प्रधानमन्त्री ज्यू, ‘तिमी’ प्रति कत्रो झ्वाँक ? (भिडियो सहित)

प्रधानमन्त्री ज्यू, ‘तिमी’ प्रति कत्रो झ्वाँक ? (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओली ज्यू
बालुवाटार, काठमाडौं

भाषाका सम्बन्धमा, त्यसमा पनि खास गरेर आदरार्थी शब्दका सम्बन्धमा पटक–पटक यहाँले गर्नुभएको भाषण सुन्दै आएको छु । २८ असोजमा प्रज्ञा प्रतिष्ठानमा यहाँले धेरै नै आक्रोशित भएर ‘पत्रकारले बाउलाई पनि तिमी भन्छन्’ भनेपछि नलेखी बस्न सकिएन ।

त्यसो त मिडियाले उच्चपदस्थहरुलाई ‘तिमी’ भनेर संबोधन गरेकोमा यहाँलाई ‘झ्वाँक’ चल्दै आएको धेरै भयो । यहाँले यसै विषयमा सार्वजनिक मन्तब्य दिएको सायद यो तेस्रो पटक हो ।

मलाई अचम्म लागेको कुरा चाहिँ के हो भने यहाँले यत्तिका पटक एउटै विषयमा बोलिरहँदा पनि किन राष्ट्रिय ‘इस्यू’ बन्न नसकेको होला ? सायद यही कारण तपाईं एउटै विषयमा पटक–पटक आक्रोशित हुन परिरहेको छ ।

भाषणमा यहाँले पश्चिमा संस्कृतिको अनुकरण गरेर संचारमाध्यम र संचारकर्मीले आफ्नो शिष्टता र मर्यादा विर्सेकोमा आपत्ति जनाउनु भयो । ‘विकसित मुलुकको संस्कृति देखासिकी गर्ने परिपार्टीले नेपाली भाषा, संस्कृति र मर्यादालाई नयाँपुस्ताले बिर्सदै गएको छ ।’ यहाँको एउटा तर्क यही हो । अग्रेजीको ‘यु’ लोभ लागेर बालाई तपाई भन्न गार्हो लाग्यो । किनभने पैसावाला, डलरवाला, ‘यु’ वालाहरु ‘यु’ ले काम चलाउँछन् । सभ्यता त त्यो रहेछ भन्ने भ्रम पर्या छ । यहाँको पुरक तर्क हो यो । आक्रोशित हुँदै यहाँले भन्नुभयो, ‘सभ्यताका पर्खालहरु बाग्मतिमा फालिए । शिष्टता, मर्यादा केही पनि छैन । पत्रकारले बाउलाई पनि तपाई भन्दैनन् ।’

‘तिमी’ शब्दसँग किन यहाँमा यतिधेरै घृणा जमेर बसेको हो ? यो बुझिसक्नु छैन । यस्तो लाग्छ, मानौं सरकारले लगाएको समृद्धिको नारालाई यही शब्दले रोकेर राखेको छ । पहिलो प्रश्न छ, सबैलाई ‘तिमी’ भनेर समानताको संदेश दिँदा के–के कुरामा फरक पर्छ ?

के कम्यूनिष्टहरु समानताको पक्षपाती होइनन् ? यदी हुन् भने ‘तिमी’ संबोधन गर्दा यहाँले रत्तिभर अपमानित भएको महसुस नगर्नु होला । म यहाँलाई संझाउँछु, केपी शर्मा ओली ज्यू ‘तपाईं कम्यूनिष्ट प्रधानमन्त्री हो’ । हिजोका राजा महाराजा जस्तो आदर–सत्कार खोजेर हिँड्न यहाँलाई कम्सेकम आफ्नै सिद्धान्तले दिँदैन ।

प्रधानमन्त्री ज्यू, भाषा दुईखाले हुन्छन्, एउटा ‘लेख्य’ र अर्को ‘बोल्य’ । अर्थात लेख्ने र बोल्ने भाषा फरक हुन् । ‘तिमी’ वर्तमानमा स्थापित भएको ‘लेख्य’ भाषा हो । त्यसकारण पत्रकारले बाउलाई ‘तिमी’ नभन्न सक्छन् । यहाँले पनि ‘लेख्य’ र ‘बोल्य’ भाषामा फरक छ्ट्याएर बुझिदिन सादर अनुरोध गर्दछु । तर प्रधानमन्त्री ज्यू, ‘तिमी’ भनेको त्यति झरेको शब्द पनि होइन । यहाँलाई स्मरणहोस् अहिले पनि बाउ–आमालाई समेत ‘तिमी’ भनेर संबोधन गर्दा गौरव गर्ने जाती र गाऊँहरु छन् ।

