काठमाडौँमा दुर्गा प्रसाईंको शक्ति प्रदर्शन, महानगरले उठाएन कान्तिबाल अस्पतालको फोहोर [भिडियाेसहित]

काठमाडौँमा दुर्गा प्रसाईंको शक्ति प्रदर्शन, महानगरले उठाएन कान्तिबाल अस्पतालको फोहोर [भिडियाेसहित]

केन्द्रबिन्दु
112
Shares

दुर्गा प्रसाईँले नेतृत्व गरेको राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानले प्रथम वार्षिकोत्सव मनायाे

मेडिकल व्यवसायी दुर्गा प्रसाईँले नेतृत्व गरेको राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानले प्रथम वार्षिकोत्सव मनाएको छ। मंगलबार राजधानीको भृकुटीमण्डपमा राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानको प्रथम वार्षिकोत्सवको अवसरमा दुर्गा प्रसाईँले कार्यक्रम गरेका हुन् ।

सो अवसरमा उनले नयाँ चरणको आन्दोलनसमेत सुरु भएको जनाएका छन् । उनले राजसंस्था पुनर्स्थापना लगायतका अजेन्डाहरू अघि सार्दै नयाँ चरणको आन्दोलन सुरु गरेको भन्दै शक्ति प्रदर्शन गरेका हुन्।

काठमाडौं महानगरले कान्ति बाल अस्पतालको फोहोर संकलन तथा ढुवानीमा लगायाे रोक

काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पतालको फोहोर संकलन तथा ढुवानीमा रोक लगाएको छ । महानगरले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि अस्पतालको फोहोर नउठाउने भएको हो।

महानगरकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा अस्पतालको फोहोर व्यवस्थापन अभ्यास हेर्दा फोहोरको वर्गीकरण र ढुवानी पूर्व तयारीमा कमजोरी देखिएपछि फोहोर उठाउन नसकिने अस्पताललाई जानकारी दिइएको हो।

सर्वोच्च अदालतकाे अवज्ञा गर्दै बिदा

सर्वोच्च अदालतले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने केन्द्रीय सरकारको निर्णय खारेज गरे पनि मङ्गलवार केही स्थानीय निकायले त्यसको अवज्ञा गर्दै बिदा दिएका छन्।

अदालतको आदेशपछि केन्द्रीय सरकारले पनि सार्वजनिक बिदा नभएको स्पष्ट पारेको थियो। तर स्थानीय निकायले छिटफुट बिदा घोषणा गरेर जनयुद्ध दिवस मनाइरहेका छन्। सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले मुद्दा परेपछि मात्र अदालतले यस विषयमा बोल्ने बताएका छन्।

‘जनयुद्ध’मा सहभागी नेता–कार्यकर्तालाई एकतामा आउन प्रचण्डकाे अपील

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जनयुद्ध’मा सहभागी नेता–कार्यकर्तालाई एकतामा आउन अपील गरेका छन्।

मंगलबारदेखि काठमाडौंमा सुरु भएको विधान सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले माओवादी ‘जनयुद्ध’ र यसको नेतृत्वलाई अलि बढी हेपाइ हुन थालेको बताए । आफूलाई नेतृत्वमा बसिराख्ने लोभ नभएको उनको भनाइ छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीलाई बुझायाे प्रतिवेदन

राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी तथा लघु वित्तीय संस्थाको संकट र समाधानका उपायसहितको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ।

रास्वपा सभापति रवि लामिछानेले उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा तयार पारेको संकट समाधानका उपायसहितको २० पन्ने प्रतिवेदन बालुवाटारमा पुगेर प्रधानमन्त्रीलाई बुझाएका हुन्। सहकारीमा देखिएका समस्या समाधान गर्नको लागी सरकारले तत्काल हस्तक्षेप गर्न सुझाव दिएको छ।

