रुसी सेनामा ज्यान गुमाएका परिवारले राहत पाउने, राप्रपासँग वार्ता गर्न प्रसाईँद्वारा अस्विकार [भिडियाेसहित]

रुसी सेनामा ज्यान गुमाएका परिवारले राहत पाउने, राप्रपासँग वार्ता गर्न प्रसाईँद्वारा अस्विकार [भिडियाेसहित]

केन्द्रबिन्दु
56
Shares

रुसी सेनामा ज्यान गुमाएका परिवारले राहत पाउने

आफ्नो सुरक्षा फौजमा भर्ती भएर युक्रेनसँगको युद्धमा ज्यान गुमाएका नेपालीका परिवारलाई नेपाली राजदूतावासमार्फत राहत दिन रुसी सरकार तयार भएको छ। नेपालीका विषयमा सरकारले गरिरहेको प्रयासमा मृतकका परिवारलाई नेपाली दूतावासमार्फत क्षतिपूर्ति पठाइदिने प्रस्तावमा रुस सहमत भएको हो।

उक्त रकम परराष्ट्र मन्त्रालयमार्फत नेपाल ल्याइनेछ। स्रोतका अनुसार मृतकको परिवारले बीमा र राहतबापत १ करोड ५० लाख रुपैयाँ पाउन सक्छन्। तर मृतकको बीमा छैन भने प्रत्येक परिवारले लगभग ७३ लाख रुपैयाँ पाउन सक्छन्। रुसको रक्षा मन्त्रालयमार्फत उपलब्ध जानकारीमा अहिलेसम्म १२ जना नेपालीको युक्रेन युद्धमा ज्यान गएको छ।

व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले राप्रपासँग वार्ता नगर्ने

व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले राप्रपासँग वार्ता नहुने बताएका छन्। राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले प्रसाईँसँग भेटेपछि वार्ता गर्नको लागि समिति बनाएको थियो।

समितिमा डा. धवलशम्शेर राणा र हेमजंग गुरुङ रहेका छन्। तर, प्रसाईँले राप्रपाले आफ्नो अभियानमा सहयोग गर्न नभई बिथोल्न खोजेको आरोप लगाएका हुन् । ‘म राप्रपाका मान्छे त ल्याउँदिनँ, भित्रने कुरा नगर्नुस्। हिजो बिहान आएर हात मिलाएर दिउँसो आउँछु भने आएनन्। आन्दोलन बिथोल्न रहेछ।’ उनले भने।

नेपाली कांग्रेसको महासमिति बैठक आगामी सोमबारदेखि ललितपुरको गोदावरीमा हुने

नेपाली कांग्रेसको महासमिति बैठक आगामी सोमबारदेखि ललितपुरको गोदावरीमा हुने भएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले चार दिनसम्म चल्ने बैठक पार्टीको विधान, नीति पारित गर्न र नेतृत्व चयनका लागि हुन लागेको जानकारी दिएका हुन्।

बैठकमा प्रस्तुत हुने आर्थिक, सामाजिक, धार्मिक साँस्कृतिक तथा राजनीतिक विषय समेटिएको नीति प्रस्ताव, महामन्त्रीहरूको सांगठानिक र समसामयिक राजनीतिक प्रतिवेदनले वर्तमान राजनीतिक परिवेशलाई उचित सम्बोधन गरिने उनको भनाई छ।

कामको खोजीमा दिनहुँ करिब २ हजार नेपालीले मुलुक छाेड्दै

कामको खोजीमा दिनहुँ करिब २ हजार नेपालीले मुलुक छाड्ने गरेका छन् । वैदेशिक रोजगारी विभागका अनुसार काम खोज्दै दैनिक १ हजार ९ सय ३१ नेपालीले मुलुक छाडिरहेका छन् ।

चालु आर्थिक वर्ष २०८०र८१ को सात महिनामा ४ लाख ५ हजार ५ सय ५२ नेपालीले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार साउन–माघसम्म प्रतिमहिना ५७ हजार ९ सय ३६ नेपालीले रोजगारीका लागि मुलुक छाडेका छन्।

