रवि लामिछानेविरुद्ध प्रहरीमा जाहेरी, सिंहदरबारमा आरती साहकाे परिवारलाई लछारपछार [भिडियाेसहित]

रवि लामिछानेविरुद्ध प्रहरीमा जाहेरी, सिंहदरबारमा आरती साहकाे परिवारलाई लछारपछार [भिडियाेसहित]

केन्द्रबिन्दु
98
Shares

रवि लामिछानेविरूद्ध प्रहरीमा जाहेरी

रास्वपा सभापति रवि लामिछानेसहित विभिन्न व्यक्ति र संस्थाविरुद्ध सूर्यदर्शन सहकारी पीडितले प्रहरीमा जाहेरी बुझाएका छन्।पीडितहरुले कास्की प्रहरीमा जाहेरी बुझाएका हुन् । उनीहरूको जाहेरी प्रहरीले बुझेको छ तर दर्ता भएको छैन।

जाहेरीमा रविसहित पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, पूर्व अध्यक्ष ज्ञानबहादुर बमजन, नेत्रपाणि बास्तोला लगायत छन्। पैसा लिएको तर फिर्ता नगरेका कारण जाहेरी दिएको पीडितहरूले बताएका छन् ।

सङ्घीय संसद्को हिउँदे अधिवेशन साेमबारदेखि प्रारम्भ

सङ्घीय संसद्को हिउँदे अधिवेशन साेमबारदेखि प्रारम्भ भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको तेस्रो तथा राष्ट्रियसभाको पन्ध्रौँ अधिवेशन सुरु भएको हो । प्रतिनिधिसभामा सभामुख देवराज घिमिरे र राष्ट्रियसभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा सांसदलाई स्वागत गर्दै राष्ट्रपति कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए । साथै बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८०’ पेस गरेका थिए।

आरती साहकी आमा निर्मला साह र भाइ प्रेम साहलाई प्रहरीले गर्याे पक्राउ

न्याय माग्दै सिंहदरबारमा सरकारको ध्यानाकर्षण गराउन गएका आरती साहकी आमा निर्मला साह र भाइ प्रेम साहलाई प्रहरीले पक्राउ गरेको छ । छोरी आरतीको हत्या भएको र प्रहरीकै सहयोगमा दोषीहरू उम्काउने काम भएको भन्दै निर्मला सोमबार दिउँसो सिंहदरबार गेटमा पुगेकी थिइन्।

प्रहरीले उनीहरूलाई सिंहदरबार प्रवेशमा रोक लगाएको थियो। लगत्तै उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । जनकपुरकी आरती साहको मृत्यु प्रकरणमा प्रहरीको कमजोरीका कारण आफूहरुले न्याय नपाएको भन्दै आरतीका आमाबुवासहित उनका परिवार २३५ दिनदेखि धर्नामा बसिरहेका छन्। तर, सरकार मौन छ।

अरुण चौधरीसहित ३ जनालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका अरुण चौधरीसहित ३ जनालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। थप अनुसन्धानका लागि चौधरीसहित तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रा.लि।का सञ्चालक सञ्जय ठाकुरलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रहरीले उनीहरुलाई १८ माघमा पक्राउ गरेर अदालतमा उपस्थित गराएको थियो । त्यसक्रममा चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले म्याद पाएको थियो।

रवि लामिछानेलाई अध्यक्ष बनाउने बाहेक अर्को कुनै उद्देश्य छैनः सीके राउत

जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग रवि लामिछानेलाई अध्यक्ष बनाउने बाहेक अर्को कुनै उद्देश्य नभएको पार्टीका रूपमा व्याख्या गरेका छन्। जनमत पार्टीको २१ माघमा बसेको सचिवालय बैठकमा अध्यक्ष राउतले छलफलका लागि पेस गरेको राजनीतिक प्रस्तावमा यस्तो उल्लेख गरेका हुन्। राउतले रास्वपाले नेपालको विविधता र सामाजिक संरचनाप्रति अनुभवको कमीले गर्दा मधेशी, आदिवासी, मुस्लिम, थारु सहितका सीमान्तकृत वर्गको मुद्दा सम्बोधन गर्न नसक्ने निष्कर्ष निकालेका छन्।