राप्रपाले बनायाे वार्ता समिति

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानका नाममा कार्यक्रम गर्दै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको टोलीसँग संवाद गर्न वार्ता समिति बनाएको छ।

राप्रपाले संवादका लागि उपाध्यक्ष हेमजङ्ग गुरूङ र महामन्त्री धवलशमशेर राणा रहेको वार्ता समिति गठन गरेको हो । राजावादीहरू एक ठाउँमा उभिनुपर्ने भन्दै प्रसाईंले राप्रपाका अध्यक्ष लिङ्देनसहित नेताहरूसँग आफ्नो अभियानलाई समर्थन गर्न आग्रह गर्दै आएका छन्।

पद र सत्ताका लागि मात्रै जनयुद्ध भएको केपी ओलीकाे आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पद र सत्ताका लागि मात्रै जनयुद्ध भएको आरोप लगाएका छन्। मानव अधिकार रक्षकहरूको सम्मेलनमा बोल्दै उनले भने, पछिल्ला गतिविधि हेर्दा जनयुद्ध सत्ता र प्रधानमन्त्री बन्नका लागि मात्रै रहेको प्रष्ट हुन्छ। के अब सत्ता र प्रधानमन्त्री पदका लागि १७ हजार मानिस मर्नुपर्ने ?’

विचाराधीन विधेयकलाई राष्ट्रिय सहमतिका आधारमा पास गर्छाैँः नारायणकाजी श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले धेरथोर सम्झौता गरेर भए पनि यसपटक शान्ति प्रक्रिया पूरा गर्ने बताएका छन्। मंगलबारदेखि काठमाडौंमा सुरु भएको माओवादी केन्द्रको विधान सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले संसदमा विचाराधीन विधेयकलाई राष्ट्रिय सहमतिका आधारमा पास गर्न चाहेको बताए । उनले भने ‘धेरथोर सम्झौता गरेर भए पनि शान्ति प्रक्रियालाई यसपटक पूरा गर्नुपर्छ ।’

सूर्यदर्शन सहकारीका सदस्य प्रमोद भट्टराईलाई जिल्ला अदालत कास्कीले पूर्पक्षका लागि पठायाे कारागार

सूर्यदर्शन सहकारीका सञ्चालक समितिका सदस्य प्रमोद भट्टराईलाई जिल्ला अदालत कास्कीले पूर्पक्षका लागि कारागार पठाएको छ।

न्यायाधीश रामचन्द्र शर्माको एकल इजलाशले भट्टराईलाई सोमबार पूर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो। सुनसरी जिल्ला, इनरुवा नगरपालिका ५ घर भएका भट्टराईलाई काठमाडौं प्रहरीको सहयोगमा बिहीबार पक्राउ गरिएको थियो।

नेपाली कांग्रेसकाे महासमिति बैठकमा सहभागी हुने प्रतिनिधिबाट जनही तीन हजार रुपैयाँ दर्ता शुल्क लिइने

नेपाली कांग्रेसको आसन्न महासमिति बैठकमा सहभागी हुने प्रतिनिधिबाट जनही तीन हजार रुपैयाँ दर्ता शुल्क लिइने भएको छ। प्रवेश र दर्ता शुल्क बापत उक्त रकम लिने निर्णय गरिएको हो।

महासमिति बैठकमा पार्टीले बिहानको चियानास्ता, खाना र दिउँसो चिया बिस्कुट (हाई–टी)को व्यवस्था गर्नेछ। साँझको खाना भने प्रतिनिधि आफैँले व्यवस्थापन गर्नुपर्ने हुन्छ। बेलुका बसोबासको व्यवस्था पनि प्रतिनिधि आफैँले गर्नुपर्नेछ। बैठक यही फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा आयोजना गरिँदैछ।