सरकारले विक्रम सम्बत २०८१ सालमा शनिबारबाहेक ३० दिन सार्वजनिक बिदा दिने निर्णय

सरकारले विक्रम सम्बत २०८१ सालमा शनिबारबाहेक ३० दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै शनिबारबाहेक अगामी वर्षमा ३० दिन सार्वजनिक बिदा दिइने जनाएको हो ।

मन्त्रालयले जारी गरेको सूचीअनुसार अगामी वर्षमा ३० दिन विभिन्न दिवस, पर्व तथा जयन्तीको अवसरमा सार्वजनिक बिदा बाहेक ५३ दिन साप्ताहिक शनिबारे बिदा परेको छ । यसरी विभिन्न पर्व तथा जयन्ती र शनिबारसहितको बिदा जोड्दा आगामी वर्ष ८३ दिन सार्वजनिक बिदा परेको छ।

राष्ट्रपति पौडेलले वसन्तपञ्चमी तथा सरस्वतीपूजाका अवसरमा हुनमानढोकास्थित नासलचोकमा वसन्त श्रवण गरे

राष्ट्रपति रामचन्द्र पौडेलले वसन्तपञ्चमी तथा सरस्वतीपूजाका अवसरमा हुनमानढोकास्थित नासलचोकमा वसन्त श्रवण गरेका छन् । त्यस अवसरमा उनले सरस्वतीको पूजा अर्चनाका साथै टीका–प्रसाद ग्रहण गरे।

वसन्त श्रवण गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, उपप्रमधानमन्त्री, मन्त्रीगणलगायत विशिष्ट व्यक्तिहरू सहभागी थिए।

बुधबार प्रेमजोडीहरुले मनाए ‘भ्यालेन्टाइन डे’

बुधबार ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस। प्रेमजोडीहरुका लागि निकै महत्वपूर्ण दिन हो। जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरुका लागि पनि प्रणय दिवसलाई निकै उत्तम साइतको रुपमा लिइन्छ।

पश्चिमा देशहरुबाट सुरु भएको प्रणय दिवस मनाउने चलन अहिले नेपालमा पनि निकैँ झाँगिएको पाइन्छ। विश्वभर नै चर्चित रहेको यस दिन भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा प्रत्येक वर्षको १४ फेब्रअरीमा भ्यालेन्टाइन्स डे मनाउने गरिएको बताइन्छ। फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार यस वर्ष तीन लाख ५० हजार स्टिम गुलाफको माग रहेको थियो।

१२ वर्षको अवधिमा नेपालीको जीवनस्तरमा उल्लेखनीय सुधार

१२ वर्षको अवधिमा नेपालीको जीवनस्तरमा उल्लेखनीय सुधार आएको नेपाल जीवनस्तर सर्वेक्षण २०८० को प्रतिवेदनले देखाएको छ। नेपाली जनताको स्वामित्वमा भएको सम्पत्ति, उनीहरुले खाने खाना तथा पाउने गरेको सेवा सुविधाका आधारबाट हेर्दा जीवनस्तर बढेको देखिएको हो ।पहिलो जीवनस्तर सर्वेक्षण २०५२-५३ सालमा गरिएको थियो।

दोस्रो सर्वेक्षण २०६०-६१ साल र तेस्रो सर्वेक्षण २०६६-६७ सालमा गरिएको थियो। १२ वर्षको अवधिमा नेपालीको प्रतिव्यक्ति खर्च ६६ प्रतिशतले बढेको राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको छ। सबैभन्दा गरिब जनताको प्रतिव्यक्ति खर्च औसतभन्दा पनि बढी ६८ प्रतिशतले बढेको सार्वजनिक भएकोप्रतिवेदनमा उल्लेख छ।

प्राधिकरणले दश मेगावाटसम्मका जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता खुल्ला गर्ने

