कर नतिर्ने क्लब, बारहरुमा बालेनले लिए एक्सन, कांग्रेसका सांसदलाई काठमाडौं छाड्न राेक [भिडियाेसहित]

कर नतिर्ने क्लब, बारहरुमा बालेनले लिए एक्सन, कांग्रेसका सांसदलाई काठमाडौं छाड्न राेक [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

रास्वपाकाे संसदीय बैठक सांसदहरुलाई सोधेको तीन प्रश्नमा केन्द्रितः रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले सांसदहरुलाई सोधेको तीन प्रश्नमा केन्द्रित भएको छ । आज बसेको संसदीय दलको बैठकमा सभापति लामिछानेले एक हप्ताअघि आगामी अधिवेशनका विषयमा पार्टीका सबै सांसदहरुलाई सोधेको प्रश्नमा छलफल भएको प्रमुख सचेतक सन्तोष परियारले बताए । उनका अनुसार सभापति लामिछानेले संविधान निर्माणपछि राज्य सञ्चालनको लागि आवश्यक पर्ने ४० विधेयकमा के भइरहेको छ ? तपाईं भएको समितिमा भए त्यसको अवस्था के छ ? निर्वाचनको बेलामा बाचापत्रमा उठाएको मुद्दा त्यो अनुसार विधेयकमा काम गर्न सक्छौं कि सक्दैनौं र नागरिक अधिकार र स्थानीय समस्याहरुको केके मुद्दा उठाउनुहुन्छ? भन्ने प्रश्न गरेका थिए ।

क्लब, दोहोरी तथा बारहरूलाई मनोरञ्जन कर तिर्न काठमाडौं महानगरपालिकाको पत्राचार
काठमाडौं महानगरपालिका राजस्व विभागले क्लब, दोहोरी तथा बारहरूलाई मनोरञ्जन कर तिर्न पत्राचार गरेको छ । यसपटक ठमेल क्षेत्रमा मनोरञ्जन व्यवसाय गर्नेलाई कर तिर्न पत्र पठाइएको हो । प्रदेश सरकारको आर्थिक ऐनले दोहोरी साँझ, डान्स बार, नाइट क्लबलाई मनोरञ्जन कर लगाउने व्यवस्था गरेको छ ।

सरकारले उद्योगी व्यवसायीलाई तर्साइरहेको विनोद चौधरीको आरोप
नेपाली कांग्रेसका सांसद तथा चौधरी ग्रुपका अध्यक्ष अर्बपति विनोद चौधरीले सरकारले प्रतिशोध साधेर उद्योगी व्यवसायीलाई तर्साइरहेको आरोप लगाएका छन् ।नेपाली कांग्रेस संसदीय दलको बैठकपछि नयाँबानेश्वरको संसद भवनअघि सञ्चारकर्मीसँग कुरा गर्दै बाँसबारी जुत्ताछाला कारखानाको जग्गा प्रक्रिया संगत रुपमै किनेको दाबी गरेका छन् । बिहीवार मात्रै उनका सहोदरभाई अरुण चौधरी पक्राउ परेका थिए।

सरकार सुशासनको पक्षमा छः गृहमन्त्री नारायणकाजी श्रेष्ठ
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासनको पक्षमा रहेकाले कसैको दबाबमा नपर्ने प्रष्ट्याएका छन् । पोखरामा सुरू गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै नेता, कर्मचारी उद्योगी जो भएपछि गल्ती गर्नेलाई सरकारले कारबाही गर्ने प्रतिवद्धता जनाएका हुन् ।उनले दबाब, हस्तक्षेपको प्रक्रिया भइरहे देशलाई फेर्न नसकिने उल्लेख गर्दै राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका सबैलाई संविधान, ऐन कार्यन्वयन गर्न, लोकतन्त्रको प्रत्याभूति दिन र आफ्नो कर्तव्य निर्वाह दृढतापूर्वक उभिन निर्देशन दिएका छन् ।

आफ्ना सांसदहरूलाई उपत्यका नछाड्न नेपाली कांग्रेसको निर्देशन
नेपाली कांग्रेसले संसद अधिवेशन चल्दासम्म आफ्ना सांसदहरूलाई उपत्यका नछोड्न निर्देशन दिएको छ। शुक्रबार बसेको संसदीय दलको बैठकले सांसदहरूलाई अधिवेशन अन्त्य नहुन्जेलसम्म काठमाडौं नछोड्न निर्देशन दिएको हो। यदि छोड्नै परे प्रमुख सचेत वा सचेतकबाट लिखित स्वीकृत गराएर मात्र जान सकिने निर्णय भएको छ।

बैंकहरूले एकलौटी व्याज बढाएकोप्रति केपी ओलीको आपत्ति
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंकहरूले एकलौटी रूपमा व्याज बढाएकोप्रति आपत्ति जनाएका छन् । पार्टीनिकट बैंकिङ क्षेत्र कर्मचारी संघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले व्याज बढाउने बेलामा दुई तर्फको सहमति हुनुपर्ने तर्क गरेका छन् ।बैंकहरूनाफाखोर निर्मम साहूजी नभई सहयोगी हुनुपर्ने बताए । राष्ट्र बैंक र सर्वसाधारणले पैसा राख्दा पनि सस्तोमै पाएपछि लगानी गर्दा धेरै व्याज लिन नमिल्ने उनको भनाइ छ ।