तपाईंले भनेको कुरा दोहोर्याउँछु –‘विकसित मुलुकको संस्कृति देखासिकी गर्ने परिपार्टीले नेपाली भाषा, संस्कृति र मर्यादालाई नयाँपुस्ताले बिर्सदै गएको छ ।’ मलाई लाग्छ यस्तो भन्ने हैसियत कम्सेकम कम्यूनिष्टहरुमा हुँदैन । किनभने माक्र्सवाद वा माओवाद कुनै नेपाली माटोमा हुर्केका विचार होइनन् । तर त्यसलाई वर्तमानमा आम नेपालीको समर्थन पनि छ । के माक्सवाद हाम्रो संस्कृति हो ? ‘डेमोक्रेसी’ अर्थात प्रजातन्त्र पनि त पश्चिमाहरुकै उपहार हो नि । यसको मतलव उन्नत कुरा जताबाट ल्याएपनि वा आएपनि त्यसलाई अन्यथा नमान्दा नै उपयुक्त हुन्छ ।

तपाईंले पश्चिमा संस्कृतिको कुरा गर्दा आफ्नो एउटै ‘बर्थ डे’ मा ५ दर्जनभन्दा बढी केक काटेको सम्झन्छु । अस्ती दशैंको टीकामा तपाईं बसेर र तपाईंको बुवा उठेर टिका लगाइदिँदा धेरैले पूर्वराजा ज्ञानेन्द्रसँग यहाँलाई तुलना गरेर फोटो भाइरल बनाए । तुलना गरिएको भिडियोमा ज्ञानेन्द्र शाह उठेर टिका लगाइरहेका थिए भने उनकी कान्छी आमा बसेकी थिइन् । ‘सिनियर’ हुने भएकाले टिका लगाइदिने मान्छे बसेर र लगाइ माग्ने उठेर टीका ग्रहण गर्ने परम्परा हो । के यस कुरालाई तपाईं मान्नुहुन्न ?

आफूलाई लागेको ठाऊँ वा पायक परेको ठाऊँ अनुसारका तर्क गर्दा त्यो सर्वमान्य हुँदैन । त्यसकारण तर्कसंगत कुरा गर्नुहोला । अर्को कुरा, तपाईको सरकारले नेतृत्व गरेका निकायहरु प्रेस काउन्सिल वा नेपाल प्रज्ञा प्रतिष्ठान मार्फत मनलाग्दी कानुन बनाउने अधिकार पनि त यहाँलाई नै छ । तपाईभन्दा माथि अरू शब्द छन् भने सोही अनुसार ‘ह्वीप’ जारी गरे हुन्छ । त्यसरी बारम्बार आक्रोश जनाउनु पर्ने कारण नै के छ र ?

तर प्रधानमन्त्री ज्यू, भाषा परिवर्तनशील छ । त्यसकारण एउटै शब्दको ‘रट’ लगाएर बस्नुको अर्थ छैन । किनभने कसैले चाहे पनि नचाहेपनि भाषा परिवर्तन हुन्छ नै । यही कुरालाई आत्मसाथ नगर्दा ‘झर्रोवादी’हरु हेरेका हेरै भएका छन् । त्यसकारण करिव एक दशकदेखि समान भाषाको खोजी गर्नेक्रममा ‘तिमी’लाई आत्मसाथ गर्न पुगेको मिडियाप्रति यहाँले आक्रोशित हुनुको सकारात्मक अर्थ लाग्दैन । सबैकालागि हुने एउटै आदरार्थि शब्द हो, ‘तिमी’ । यसलाई यसैगरी बुझिदिनुभयो भने सही हुन्छ ।

अन्त्यमा, प्रधानमन्त्री ज्यू यदी ‘तिमी’ भन्ने शब्द ‘यू’ बाट नै आएको हो भने पनि त्यसले केही बिगार्नेवाला छैन । पश्चिमाहरुले सबैलाई ‘यु’ भनेवापत बिग्रिएका उदाहरण छन् भने भन्नुहोला । होइनभने बिन्ति छ, आफ्नो मन–मस्तिस्कलाई असर पार्नेगरी नचाहिँदो कुरामा झ्वाँक नदेखाइरहनुहोला ।

दिवस गुरागाईं
सञ्चारकर्मी

Logo