मन्त्री ज्वालालाई बर्खास्त गर्न दबाब, हिन्दू राष्ट्रको एजेण्डाले काँग्रेसमा मच्चाउँदै वितण्डा [भिडियाेसहित]

मन्त्री ज्वालालाई बर्खास्त गर्न दबाब, हिन्दू राष्ट्रको एजेण्डाले काँग्रेसमा मच्चाउँदै वितण्डा [भिडियाेसहित]

केन्द्रबिन्दु
168
Shares

गठबन्धनको अन्त्य गर्नुपर्छः सुनिल शर्मा

नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले माओवादी केन्द्रसँगको अप्राकृतिक गठबन्धनको अन्त्य गर्नुपर्ने बताएका छन्। कांग्रेस महासमिति बैठकअघि शनिबार काठमाडौंमा पार्टी रुपान्तरणका लागि आफ्नो अवधारणा पत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सांसद शर्माले कुनै कार्यक्रम नै नमिल्ने पार्टीहरुसँगको गठबन्धनबाट बनेको सरकारका कामकारवाही प्रभावकारी हुन नसकेको र यसलाई अन्त्य गरेर कांग्रेसको नेतृत्वमा जनमुखि सरकार बनाउनुपर्ने बताएका हुन्। यसरी सरकारमा कांग्रेस बसिरहँदा माओवादीको असक्षमताको भारी पनि बोक्नुपर्ने उनको भनाई थियो ।

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले गर्याे मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गरेको छ। ललितपुर घटनाको सत्य तथ्य छानबिन गर्न उच्च अदालतका पूर्व न्यायधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा गठित जाँचबुझ आयोगले मन्त्री ज्वालाकै कारणले घटना भएको निष्कर्ष निकालेपछि तत्काल बर्खास्त गरेर कारवाही गर्न सरकारसँग माग गरेको हो।सो घटनामा प्रहरीको गोली लागेर सुजन राउत र विरेन्द्र शाहको मृत्यु भएकोको थियो।

२८ वर्षीया माया रम्तेलले पाँच वर्षीया छोरी वर्षालाई शरीरमा बाँधेर आत्मदाह गर्दा छोरीको मृत्यु

बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडाकी २८ वर्षीया माया रम्तेलले पाँच वर्षीया छोरी वर्षालाई शरीरमा बाँधेर आत्मदाह गर्दा छोरीको मृत्यु भएको छ। सो प्रयासमा आमा गम्भीर घाइते भएकी छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीका अनुसार शुक्रबार राति ८ः३० बजेतिर मायाले आफ्नै शरीरमा पेट्रोल खन्याइ आगो लगाएकी थिइन्। घटनामा दुवै जना गम्भीर घाइते भएकाले उपचारका लागि बीएन्डसी अस्पतालमा भर्ना गरिएको थियो।

लोकसङ्गीतमा देखिएको बाह्य अतिक्रमण र विकृतिप्रति सचेत हुनुपर्छः प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली लोकसङ्गीतमा देखिएको बाह्य अतिक्रमण र विकृतिप्रति सचेत हुनुपर्ने बताएका छन्। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालद्वारा आयोजित खुला लोकदोहोरी प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने दर्शक श्रोताको मन जितेका कालजयी गीतहरू नेपालीको मनमुटु र जनजिब्रोमा झुण्डिएका छन्।

तर, पछिल्लोसमय ‘भाइरल’ हुने र ‘भ्यूज’ बढाउने नाममा ख्यातिप्राप्त राष्ट्रिय कलाकारसमेत सांस्कृतिक विकृतितर्फ अग्रसर भएको अनुभूति हुन्छ। यसतर्फ कलाकर्मीहरू र सम्पूर्ण जनसमुदायहरू सचेत हुनैपर्छ, उनले भने। ‘भाइरल’ हुनु र लोकप्रिय एवं जनप्रीय हुनु एउटै कुरा नभएको उनको भनाई छ।

कांग्रेसका सांसद शंकर भण्डारीको नेतृत्वमा सनातन हिन्दू राष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा

नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा सनातन हिन्दू राष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा भएको छ। काठमाडौंको थापागाउँ स्थित बानेश्वर बैंक्वेटमा आयोजित कार्यक्रममा महाअभियानको औपचारिक रूपमा घोषणा भएको नेता भण्डारीले बताएका हुन्।शुक्रवारको केन्द्रीय समितिको बैठकमा पार्टी सनातन हिन्दूराष्ट्र नेपालको पक्षमा उभिनुपर्ने भन्दै २२ जना केन्द्रीय सदस्यले हस्ताक्षर संकलन गरेर बुझाएका थिए।

एमाले पार्टीमा नयाँ नेतृत्वका लागि प्रतिस्पर्धा गर्न आफ्नो पार्टी खुला छः पदम गिरी

नेकपा एमालेका नेता पदम गिरीले पार्टीमा नयाँ नेतृत्वका लागि प्रतिस्पर्धा गर्न आफ्नो पार्टी खुला रहेको बताएका छन्।नेपाल लिटरेचर फेस्टिभलमा बोल्दै १० औँ महाधिवेशनपछि पार्टीमा धेरै ठूलो परिवर्तन आएको बताएका हुन्। पार्टीमा गुटबन्दी समस्याका रूपमा रहेको स्वीकार गर्दै लोकतान्त्रिक विधि र प्रक्रिया निर्माणमा जाँदा सबै समस्या समाधान हुने उनको भनाइ छ।