सरकारकाे चालु आर्थिक वर्षको सात महिनामा साधारण खर्च ५ खर्ब

चालु आर्थिक वर्ष (आव) २०८०÷८१ को सातमहिनामा साधारणखर्च ५ खर्ब नाघेको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार माघ मसान्तसम्म ५ खर्ब ९ अर्ब ४ करोड रुपैयाँ साधारण खर्च भएको छ।

यो यस वर्ष सरकारले गरेको विनियोजनको ४४.५८ प्रतिशतहो । यो वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबर बजेट कार्यान्वयन गरिरहेको छ । यसमध्ये साधारण खर्चको लक्ष्य ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ छ ।सोमबार मात्र बजेटको अर्धवार्षिक समीक्षामार्फत अर्थमन्त्रीडा. प्रकाशशरण महतले यो लक्ष्य पूरा नहुने स्वीकार गरिसकेका छन् ।

अवैध रुपमा यूएईको मुद्रा लिएर जान खोजेको आरोपमा एक जना पक्राउ

अवैध रुपमा यूएईको मुद्रा लिएर जान खोजेको आरोपमा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुगल गाउँपालिका–२, सिन्धुपाल्चोक घर भएकी १९ वर्षीया सुस्मिता गोले छिन्।

उनलाई विमानस्थल प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको जनाइएको छ । फ्लाई दुबईको उडानमार्फत काठमाडौं जान लागेकी उनको साथबाट प्रहरीले होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा १० हजार यूएई दिराम र १ लाख ४९ हजार साउदी रियाल फेला पारेको थियो।

मंगलबार सेयर बजारमा उच्च अंकको गिरावट

मंगलबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३०.५६ अंक घटेको हो । सो अंकको कमीपछि नेप्से २०७० अंकमा कायम भएको छ।

मौद्रिक नीतिको समीक्षाले बजारका लागि सकारात्मक विषय समेट्ने आश गरेका लगानीकर्ताले सो अनुरुप नआउँदा मंगलबार बिक्री चाप बढ्न गयो।

भारतको राजधानी दिल्लीमा स्थिति तनावग्रस्त

भारतको राजधानी दिल्लीमा यतिबेला स्थिति तनावग्रस्त बनेको छ। हरियाणा, पञ्जाब र उत्तर प्रदेशका किसानहरुले आन्दोलन गर्न दिल्ली प्रस्थान गरेका छन्। किसानहरुलाई दिल्ली छिर्न नदिन केन्द्र सरकारले अनेकौं तयारी गरिरहँदा स्थिति तनावपूर्ण बनेको हो।

केन्द्र सरकारले किसानहरुलाई दिल्ली छिर्न नदिने दिल्ली भित्रिने चार ओटै मुख्य नाकाका सडक बन्द गरिदिएको छ। सवारी आवागमन प्रभावित हुँदा दिल्लीभित्र र बाहिरका सडकहरुमा सवारी साधनहरु लामो जाममा फसेका छन्।

एसीसी वुमन्स प्रिमियर कपमा माल्दिभ्समाथि नेपालकाे कीर्तिमानी जित

नेपालले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा माल्दिभ्समाथि कीर्तिमानी जित हासिल गरेको छ। मंगलबार भएको खेलमा नेपालले २१४ रनको कीर्तिमानी जित दर्ता गरेको हो।

यो नेपालको महिला टी(२० आईमा सर्वाधिक ठूलो अन्तरको जित हो। मलेसियाको क्वालालाम्पुरमा नेपालले जितका लागि दिएको २२८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा माल्दिभ्स १३.५ ओभरमा अलआउट हुँदै १३ रन मात्रै जोड्न सक्यो।

नेपालको जितमा रुविना क्षेत्रीले सानदार शतकीय इनिङ खेलिन् । ५९ बलको सामना गरेकी उनले १० चौका र ५ छक्काको मदतमा सर्वाधिक ११९ रन जोडिन्। रुविना नेपालबाट महिला टि२० आईमा शतक हान्ने पहिलो खेलाडी बनेकी छिन्।

Logo