नेपालमा फेरि टिकटक चल्न दिने संकेत, २० प्रतिशत अझै गरिबीको रेखामुनि [भिडियाेसहित]

नेपालमा फेरि टिकटक चल्न दिने संकेत, २० प्रतिशत अझै गरिबीको रेखामुनि [भिडियाेसहित]

केन्द्रबिन्दु
56
Shares

अर्थमन्त्रीले घटाए दुई खर्ब बजेट

सरकारले बजेटको लक्ष्य घटाएको छ । सोमबार चालु आर्थिक वर्ष (आव) २०८०-८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आवमा ८७.३८ प्रतिशत मात्रै खर्च हुने बताएका हुन ।

चालु आवमा १७ खर्ब ५१ अर्ब ३१ करोड बजेट ल्याएका अर्थमन्त्री महतले संशोधित अनुमान अनुसार १५ खर्ब ३० अर्ब २६ करोड मात्रै खर्च हुने उनको भनाइ छ। जसमध्ये पूँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड विनियोजन गरिएकोमा ८४.१३ प्रतिशत मात्रै खर्च हुने छ ।

जनयुद्ध दिवस पारेर फागुन १ गते सार्वजनिक बिदा दिने निणर्य फिर्ता

सरकारले जनयुद्ध दिवस पारेर फागुन १ गते सार्वजनिक बिदा दिने निणर्य फिर्ता गरेको छ । सोमबार एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयले यसअघि मन्त्रिपरिषद्ले सार्वजनिक बिदा दिन गरेको निणर्यलाई फिर्ता लिएको जनाएको हो ।

यसअघि सरकारी क्यालेन्डरमा फागुन १ गते जनयुद्ध दिवसको बिदा उल्लेख गरिएको थियो । तर, सर्वोच्च अदालतले जनयुद्ध दिवस भनेर बिदा नदिन आदेश दिएपछि गृहले आज विदा नदिइएको जनाएको हो ।

नेपालमा २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको तथ्यांक

नेपालमा २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको तथ्यांक सार्वजनिक भएको छ। केन्द्रीय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको जीवनस्तर सर्वेक्षणमा यो तथ्यांक उल्लेख छ।

अघिल्लो सर्वेक्षण २०६६-६७ मा २५.२ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि थियो । सर्वेक्षण अनुसार गरिबीको रेखामुनिको जनसंख्या गाउँमा २४.६६ प्रतिशत र सहरमा १८.३४ प्रतिशत रहेको छ। सबैभन्दा धेरै गरिबी सुदूरपश्चिम र कम गरिबी गण्डकी प्रदेशमा रहेको सर्वेक्षणमा उल्लेख छ।

टिकटकले नेपाल सरकारलाई अर्को पत्र लेखेर प्रतिबन्ध हटाउन गर्याे आग्रह

टिकटकले नेपाल सरकारलाई अर्को पत्र लेखेर प्रतिबन्ध हटाउन आग्रह गरेको छ । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्र पठाउँदै टिकटकले नेपालको कानूनअनुसार आफ्नो प्लेटफर्म चलाउने प्रतिबद्धता जनाउँदै प्रतिबन्ध फुकाइदिन आग्रह गरेको हो । टिकटकले समाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको भन्दै मन्त्रिपरिषद बैठकले गत २७ कात्तिकमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

पार्टी एकताबारे छलफल भइरहेकै भए पनि निष्कर्षमा पुग्न सकेका छैनाैँः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी धारका पार्टीसँग एकता गर्ने विषय अझैँ पनि संशयको स्थितिमा रहेको ब्रिफिङ गरेका छन्। पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले पार्टी एकता बारे छलफल भइरहेकै भए पनि निष्कर्षमा पुग्न नसकेको बताएको बैठकमा सहभागी एक नेताले बताएका छन्।

बाबुरामजीले नेतृत्व गरेको नेसपासँग पटकपटक छलफल गरेर संयोजन समिति बनाएर जाने भन्ने भएको छ, गति लिएको छैन । संशयको स्थिति अझैँ छ । प्रचण्डले बैठकमा राखेको धारणा उद्धृत गर्दै ती नेताले भने।

व्यवसायी अरुण चौधरीसहित तीन जनालाई हाजिर जमानीमा छाड्न आदेश दिएका आचार्यकाे मुगु सरुवा

बाँसबारी छालाजुत्ता जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीन जनालाई हाजिर जमानीमा छाड्न आदेश दिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्य मुगु सरुवा भएका छन्।

केही महिनाअघिमात्र सरुवा भएर काठमाडौँ जिल्ला अदालत ल्याइएका आचार्यलाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले फेरि मुगु जिल्ला अदालत सरुवा गरेका हुन्। प्रहरीले अनुसन्धानका लागि चार दिन म्याद लिएकै बेला उनको इजलासले दुई दिनमै चौधरीलाई जमानतमा छाड्न आदेश दिएको थियो।