नेपाल विद्युत् प्राधिकरणले दश मेगावाटसम्मका जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) खुल्ला गर्ने निर्णय गरेको छ प्राधिकरण सञ्चालक समितिको बैठकले १० मेगावाटसम्मका नदी प्रवाही (आरओआर) र अर्धजलाशययुक्त (पिआरओआर) जलविद्युत् आयोजनासँग पिपिए खुलाउने निर्णय गरेको हो। दश मेगावाटसम्मका जलविद्युत् आयोजनाको विद्युत् ‘लेउ या तिर’ (टेक अर पे) प्रावधानका आधारमा खरिद गरिने प्राधिकरणले जनाएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ। आज नेप्से परिसूचक पाँच दशमलव ९१ अङ्कले बढेर दुई हजार ७६ दशमलव ५० विन्दुमा कायम भएको हो ।

आज शेयर बजारमा रू चार अर्ब २५ करोड २७ लाख २२ हजार आठ सय ९५ बराबरको कारोबार भएको छ। तीन सय दुई कम्पनीको एक करोड २३ लाख ६३ हजार २७ कित्ता शेयर ७४ हजार छ सय ७५ पटक खरिदबिक्री भएको हो।

नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

विशेष अदालतले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु, रामबहादुर थापा तथा रितेन्द्र थापाको इजलासले उनीहरूलाई दश दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो । गत माघ १० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘सेक्युरिट प्रिटिन्ङ’ प्रकरणमा जोडिएका विकल र सुनिललाई पक्राउ गरेको थियो ।

काठमाडौं जिल्ला अदालतका कार्यरत अधिकृत बलात्कारको आरोपमा पक्राउ

काठमाडौं जिल्ला अदालतका कार्यरत अधिकृत बलात्कारको आरोपमा पक्राउ परेका छन्। ललितपुर प्रहरीले माघ २८ गते गोपाल गजमेरलाई पक्राउ गरेको हो। गजमेरविरुद्ध बलात्कारको जाहेरी पक्राउ परेकै दिन प्रहरीले उनलाई पक्राउ गरेको थियो।

पाटन उच्च अदालतमा कार्यरत रहँदा सँगै काम गरेकी कर्मचारीले गजमेरविरुद्ध बलात्कारको आरोप लगाएकी हुन्। स्रोतका अनुसार जाहेरवालाले २०७७ देखि गजमेरसँग चिनजान रहेको र अन्तिम पटक गत साउनमा आफू बलात्कारमा परेको उल्लेख गरेकी छिन्।

पाकिस्तानमा पूर्वप्रधानमन्त्री नवाज शरीफ नेतृत्वको छ दलीय गठबन्धनमा नयाँ सरकार बन्ने

पाकिस्तानमा पूर्वप्रधानमन्त्री नवाज शरीफ नेतृत्वको पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) ले छ दलीय गठबन्धनमा नयाँ सरकार बनाउने भएको छ। पीएमएल–एन र बिलावल भुट्टो नेतृत्वको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) मिलेर पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) नामको गठबन्धन बनाएका हुन्।

पाकिस्तानमा सम्पन्न चुनावमा पूर्वप्रधानमन्त्री इमरान खान समर्थित स्वतन्त्र उम्मेदवारहरूले सबैभन्दा धेरै सिट जितेका छन्। उनीहरूसँग दलीय हैसियत नभएकोले दोस्रो स्थानमा रहेको पीएमएल–एनको नेतृत्वमा गठबन्धन बनेको हो।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत बिहीबार हुने नामिबियाविरुद्धको पहिलो खेलमा नहुने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत बिहीबार हुने नामिबियाविरुद्धको पहिलो खेलमा नहुने भएका छन्।

दीपेन्द्र सम्मिलित गल्फ जायन्टसले बुधबार साँझ आइएलटि२०को क्वालिफायरमा प्रतिस्पर्धा गर्दैछ । उनी उक्त खेलमा उपस्थित रहने भएकाले बिहीबार हुने नेपालको खेलमा उपस्थित नहुने भएका हुन् । उक्त खेलको नतिजा हेरेर दीपेन्द्रको अन्य खेलमा सहभागिता बारे निर्णय हुनेछ ।

Logo