डीआईजी अर्जुन चन्दको राजीनामा ‘रितपूर्ण’ नभएको भन्दै फिर्ता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दको राजीनामा ‘रितपूर्ण’ नभएको भन्दै प्रहरी प्रधान कार्यालय, नक्सालले फिर्ता गरिदिएको छ ।मानव स्रोत विभागमा पुगेको उनको राजीनामाको पत्र रितपूर्वक नभएकलो फिर्ता गरिदिएको एक उच्च प्रहरी अधिकृतले अनलाइनखबरलाई बताए।

गएको शनिबार उनले राजीनामा दिएको विषय सार्वजनिक भएको थियो। छलफलमा सहभागी एक अधिकृतका अनुसार, २९ वर्ष प्रहरी सेवामा बिताएपछि केही महिना बाँकी रहँदा राजीनामा दिँदा राम्रो सन्देश नजाने भन्दै आईजीपी कुँवरले उनलाई निर्णय फिर्ता लिन भनेका थिए।

संसदीय दलका नेता रमेशजंग रायमाझी सरकारको कामकारबाहीप्रति असन्तुष्टि

नेपाली काँग्रेसका राष्ट्रियसभा संसदीय दलका नेता रमेशजंग रायमाझीले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन्।सोमबार शुरु भएको संसदको हिउँदे अधिवेशनका क्रममा राष्ट्रियसभाको बैठकमा आफ्नो धारणा राख्दै उनले सरकारका कामकारबाहीप्रति असन्तुष्टि जनाएका हुन्। उनले अहिले सरकारले स्टन्टबाजी गरिरहेको भन्दै स्टन्टबाजी गर्ने बेला नभएको बताए ।सरकारमा बसेका मन्त्रीहरुले नयाँ राजनीतिक दलहरुको नक्कल गरिरहेको बताउँदै उनले सरकारमा बस्ने मानिसहरुले काम गर्नुपर्ने भए पनि स्टन्टबाजी गरिरहेको भन्दै आपत्ति जनाए।

कोशी प्रदेश सरकारले प्रदेशसभाका पदाधिकारीहरु थप गर्नेगरी ल्याएको अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट

कोशी प्रदेश सरकारले प्रदेशसभाका पदाधिकारीहरु थप गर्नेगरी ल्याएको अध्यादेशविरुद्ध सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । उक्त अध्यादेश संविधान विरीत भएको भन्दै अधिवक्ताद्वय कपिलदेव ढकाल र राजेन्द्रप्रसाद दंगालले रिट निवेदन दर्ता गराएका हुन् । प्रदेशसभाको पदाधिकारीमा पूर्वमुख्यमन्त्री र सरकारमा रहेका दलका नेताहरुलाई थप गर्ने गरी माघ ६ गते कोशी प्रदेश सरकारले अध्यादेश जारी गरेको थियो ।

दलहरूले चुनावमा जनतालाई झूटा आश्वासन दिन बन्द गर्नुपर्छः रामकुमारी झाँक्री

नेकपा एकीकृत समाजवादी पार्टीकी केन्द्रीय सचिव रामकुमारी झाँक्रीले दलहरूले चुनावमा जनतालाई झूटा आश्वासन दिन बन्द गर्नुपर्ने बताएकी छन् ।समाजवादी प्रेस संगठन कैलालीको आयोजनामा भएको पत्रकार सम्मेलनमा उनले शुक्लाफाँटा वन्यजन्तु आरक्ष क्षेत्रमा बसिरहेका नागरिकहरूको लागि दलहरूले जग्गा दिने भन्दै झूटको खेती गरिरहेको आरोप लगाएकी हुन् ।निर्वाचनको समय आफू पनि मन्त्रीसँग शुक्लाफाँटा गएको र त्यहाँ प्रत्यक्षमा रूपमा कानूनले वञ्चित गरेकै कुराहरू पनि नेताहरूले आश्वासन बढिरहेको उनले टिप्पणी गरिन् ।

