अनिल शाह र भीम सार्कीको कीर्तिमानी शतकमा क्यानडाविरुद्धको सिरिज ‘क्लिन स्वीप’ [भिडियाे]

अनिल शाह र भीम सार्कीको कीर्तिमानी शतकमा क्यानडाविरुद्धको सिरिज ‘क्लिन स्वीप’ [भिडियाे]

केन्द्रबिन्दु
84
Shares

काठमाडाैँ। ओपनर अनिल साह र भीम सार्कीको शतकमा घरेलु टोली नेपालले क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा क्लिन स्वीप गरेको छ। सोमबार भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा क्यानडामाथि नेपालले ९ विकेटको सानदार जित दर्ता गरेको हो।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडाले जितका लागि दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले ४४.३ ओभरमा मात्र एक विकेटको क्षतिमा पूरा गर्न सफल भयो ।

नेपालका लागि ओपनर साहले सर्वाधिक रनको शतकीय इनिङ खेले । सुरुवात देखि नै आक्रमक रुपमा उत्रिएका उनले १२ चौका र २ छक्का प्रहार गरे। खेलको दोस्रो ओभरमा अनिलले क्यानडाका उदय भगवानलाई लगातार चार चौका प्रहार गरेका थिए । यो उनको अन्तर्राष्ट्रिय ओडीआईमा पहिलो शतक पनि हो।

यसअघि क्यानडाविरुद्धको दोस्रो खेलमा डेब्यू गरेका अनिलले सोही दिन अर्धशतकको कीर्तिमान बनाएका थिए । १९ बलमा अर्धशतक पूरा गर्दै उनले नेपालका लागि ओडीआईमा सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडीको कीर्तिमानी आफ्नो नाममा बनाएका थिए । यसअघि उक्त कीर्तिमानी २१ बलमा अर्धशतक पूरा गरेका आसिफ शेखको नाममा थियो।

त्यस्तै, भीम सार्कीले पनि सानदार शतकीय इनिङ खेले । १२९ बल खेलेका उनले ११ चौका र एक छक्का प्रहार गर्दै शतक पूरा गरेका हुन् । उनको पनि यो अन्तर्राष्ट्रिय ओडीआईमा पहिलो शतक हो । उनीहरुको साझेदारी उत्कृष्ट रह्यो। चौथो ओभरको पाँचौं बलमा ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालका लागि भीम र अनिलले सानदार पारी खेले।

चौथो ओभरको पाँचौं बलमा भुर्तेल १३ रन जोड्दै आउट भए। उनलाई डिलोन हेलिगरले बोल्ड गरेका थिए । त्यसपछि क्यानडाका बलरसामू भीम र अनिल भारी भए। यसअघि नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि ब्याटिङमा उत्रिएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २३२ रन बनाएको थियो। क्यानडाका लागि नवनीद धलिवालले अर्धशतकीय इनिङ खेले।

८२ बल खेलेका उनले ५ चौकाको मदतमा ५० रन जोडे। सुरुवातमै धर्मराएको क्यानडाका लागि उनको इनिङ महत्वपूर्ण थियो ।त्यस्तै, निखिल दत्तले ४५ रन जोडे । रनआउट हुँदा अर्धशतकबाट भने चुके।

साथै हर्ष ठाकर २९ रन, श्रेयास मोभा २५ रन तथा श्रीमन्थ विजयेन्ते २२ रनमा क्याच आउट भए। कप्तान साद बिन जाफर ३१ रनमा अविजित रहे ।उनको फिनिसिङ उत्कृष्ट रह्यो । १५ बल खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे।

बलिङमा नेपालका तीव्र गतिका बलर हेमन्त धामीले सर्वाधिक ३ विकेट लिए। आज मात्रै सिनियर राष्ट्रिय क्रिकेट टोलीबाट उनले ओडीआई डेब्यु गरेका हुन्। ८ ओभर बलिङ गरेका उनले ४९ रन खर्चिएर ३ विकेट लिएका हुन्। साथै कुशल मल्लले २ विकेट लिँदा आकाश चन्द र ललितनारायण राजवंशीले एकएक विकेट लिए।

नेपालले यसअघि भएको दुवै खेलमा जित हासिल गरेको थियो। पहिलो खेलमा नेपालले क्यानडालाई ७ रन र दोस्रो खेलमा ४ विकेटले पराजित गरेको थियो। फागुन पहिलो सातादेखि त्रिवि मैदानमै हुने आइसिसी विश्वकप लिग-२ को सिरिजको तयारीका लागि नेपालले क्याडनासँग सिरिज खेलेको हो। लिग-२ को यो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ।

Logo