महावीर झण्डाको कलश यात्राका क्रममा दुई समुदायबीच झडप

महोत्तरीको सम्सी गाउँपालिका–२ परसामा महावीर झण्डाको कलश यात्राका क्रममा दुई समुदायबीच झडप भएको छ ।सम्सी गाउँपालिका १ बाट सुरु भएको कलश यात्रा वडा नं. २ स्थित नुरी मस्जिद नजिक पुगेपछि झडप भएको हो । झडप नियन्त्रणका लागि प्रहरीले ४ राउन्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । झडपका क्रममा ३ जना सामान्य घाइते भएका छन् ।

काठमाडौं–तराई-मधेस द्रुतमार्ग निर्माणको करिब ३१ प्रतिशत काम सकियाे

राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौं–तराई-मधेस द्रुतमार्ग निर्माणको करिब ३१ प्रतिशत काम सकिएको छ । चालु आर्थिक वर्ष २०८०-८१ को माघ मसान्तसम्म आयोजनाको ३० दशमलव ९६ प्रतिशत भौतिक र ३१ दशमलव ५७ प्रतिशत वित्तीय प्रगति भएको छ। मुआब्जा वितरण तथा जग्गा अधिग्रहण हुन बाँकी खोकना क्षेत्र र अदालतमा मुद्दा परेका ठेक्का प्रक्रियामा बाहेक कामको प्रगति सन्तोषजनक रहेको नेपाली सेनाका प्राविधिक सहायक रथी तथा आयोजना प्रमुख विकास पोखरेलले जानकारी दिएका छन् ।

भरतपुर विमानस्थलको विस्तारको प्रक्रिया अगाडि बढाउन सोमबारदेखि सर्भेको काम सुरु हुने

चितवनको भरतपुर विमानस्थलको विस्तारको प्रक्रिया अगाडि बढाउन सोमबारदेखि सर्भेको काम सुरु हुने भएको छ ।सर्भे एक हप्ताभित्रै सक्ने गरी काम गरिने महानगरपालिकाले जनाएको छ । शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्षतामा बसेको बैठकलेसमग्र विमानस्थल विस्तार सहजीकरणको लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाली सेना र महानगरपालिकाको प्रतिनिधि सम्मिलित सहजीकरण समिति गठन गर्ने सहमति गरिएको छ ।

जलवायु वित्त र जलवायु न्यायका मुद्दालाई नेपालले अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड

विज्ञहरुले जलवायु वित्त र जलवायु न्यायका मुद्दालाई नेपालले अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिएका छन् ।विश्व सामाजिक मञ्चमा सहभागी विज्ञहरुले नेपाल कुनैपनि बेलामा जलवायु परिवर्तनको असरका कारण ठूलो क्षति हुने देश भएको भन्दै यसबारेमा समयमा नै आवश्यक ध्यान दिनुपर्ने बताएका हुन । उनीहरुले जलवायु परिवर्तनको असरबाट हुने क्षति न्युनिकरणका लागि समयमा नै सरकारले स्थानीय तहमा डिजास्टर लर्निङ सेन्टरहरु स्थापना गर्न आवश्यक उनीहरुको भनाइ छ ।


एलेक्सी नभाल्नीको जेलमा भएको मृत्युपछि संयुक्त राष्ट्रसङ्घ र विश्वका प्रमुख शक्ति राष्ट्रका नेताहरूले घटनाको छानवीन गर्न गरे आग्रह

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक तथा विपक्षी नेता एलेक्सी नभाल्नीको जेलमा भएको मृत्युपछि संयुक्त राष्ट्रसङ्घ र विश्वका प्रमुख शक्ति राष्ट्रका नेताहरूले घटनाको छानवीन गर्न आग्रह गरेका छन्।

रूसमा पछिल्लो दशक सबैभन्दा प्रखर प्रतिपक्षी नेताको छवि बनाएका नभाल्नीको जेलमा निधन भएको कारागार प्रशासनले शुक्रवार जनाएको थियो ।संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले ‘हिरासतमा भएको भनिएको नभाल्नीको मृत्युको परिस्थितिबारे पूर्ण विश्वसनीय तथा पारदर्शी छानबिन’ हुनुपर्ने माग गरेका छन्।

विश्वकप लिग–२ काे दोस्रो खेलमा नेपाल नेदरल्याण्डसमाथि ९ विकेटले पराजित

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्याण्डसमाथि ९ विकेटको जित हात पारेको छ । शनिबार नेदरल्याण्डसले दिएको १३७ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा एक विकेटको क्षतिमा भेट्टाएको हो।

नेपालका लागि ओपनर अनिल शाह र आसिफ शेखले अर्धशतक पूरा गर्दा कुशल भुर्तेलले आक्रामक सुरुवात दिलाएर आउट भएका थिए । उनले ११ बल खेली २ चौका र ३ छक्का प्रहार गरि २८ रन बनाएका थिए।

त्यसपछि आसिफ शेख र अनिल साहले ठूलो शटहरू खेलेपछि नेपालले १० ओभरमा १ सय रन जोडेर उत्कृष्ट सुरुआत गरेको थियो ।लिग–२ मा नेपालको यो पहिलो जित हो ।

Logo