रवि र गगनबीच संसदमा चल्याे जुहारी, अदालतकाे आदेशमा अरुण चौधरी रिहा [भिडियाेसहित]

रवि र गगनबीच संसदमा चल्याे जुहारी, अदालतकाे आदेशमा अरुण चौधरी रिहा [भिडियाेसहित]

केन्द्रबिन्दु
6.7k
Shares

२५ लाख रुपैयाँभन्दा बढी रकम जम्मा गर्न नपाउने गरी सहकारी ऐनमा संशोधन गर्न सरकारले गरेको प्रस्ताव प्रतिनिधिसभाले गर्याे अस्वीकार

कुनै पनि व्यक्तिले सहकारीमा २५ लाख रुपैयाँभन्दा बढी रकम जम्मा गर्न नपाउने गरी सहकारी ऐनमा संशोधन गर्न सरकारले गरेको प्रस्ताव प्रतिनिधि सभाले अस्वीकार गरेको छ। कानुन न्याय तथा मानव अधिकार समितिले रकम जम्मा गर्ने सीमाको व्यवस्था हटाएको थियो।

सरकारले सहकारी ऐन २०७४ को दफा ५२ मा संशोधन गर्दै व्यक्तिगत बचतको सीमा पच्चीस लाख रुपैयाँ राख्न प्रस्ताव गरेको थियो। साथै अहिले २५ लाखभन्दा बढी रकम सहकारीमा बचत गरिरहेका व्यक्तिहरूले पाँच वर्षभित्र सीमाभित्र रकम ल्याउनुपर्ने व्यवस्था राख्न प्रस्ताव गरेको थियो।

अमला रोकाविरूद्ध डिफ्युजन नोटिस जारी

अन्तराष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)मा ६१ किलो सुन प्रकरणकी प्रतिवादी अमला रोकाविरूद्ध डिफ्युजन नोटिस जारी भएको छ। नेशनल कन्ट्रोल ब्यूरो (एन सीबी) काठमाडौंले गरेको सिफारिसका आधारमा रोकाविरूद्ध इन्टरपोलले डिफ्यूजन नोटिस जारी भएको सीआईबीका प्रवक्ता नवराज अधिकारीले बताएका छन् । उनी सुनकाण्डमा मुछिएका बेल्जियम नागरिक दाबा छिरिङका श्रीमतीसमेत हुन् ।

प्रतिनिधिसभा बैठकमा रवि र गगनबीच चल्याे जुहारी

बुधवार प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाली कांग्रेसका महामन्त्री गगन थापाबीच जुहारी चलेको छ । सहकारीमार्फत ठगीमा संलग्नहरु जतिसुकै शक्तिशाली भए पनि दण्डित हुनुपर्ने गगनले माग उठाएपछि त्यसको प्रतिरक्षामा रवि उत्रिएका हुन्।

गगनले आम नागरिकले निक्षेप संकलन गरेर जम्मा गरेको सहकारीमा ठगीको धन्धा चलाउँछ, ठगीको धन्दाको मतियार हुन्छ भने कानुनी कारबाहीको दायरामा आउनु पर्दैन भन्दै प्रश्न गरेपछि रविले भने, ‘सत्ता पक्षका सांसदको कुरा सुन्दा कहाँ के समस्या छ के विकृति, विसङ्गति छ, के गरे उपलब्धि हासिल गर्न सकिन्छ सबै थाहा रहेछ, मेरो प्रश्न नगरेको चाहिँ किन रु हामी नयाँ दलले रोकेको हो त ?’ उक्त जुहारीमा अन्य सांसद भने मौन रहेका थिए।

संघीयताको कार्यान्वयनमा दृढताका साथ लाग्ने प्रधानमन्त्रीकाे प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तनको मुख्य संवाहक हुनुका नाताले आफू संघीयताको कार्यान्वयनमा दृढताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आयोजित राष्ट्रिय समन्वय परिषद्को दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै सङ्घीयता कार्यान्वयनमा मुख्यमन्त्रीहरूले आफूप्रति भरोषा राखेको बताएका हुन्। उनले भने, ‘संघीयता कार्यान्वयनमा मुख्यमन्त्रीहरूले मप्रति भरोसा गर्नुभएको छ, यही शक्तिका साथ सङ्घीयता कार्यान्वयनमा लाग्छु।’

