संगीतको कुनै सीमा हुँदैन : कैलाश खेर

संगीतको कुनै सीमा हुँदैन : कैलाश खेर

केन्द्रबिन्दु
0
Shares

भारतका लोकप्रिय सुफी गायक कैलाश खेरले तीन वर्षअघि पाकिस्तान भ्रमण गर्दाको रोचक अनुभूति ‘द हिन्दू’ मा यसरी साटेका छन् । भारत र पाकिस्तानका जनताबीच एकताको भावना विकसित गर्न संगीत सबैभन्दा महत्वपूर्ण माध्यम साबित हुनसक्छ । मैले बागा बोर्डर हुँदै पाकिस्तानी भूमिमा पाइला राखें । त्यहाँ पुग्दा मलाई यो कहिल्यै अनुभव भएन– यो मेरो आफ्नो नभएर छिमेकी देशको सीमा हो । त्यहाँ हामीलाई धेरै माया र सम्मान दिइयो । सञ्चारमाध्यमले प्रस्तुत गरेभन्दा धेरै पृथक रहेछ पाकिस्तान । म छक्क परेर आफ्ना समर्थकहरूलाई हेर्दै थिएँ । एकै छिनमा ठुलो भीड जम्मा भइसकेको थियो । उनीहरू ‘अल्लाह के बन्दे…’ र ‘बाबम बबम…’ जस्ता मेरा गीत चर्को स्वरमा गाइरहेका थिए । त्यति नै बेला पाकिस्तानी सुरक्षकर्मीले ‘संगीतको कुनै सीमा हुँदैन’ भने । मैले त्यहाँ राम्रो सम्मान पाएँ । हानस फाउन्डेसनको वार्षिकोत्सव मनाउन म त्यहाँ पुगेको थिएँ । मैले नयाँ दिल्लीमा मेरो कन्सर्ट हेर्न आउन उपस्थितहरूसँग आग्रह गरेँ । लामो समयदेखि मेरो प्रतीक्षामा बसेका समर्थकहरूले प्रत्येक सेकेन्डलाई महत्वका साथ हेरेका थिए । दुई देशबीच संस्कृति आदान–प्रदान गर्न संगीतले कति महत्वपूर्ण भूमिका खेल्छ भन्ने बुझ्न मलाई धेरै समय लागेन । जहाँ संगीत जोडिएको हुन्छ, त्यहाँ कुनै समस्या हुँदैन । जहाँ कला, संस्कृति र शिक्षा जोडिएको हुन्छ त्यहाँ कुनै समस्या हुँदैन । पाकिस्तान र भारत दुवैले संस्कृति जर्गेनाका लागि आपसमा सहकार्य गरेर अघि बढ्नुपर्ने हुन्छ । संगीतले मानिसहरूलाई एक हुन/बनाउन ठुलो सहयोग गर्छ । संगीतमा त्यो जादू हुन्छ जसले मानिसको आत्मालाई आत्मासँग जोड्न सक्छ । यसले प्रकृतिको झलक दिन्छ । मानवीयताका लागि संगीत अक्सिजन हो । यसले सानो चित्त र सोचलाई हटाउँदै मानिसको सोच्ने शक्ति बढाउँछ । पाकिस्तानी कलाकारहरू पनि भारतमा आउँछन् । केही संस्थाहरूले पाकिस्तानी कलाकारलाई ल्याउन हुन्न भन्ने तर्कसमेत राख्ने गरेका छन् । तर मलाई लाग्छ, हामी संगीतको सवालमा सधैँ सकारात्मक हुनुपर्छ किनभने संगीतको कुनै सीमा हुँदैन ।

Logo