बहिष्कारमा समेत हिट जोडी, दीपक–दीपा !

बहिष्कारमा समेत हिट जोडी, दीपक–दीपा !

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । ४ असार २०७४, काठमाडौं ।

अभिनेता दीपकराज गिरी र अभिनेत्री दीपाश्री निरौला नेपाली सिल्भर स्क्रिनका हिट जोडी हुन् । हास्य सिरियलहरूबाट अगाडि बढेको उनीहरूको यात्रा अचेल त सबैतिर हिट– अभिनयमा हिट । निर्माणमा हिट । निर्देशनमा हिट । धेरै विषयमा हिटै हिट । हुँदा–हुँदा उनीहरूको हिटमा अब अर्को विषय थपिएको छ, बहिष्कारमा पनि हिट ! हो, उनीहरू आफूले भनेजस्तो भएन भने तत्काल कार्यक्रम बहिष्कार गरिहाल्छन् ।

सेलुलोइड क्षेत्रमा अतुलनीय हाइट लिइसक्दा समेत आफूहरूलाई उचित रूपमा कसैले नगनेको उनीहरूको पीडा झल्किन्छ जहीँतहीँ । ‘धैर्यता गर्ने, पर्खिने त स्थापित हुन बाँकी भएकाले गर्ने हो, हामी जस्तो हिट जोडीले होइन’ भन्ने किसिमको भनाइ पनि उनीहरूको व्यवहारले प्रदर्शन गरिरहेको हुन्छ ।

‘अवार्ड कार्यक्रममा बोलाएर कसैले वास्ता नगरेको, ताली बजाउन मात्र बोलाएको, कार्यक्रममा आफूहरूलाई फिल्म ‘छक्का पञ्जा’ का लागि अवार्ड दिन ढिला गरेको’ जस्ता आरोप उनीहरूले सार्वजनिक गरिसकेका छन् ।

शनिबार ३ गते पानी पर्न नसकेको एक असारे साँझमा सम्पन्न एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार कार्यक्रममा यो जोडीले यिनै आरोपको पुनःपुष्टि गर्यो, बीचैमा कार्यक्रम छोडी हिँडेर ! त्यो पनि आक्रोशित मुद्रामा आयोजकलाई गाली गर्दै !

रोचक पक्ष त के रह्यो भने उनीहरूले अवार्ड बहिष्कार गरेर हिँड्ने बित्तिकै भटाभट पुरस्कारको घोषणा भयो र उनीहरूलाई फिल्म ‘छक्का पञ्जा’को निर्देशन र उत्कृष्ट फिल्मका लागि मञ्चमा बोलाइयो । तर उनीहरू त्यहाँ थिएनन् । हलमा सन्नाटा छायो । प्रकाश उत्कृष्ट निर्देशकको अवार्ड दीपाश्री निरौला ‘छक्का पञ्जा’ र कुसुमे रुमाल सवोतर््कृष्ट फिल्मको अवार्ड उनीहरूकै नाममा थिए । तर ती अवार्ड अरूले नै ग्रहण गरिदिनु पर्यो ।

अवार्डका मुख्य विधाहरू कार्यक्रमको अन्त्य–अन्त्यतिर मात्र घोषणा गरिने संसारभरिकै चलन हो । के दीपक–दीपालाई यति पनि जानकारी थिएन त ? त्यसो भए किन हतार गरेका थिए, अवार्ड लिन ? के उत्कृष्ट फिल्म र निर्देशनको अवार्ड उनीहरूलाई सुरुमा नै दिएर विदा गरिनु पर्थ्यो ? यी प्रश्नको जवाफ यो जोडीले दिंदै गर्ला । तर उनीहरूले अवार्ड बहिष्कार गरेको यो पहिलोपटक चाहिँ होइन ।

यसअघि दीपक–दीपाले तीनवटा अवार्ड कार्यक्रम विभिन्न बहानामा बहिष्कार गरिसकेका छन् । सबैभन्दा लज्जाजनक बहिष्कार त उनीहरूले भारत, सिक्किममा सम्पन्न ‘इनास अवार्ड’मा गरेका थिए । त्यसबेला इनास अवार्डको कार्यक्रम लामो गर्न लागेको आरोप लगाउँदै उनीहरूले बहिष्कार गरेका थिए । अवार्ड बहिष्कार गरेर उनीहरू क्यासिनो खेल्न गएको आरोप लाग्दै आएको छ ।

अझै कति अवार्ड कार्यक्रम बहिष्कार गरेर उनीहरूले कीर्तिमान राख्दै जाने हुन् ? त्यो चाहिँ आउँदा दिनहरूले बताउँदै जालान् । तर उनीहरूले जसरी आफूहरूलाई ‘बहिष्कारको हिट जोडी’का रूपमा स्थापित गर्दै लगिरहेका छन्, त्यसले उनीहरूको धेरै दुःखले आर्ज्याको छवि कस्तो हुँदै जाने हो ? सोच्नुपर्ने ‘तम्रा’ले नै हो ।

छक्का पञ्जाले पाएका ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार २०७३’

– ‘हिरा’ सर्वोत्कृष्ट चलचित्र, राष्ट्रिय चलचित्र पुरस्कार
आमा सरस्वति गीता देवी फिल्म्स प्रा. ली. – छक्का पन्जा

– ‘कुसुमेरुमाल’ सर्वोत्कृष्ट ब्यवसायिक, राष्ट्रिय चलचित्र पुरस्कार
आमा सरस्वति गीता देवी फिल्म्स प्रा. ली. – छक्का पन्जा

– ‘प्रकाश’ सर्वोत्कृष्ट निर्देशक, राष्ट्रिय चलचित्र पुरस्कार
दिपाश्री निरौला – छक्का पन्जा
– ‘भुवन’ सर्वोत्कृष्ट अभिनेत्री, राष्ट्रिय चलचित्र पुरस्कार
प्रियंका कार्की – छक्का पन्जा
– ‘गोपालराज’ सर्वोत्कृष्ट हास्यकलाकार राष्ट्रिय चलचित्र पुरस्कार
केदार घिमिरे – छक्का पन्जा

Logo