गिरीबन्धु टि- स्टेटको हदबन्दीभन्दा बढी रहेको जग्गा अन्यत्र सट्टापट्टा गर्ने गरी मन्त्रिपरिषदबाट दिइएको स्वीकृति सर्वोच्चले गर्याे बदर

गिरीबन्धु टि- स्टेटको हदबन्दीभन्दा बढी रहेको जग्गा अन्यत्र सट्टापट्टा गर्ने गरी मन्त्रिपरिषदबाट दिइएको स्वीकृति सर्वोच्च अदालतले बदर गरिदिएको छ । बुधवारको संवैधानिक इजलासले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को निर्णय बदर गरिदिएको हो । गिरीबन्धु टी स्टेटको जग्गा सट्टापट्टा गरी उक्त स्थानमा आवासीय प्रयोजनका लागि प्लटिङ गर्न सघाउ पुग्ने गरी स्वीकृति दिएको कारण उक्त निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट परेको थियो । सर्वोच्चले दायर रिटकै पक्षमा फैसला सुनाएको हो ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनका कारण पठनपाठन प्रभावित बनेपछि विद्यार्थीहरु अनशन

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनका कारण पठनपाठन प्रभावित बनेपछि विद्यार्थीहरु अनशनमा बसेका छन् ।पढ्न पाउने संवैधानिक अधिकार हनन्नगर्न र यथाशीघ्र पढाइ सुरु गर्न माग गर्दै विद्यार्थीहरू २४सै घण्टा रिले अनशनमा छन् । ‘विद्यार्थीको इच्छा, स्वायत्त मेडिकल शिक्षा’ नारासहित जारी रिले अनशनमा बसेका विद्यार्थीहरूको पूर्ण क्षमतामा पठनपाठन र परीक्षाका गतिविधि चाँडै सञ्चालन गरिनुपर्ने माग छ ।

राष्ट्रिय सभा सदस्य बन्ने कुरा अपमान जस्तो लाग्न थाल्याेः वामदेव गौतम

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले राष्ट्रिय सभा सदस्य बन्नेकुरा अपमान जस्तो लाग्न थालेको बताएका छन् ।बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले आफूलाई अपमानजनक पदबाट कहिलेदेखि मुक्ति हुन पाइएला भन्ने लागेको बताए। उनले आजसम्म भएका प्रधानमन्त्रीले बहुदलीय प्रतिष्पर्धाको प्रणालीबाट समाजवाद निर्माण गर्न सकिन्छ भनेर एउटा ढाँचा पनि प्रश्तुत गर्न नसकेको बताए।

उद्योगपति अरुण चौधरी रिहा

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका उद्योगपति अरुण चौधरी रिहा भएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार बुधबार सीजी ग्रुपका सदस्य तथा सिजी होल्डिङ्सका प्रबन्ध निर्देशकसमेत रहेका चौधरीलाई रिहा गरेको हो । उनीसँगै बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र सिजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुर पनि छुटेका छन्।

पोर्चुगलमा रोजगारीका लागि पुगेकी एक नेपाली चेली सडक दुर्घटनामा परी गम्भीर घाइते भएर उपचार नपाउँदा बिचल्लीमा

पोर्चुगलमा रोजगारीका लागि पुगेकी एक नेपाली चेली सडक दुर्घटनामा परी गम्भीर घाइते भएर उपचार नपाउँदा बिचल्लीमा परेकी छन् । वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्षअघि पोर्चुगल आएकी सिन्धुली जिल्ला मरिण–३ की २९ वर्षीया सुस्मिता मोक्तान गत जनवरी १० तारिखका दिन कामबाट फर्कने क्रममा बाटो काट्दै गर्दा तीव्रगतिमा आएको कारले एक्कासी ठक्कर दिएको थियो । कारको ठक्करबाट गम्भीर घाइते भएकी उनको दाहिने हात र देब्रे हिप भाँचिएको छ । दुर्घटनाले हिपदेखि मुनिको देब्रे खुट्टा नचल्ने भएको छ । अनुहारमा समेत चोट लागेको छ । कार चालक फरार भए । अहिले सामान्य उपचारबाट समेत बञ्चित भएकी उनको स्थिति दिनप्रतिदिन नाजुक बन्दै गएको छ।

