्लेक्स पेन्थाउस भवन हेरेकी थिइन् । प्रारम्भिक मूल्य १ करोड ७० लाख ४९ हजार डलर भनिएको यो घर किनेमा यी अभिनेत्रीको यो अहिलेसम्मको सबैभन्दा महँगो घरजग्गा कारोबार हुनेछ । (एजेन्सी)

 

Logo