दुई सय पटकभन्दा बढी रक्तदान गरेका अर्जुन मैनालीले गरे अमेरिकामा आत्मदाह

दुई सय पटकभन्दा बढी रक्तदान गरेका अर्जुन मैनालीले अमेरिकामा आत्मदाह गरेका छन्। अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा उनको शव फेला परेको छ।

प्रहरीले पूर्ण रुपमा जलेको अवस्थामा शव भेट्टाएको अमेरिका निवासी पुरुषोत्तम ढकालले बताएका छन्। मैनाली एउटा भाडाको कार लिएर सो पार्कमा पुगेका थिए। उनी चढेको कार पनि जलेको छ। कारमा आगो लगाएर आत्महत्या गरेको अनुमान गरिएको छ।

संविधान कार्यान्वयनका लागि १५१ वटा कानून बनाउन माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता

संविधान कार्यान्वयनका लागि १५१ वटा कानून बनाउन माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता भएको छ। एमालेकी सांसद दिलकुमारी रावलले संविधान कार्यान्वयनका लागि आवश्यक कानुनहरु यथाशीघ्र निर्माणका लागि राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता गरेकी हुन् । रावल प्रस्तावक रहेको प्रस्तावमा अन्य ८ जना राष्ट्रिय सभाका सदस्यहरु समर्थक छन्।

फागुन महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाए

फागुन महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले सोमबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार माघको तुलनामा ब्यक्तिगत मुद्दतिको औसत ब्याजदर ०.४१ प्रतिशत विन्दुले घटेको हो।

४ वाणिज्य बैंकहरु एभरेष्ट, लक्ष्मी सनराइज , माछापुच्छ्रे र हिमालयन बैंकले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिए पनि अरु १६ बैंकले घटाउँदा औसत निक्षेप ब्याजदर तल झरेको हो । बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जा प्रवाह न्यून भएसँगै बैंकहरुले ब्याजदर घटाउँदै लगेका छन् ।

सोमबार सेयर बजारले २१ सय अंक नाघ्याे

सोमबार सेयर बजारले २१ सय अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १५.३३ अंक बढेसँगै २१०१ अंकमा पुगेको हो ।परिसूचक बढ्दा कारोबार रकम भने घटेको छ ।

अघिल्लो दिन ४ अर्ब ८ करोडको कारोबार भएकोमा सोमबार ३ अर्ब ५८ करोडमा खुम्चियो । कुल १९९ कम्पनीको मूल्य बढ्दा ४५ को घट्यो भने ४ को स्थिर रह्यो । यस दिन उत्पादन समूह सबैभन्दा धेरै २.२२ प्रतिशत बढ्यो । हाइड्रोपावर १.८३ तथा निर्जीवन बीमा १.७ प्रतिशत बढे ।

फ्रान्सका राष्ट्रपति इम्यानुइल म्याक्रोनले युक्रेन भ्रमण गरे रद्ध

फ्रान्सका राष्ट्रपति इम्यानुइल म्याक्रोनले युक्रेन भ्रमण रद्ध गरेका छन्। फ्रान्सेली म्यागाजिन च्यालेन्जस्ले लेखेको समाचार साभार गरेर रुसी विश्व च्यानल आरटीले दिएको समाचार अनुसार सुरक्षा कारण देखाएर म्याक्रोनले भ्रमण रद्ध गरेका हुन्।

फेब्रअरी १३ र १४ को लागी तय भएको भ्रमण रद्ध भएको हो। युक्रेनको ब्ल्याक सीमा रहेको युक्रेनी सहर ओडिसा भ्रमण तय गरेका म्याक्रोनले भ्रमण रद्ध गरेका हुन् । सन २०२२ मा रुसले युक्रेनमा हमला गरेको चार महिनापछि युक्रेन भ्रमण गरेका थिए।

अनिल र भीमको सानदार शतकमा क्यानडाविरुद्धको सिरिज ‘क्लिन स्वीप’

ओपनर अनिल साह र भीम सार्कीको शतकमा घरेलु टोली नेपालले क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा क्लिन स्वीप गरेको छ। सोमबार भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा क्यानडामाथि नेपालले ९ विकेटको सानदार जित दर्ता गरेको हो।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडाले जितका लागि दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले ४४.३ ओभरमा मात्र एक विकेटको क्षतिमा पूरा गर्न सफल भयो।

ओपनर साहले सर्वाधिक ११२ रनको शतकीय इनिङ खेले। उनले शनिबार मात्रै डेब्यू गरेका थिए। साथै भीम सार्कीले १०१ रन प्रहार गरे। उनीहरु दुवैको अन्तर्राष्ट्रिय ओडीआईमा यो पहिलो शतक हो।

Logo