बुधबारदेखि भ्यालेन्टाइन डे सप्ताह सुरु

बुधबारबाट भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस सप्ताह सुरु भएको छ । पश्चिमा संस्कृति भए पनि पछिल्लो समय विशेष गरी युवायुवतीले उत्साहका साथ नेपालमा पनि भ्यालेन्टाइन डे मनाउने गरेका छन् । आज पहिलो दिन रोज डे अर्थात् आफ्ना प्रेमीप्रमिकालाई गुलाफको फूल दिइन्छ । यसै सन्दर्भमा यस वर्ष तीन लाख ५० हजार स्टिम गुलाफको माग भएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ । कूल मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन हुने र ९० प्रतिशत गुलाफ भारतबाट आयात गर्नुपरेको छ । समा ६० प्रतिशत काठमाडौँ उपत्यकामा र बाँकी ४० प्रतिशत गुलाफ देशका अन्य सहरमा खपत हुने गर्दछ ।

बुधबार सेयर बजारको परिसूचक नेप्से ४.९ अंक बढेर २ हजार ९० अंकमा पुग्याे

बुधबार सेयर बजारको परिसूचक नेप्से ४.९ अंक बढेर २ हजार ९० अंकमा पुगेको छ। कारोबार सुरु भएको ७ मिनेटमै नेप्से परिसूचक २१ सय७अंकमा पुगे पनि टिक्न सकेन ।कुल २ अर्ब ८४ करोडको कारोबार भयो। कारोबार रकम अघिल्लो दिनको तुलनामा २५ करोड बढी हो । कुल १६८ कम्पनीको मूल्य बढ्दा ६८ को घट्यो भने ११ को स्थिर रह्यो ।होटल तथापर्यटन समूह सबैभन्दा धेरै १.५ प्रतिशत बढ्यो भने जीवन बीमा समूह १.२९ प्रतिशत बढेको छ।

पाकिस्तानमा दुईवटा विनाशकारी बम विस्फोटमा परि २५ जनाको मृत्यु

पाकिस्तानको बलुचिस्तान प्रान्तमा आम निर्वाचनको पूर्वसन्ध्यामा गरिएका दुईवटा विनाशकारी बम विस्फोटमा परि २५ जनाको मृत्यु भएको छ । बुधबार बिहान पिसिन जिल्लामा स्वतन्त्र उम्मेदवार अस्फन्दयार खान काकरको कार्यालय बाहिर शक्तिशाली विस्फोट हुँदा १७ जनाको मृत्यु भएको थियो।

विस्फोटमा अन्य २५ जना घाइते भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ ।त्यसको एक घण्टा नबित्दै किल्ला अब्दुल्ला क्षेत्रमा जमियत–उलेमा इस्लाम–पाकिस्तानको चुनावी कार्यालय बाहिर अर्को बम विस्फोट भएको छ । उक्त घटनामा आठ जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएका छन्।

नेपाली राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीहरु विदेशिने क्रम सुरु

नेपाली राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीहरु विदेशिने क्रम फेरि सुरु भएको छ। राष्ट्रिय टिमबाट खेलिसकेका आशिष चौधरीसहित सेसेहाङ आङदम्बे, सिमान्त थापा र अनिश देउला मंगलबार अष्ट्रेलिया प्रस्थान गरेका छन्।नेपालको घरेलु लिग नियमित नहुँदा फुटबलरहरु विदेशिने क्रम बढिरहेको छ। पछिल्लो दुई वर्षमै राष्ट्रिय टिमबाट खेलिसकेका अधिकांश खेलाडीको गन्तव्य अष्ट्रेलिया लगायतका देश बनेको छ। त्यसमा अहिले आशा बोकेका चार युवा खेलाडी थपिएका छन्। आशिष, सेसेहाङ र सिमान्तले राष्ट्रिय टिमबाटै खेलिसकेका छन् भने अनिश राष्ट्रिय टिममा परे पनि खेल्न बाँकी थियो।

Logo