मेयर बालेनले २ वर्ष ९ महिनापछि पनि धरहराको निर्माण पुरा नभएको भन्दै पाेखे आक्रोश

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले उद्घाटन गरेको २ वर्ष ९ महिनापछि पनि धरहराको निर्माण पुरा नभएको भन्दै आक्रोश व्यक्त गरेका छन् । महानगरले हालै धरहरामा निःशुल्क पार्किङ सुरू गरेपछि त्यसलाई बन्द गर्न पत्र आएको भन्दै उनी आक्रोशित बनेका हुन् । उनले भनेका छन्( ‘उद्घाटन गरेको २ वर्ष ९ महिनापछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो रु पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीले भन्नू भएको थियो ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ रु’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ।’

मुगुमा आगलागी हुँदा एउटै घरका दाजु–बहिनीको मृत्यु

मुगुमा आगलागी हुँदा एउटै घरका दाजु–बहिनीको मृत्यु भएको छ । जिल्लाको खत्याड गाउँपालिका–२ गाडेखोलामा आइतबार राति १ बजे आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी वीरेन्द्र थापाले जानकारी दिए। डीएसपी थापाका अनुसार स्थानीय लालु सञ्ज्यालको घरमा आगलागी हुँदा सञ्ज्यालका १४ वर्षीय छोरा विशाल र १२ वर्षीया छोरी झरनाको मृत्यु भएको हो।

नेप्से परिसूचक दोस्रो दिन भने दोहोरो अङ्कले बढ्याे

यो साता कारोबारको पहिलो दिन सामान्य अङ्कले घटेको नेप्से परिसूचक दोस्रो दिन भने दोहोरो अङ्कले बढेको छ । आज नेप्से परिसूचक १४ दशमलव ५७ अङ्कले बढेर दुई हजार ७६ दशमलव २७ को विन्दुमा कायम भएको हो। आज शेयर बजारमा भएको कारोबार रकम रु दुई अर्ब ४३ करोड ८० लाख ५८ हजार दुई सय ५४ बराबर छ। तीन सय १० कम्पनीको ७४ लाख ९१ हजार तीन सय तीन कित्ता शेयर ५६ हजार सात सय ७६ पटक किनबेच भएको हो।

अमेरिका र बेलायतले यमनका १३ स्थानमा आक्रमण गरेपछि हुथी विद्रोहीले जवाफी हमला गर्ने चेतावनी

हालै अमेरिका र बेलायतले यमनका १३ स्थानमा ३६ वटा लक्ष्यमा आक्रमण गरेपछि हुथी विद्रोहीले जवाफी हमला गर्ने चेतावनी दिएका छन्। इरान समर्थित हुथी विद्रोहीको आक्रमणका कारण लाल सागरमा पानीजहाज कम्पनीहरूको सञ्चालन रोकिएको छ। अन्तर्राष्ट्रिय व्यापारको १५ प्रतिशत यही मार्गबाट हुने गरेको छ। अमेरिकाले सिरिया र इराकमा ८५ वटा लक्ष्यमा आक्रमण गरेको छ । इरानको समर्थन रहेको हुथी विद्रोहीले नोभेम्बरको मध्यदेखि लाल सागरमा रहेका अन्तर्राष्ट्रिय र व्यावसायिक जहाजहरूमा पटकपटक आक्रमण गरेका छन्।

यू-१९ विश्वकप क्रिकेटमा सहभागी भएर नेपाली क्रिकेट टोली स्वदेश फर्कियाे

दक्षिण अफ्रिकामा जारी यू१९ विश्वकप क्रिकेटमा सहभागी भएर नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ। टोली सोमबार स्वदेश फर्किएको हो। समूह चरणमा न्युजिल्याण्ड र पाकिस्तानसँग पराजित भए पनि नेपाल अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुगेको थियो। तर, सुपर सिक्समा भने भारत र बंगलादेशसँग भएका दुवै खेलमा नेपाल पराजित भएको थियो।

Logo