राष्ट्रिय सभाको हिउँदे अधिबेशनको संभावित कार्यतालिका स्वीकृत
राष्ट्रिय सभाको आगामी हिउँदे अधिबेशनका लागि २०८० माघ र फागुन महिनाको संभावित कार्यतालिका स्वीकृत भएको छ । आज (शुक्रबार) बसेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले महिनाको संभावित कार्यतालिका स्वीकृत गरेको हो । ठकले संसदको अधिबेशनको प्रारम्भ र अन्त्य हुने दिनका बारेमा संसदलाई पूर्व जानकारी गराएमा कार्यतालिका बनाउन सहज हुने निष्कर्ष पनि निकालेको छ ।

हट एयर बेलुनलाई ९ हजार फिटसम्म उडाउने अनुमति पायो
हट एयर बेलुनमा यात्रु उडाउने नेपालको एकमात्र कम्पनी बेलुन नेपालले जमिन सतहबाट ९ हजार फिटसम्म उडाउने अनुमति पाएको छ । यो साविकको तुलनामा तीन गुणा बढी हो यसअगाडि ३ हजार फिट माथिसम्म मात्रै उडान गर्दै आएको हट एयर बेलुनले थप उचाइ लिएपछि अन्नपूर्ण हिमशृङ्खला, पोखरा आसपास दृश्य र समयअनुसार सूर्योदय तथा सूर्यास्त अझ राम्रो देख्न पाउने भएका छन् । अब आधा घन्टा उडान गर्न नेपालीले ९ हजाार ५ सय रुपैयाँ प्रतिव्यक्ति तिर्नुपर्छ । ३ देखि ९ वर्षका बालबालिकालाई प्रतिव्यक्ति ५ हजार रुपैयाँ शुल्क कायम गरिएको छ । भारतीय तथा सार्क राष्ट्रका नागरिक र अन्य देशका नागरिकका लागि फरक शुल्क तोकिएको छ ।

तीन महिनाको अनुसन्धानपछि मात्र बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा तीन जनालाई पक्राउ गरेको सीआईबीको भनाई
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) तीन महिना लामो अनुसन्धानपछि मात्र बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा तीन जनालाई पक्राउ गरेको बताएको छ। सीआईबीले बिहीबार व्यवसायी अरुण चौधरी, तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाका कार्यकारी निर्देशक अजित नारायण थापासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले हठात पक्राउ गरेको भन्दै नेपाल उद्योग परिसंघले विरोध गरेको थियो ।तर सीआईबीले शुक्रबार पत्रकार सम्मेलन गरेर लामो अनुसन्धानपछि मात्र पक्राउ गरिएको स्पष्टीकरण दिएको छ । सीआईबीका अनुसार थापाले १० भदौ २०४३ मा अरुण चौधरी समेत सञ्चालक रहेको च्याम्पियन फुटवेयर कम्पनी खोल्न प्रबर्धन सम्झौता भएको थियो ।

मुग्लिन–नारायणगढ भित्तो काट्ने कामका लागि २१ दिनको म्याद थप
चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा पुलको फाउण्डेशन बनाउन सडक बन्द गरेर भित्तो काट्ने कामका लागि अन्तिमपटक २१ दिनको म्याद थप गरिएको छ ।जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सरोकारवालाहरुको बैठकले माघ २१ गतेदेखि २१ दिनसम्म सडक दैनिक ४ घण्टा बन्द गरेर भित्तो काट्ने कामलाई निरन्तरता दिने निर्णय गरेको आयोजनाका इन्जिनियर सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए ।

केन्याको राजधानी नैरोबीमा ग्यास विष्फोट हुँदा ३ जनाको मृत्यु
केन्याको राजधानी नैरोबीमा ग्यास विष्फोट हुँदा ३ जनाको मृत्यु भएको छ भने कम्तीमा पनि तीन सय जना घाइते भएका छन् । ग्यासको सिलिन्डर बोकेर गइरहेको एउटा लरीएम्बाकासी जिल्लामा विष्फोट हुँदा आगोको मुस्लो निस्किएको थियो ।यस घटनामा नजिकरहेका घर, कार्यालय र कारहरू जलेर क्षतविक्षत भएका थिए । यसअघि सरकारले यो घटना ग्यास कारखानामा भएको बताएको थियो । यस घटनामा मर्ने तीन जनामध्ये एक जना बालक भएको बताइएको छ । घाइतेको संख्या उच्च रहेकोले मृत्यु हुनेको संख्या थप बढ्ने आशंका गरिएको छ ।

फ्रेन्च क्लबबाट खेल्दै सावित्रा भण्डारी (साम्बा)
नेपाली महिला फुटबलकी स्टार सावित्रा भण्डारी (साम्बा) अब फ्रेन्च क्लबबाट खेल्ने भएकी छन् । उनलाई फ्रान्सको शीर्ष डिभिजनको क्लब एना भान गुइनगाम्पले यस सिजनको बाँकी समयका लागि अनुबन्ध गरेको हो ।क्लबले बिहीबार सावित्रालाई अनुबन्ध गरेको जानकारी दिँदै अफिसियल फेसबुक पेजमा भिडियो पनि पोष्ट गरेको छ । त्यसमा सावित्राले पनि फ्रेन्च लिग खेल्न आफू उत्साहित रहेको प्रतिक्रिया दिएकी छन् ।सावित्रा मेडिकल परीक्षणका लागि सोमबार फ्रान्स प्रस्थान गरेकी थिइन् । मेडिकल पास भएपछि क्लबले अनुबन्ध गरेको खबर सार्वजनिक गरेको होे ।

Logo