मेलम्चीको भ्रष्टाचारमा मुछिए भीम उपाध्यायसहित तीन पूर्वसचिव, मन्त्री ज्वालाको विषयले तातियो संसद [भिडियाेसहित]

मेलम्चीको भ्रष्टाचारमा मुछिए भीम उपाध्यायसहित तीन पूर्वसचिव, मन्त्री ज्वालाको विषयले तातियो संसद [भिडियाेसहित]

केन्द्रबिन्दु
70
Shares

एमाले र रास्वपाद्वारा मन्त्री ज्वालाको राजीनामा माग

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा मागेको छ। गत पुस १३ गते ललितपुरको बालकुमारीमा प्रहरीको गोलीबाट दुई जनाको मृत्यु भएको घटनामा मन्त्री ज्वाला दोषी रहेको छानबिन प्रतिवेदनको निष्कर्ष हुँदा पनि कारबाही नभएको भन्दै एमालेले विरोध जनाएको हो। आजको प्रतिनिधि सभाको बैठकको सुरुमा बोल्दै एमाले सचेतक महेश बर्तौलाले मन्त्री ज्वालालाई बर्खास्त गर्न माग गरे।

यस्तै, रास्वपाका सभापति एवम् सांसद रवि लामिछानेले पनि मन्त्री ज्वालाको राजीनामा गरे। प्रधानमन्त्रीले जवाफमा बालकुमारी घटनामा सरकार १० लाख दिएर चुप लागेर नबसेको र आगामी मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ने र आवश्यक कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिनिधिसभामा (पहिलो संशोधन) अध्यादेश, २०८० बहुमतले स्वीकृत

प्रतिनिधिसभाको आइतबारकाे बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० बहुमतले स्वीकृत गरेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव आजको बैठकमा राखेका थिए । आजको बैठकमा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० लाई अस्वीकार गरियोस् भनी राखेको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो ।

सांसद सुवालको उक्त प्रस्ताव भने बहुमतले अस्वीकृत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गत माघ ४ गते आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० जारी गरेका थिए ।

नेपाली कांग्रेसको महासमिति बैठकमा झन्डै दुइ करोड खर्च हुने

सोमबारबाट सुरु हुने नेपाली कांग्रेसको महासमिति बैठकमा झन्डै दुइ करोड खर्च हुने भएको छ। प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आइतबार पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन्। जसमा ६० प्रतिशत सहभागीबाट, २० प्रतिशत लेवी र बाँकी रहेको व्यवस्था मिलाइनेछ ।

महासमिति बैठकमा वर्तमान पदाधिकारी तथा केन्द्रीय सदस्यहरू १६५ जना, प्रतिनिधि सभा क्षेत्रबाट प्रतिनिधित्व हुने गरी महासमिति सदस्यहरू १ हजार सात सय ८० जना, नेपाली जनसम्पर्क समितिबाट ८९ जना, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ जना, महासमिति सदस्य नरहेका जिल्ला सभापति ४६ जना सहभागी हुने छन् ।

महासमिति बैठक नेपाली कांग्रेसकै लागि चुनौतीको रुपमा देखियाेः शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको महासमिति बैठक नेपाली कांग्रेसकै लागि चुनौतीको रुपमा देखिएको बताएका छन् । आइतबार नेपाली कांग्रेसको महासमिति बैठकको पूर्वसन्ध्यामा आयोजित चियापान कार्यक्रममा बोल्दै उनले भने, ‘कतै नेपाली कांग्रेसले आफ्नो मौलिकता गुमाएको त होइन भन्ने मलाई लागिरहेको छ ।

जननायक वीपी कोइराला, सुशील जी, गणेशमान जी हरुले स्थापित गर्नुभएको पार्टीको एउटा मौलिकता दिनुभएको थियो । त्यो गठबन्धनको छायाँले ग्रसित भएका हौं कि भन्ने चिन्ता लागेको छ ।’

समाजवादी मोर्चाको संयोजक नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव

समाजवादी मोर्चाको संयोजक नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव बनेका छन्। आइतबार बिहान एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा बसेको मोर्चाको बैठकले चन्दलाई संयोजक तोकेको हो।

नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीका शीर्ष नेताहरुले गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए। चार–चार महिनामा आलोपालो नेतृत्व सम्हाल्ने सहमति अनुसार यसअघिका दुवै कार्यकाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्हालेका थिए।

कोसी प्रदेशमा नेपाली कांग्रेसको विद्रोही समूहले गठबन्धनका उम्मेदवार हराएको रिपोर्टिङ

समाजवादी मोर्चाको बैठकमा राष्ट्रियसभाको निर्वाचनअन्तर्गत कोसी प्रदेशमा नेपाली कांग्रेसको विद्रोही समूहले गठबन्धनका उम्मेदवार हराएको रिपोर्टिङ भएको छ । आज बालुवाटारमा बसेको बैठकमा गठबन्धको समीक्षाका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोसीमा कांग्रेसको विद्रोही पक्षले धोका दिएको ब्रिफिङ गरेका हुन् ।

“कोसी प्रदेशमा नेपाली कांग्रेसको संस्थानपन पक्षभन्दा पनि विद्रोही पक्षले हामीलाई मत दिएन,” उनले बैठकमा भने । गत माघ ११ गते भएको राष्ट्रियसभा निर्वाचनमा कोसीमा गठबन्धनको तर्फबाट महिला क्लस्टरमा उमेदवार बनेकी चम्पा कार्की पराजित भएकी थिइन् । जहाँ एमालेकी रुक्मिणी कोइराला निर्वाचित भएकी थिइन् ।

मेलम्चीमा ७ अर्बभन्दा बढीको भ्रष्टाचार, कसका नाममा कति बिगो ?
मेलम्ची खानेपानी परियोजनामा अनियमितता गरेको अभियोगमा खानेपानी मन्त्रालयका पूर्वसचिव भिम उपाध्यायसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी विकास समितिको बोर्डका तत्कालीन अध्यक्ष एवं खानेपानी मन्त्रालयका तत्कालीन सचिव डा. संजय शर्मा, पूर्वसचिव उपाध्याय, गजेन्द्र कुमार ठाकुर, समितिका कार्यकारी निर्देशकसहित १५ जना नेपाली र तीन विदेशी परामर्शदाताविरुद्ध मुद्धा दायर गरेको हो।

अख्तियारले प्रतिवादीहरूबाट ४ देखि ८९ करोड रुपैंयासम्म मागदाबी लिएको छ। जसमा तत्कालीन सचिव उपाध्यायलाई ४ करोड २२ लाख ३४ हजार रुपैंया बिगो कायम गरिएको छ।

ईशनाथ नगरपालिकाको २, ३, ४ ,५ र ६ मा कर्फ्युको क्षेत्र बढाइयाे

सरस्वतीको मूर्ति सेलाउने विषयलाई लिएर रौतहटको ईशनाथ नगरपालिकाको अवस्था तनावपूर्ण बन्दै जाँदा स्थानीय प्रशासनले लगाएको कर्फ्युको क्षेत्र विस्तार गरिएको छ ।

ईशनाथ नगरपालिकाको वडा नम्बर ६ र ७ मा लगाइएको कर्फ्यु आइतबार दिउँसोदेखि अर्को सूचना जारी नहुन्जेलसम्म वडा नम्बर २, ३, ४ ,५ र ६ मा कर्फ्युको क्षेत्रलाई बढाइएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको हो।

कर्फ्यु लागेको क्षेत्रमा आवतजावत, हिँडडुल, सभा, घरबाहिर निस्कने सबै प्रकारको कार्यमाथि पूर्ण रुपमा निषेध गरिएको प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीद्वारा जारी गरिएको आदेशमा उल्लेख छ ।

‘स्वघोषित’ डाक्टर भट्टाचार्यलाई धरौटीमा रिहा गर्न अदालतले आदेश

नक्कली मेडिकल काउन्सिल नम्बरको आधारमा बिरामीको उपचारमा संलग्न रहेको आरोपमा पक्राउ परेका ‘स्वघोषित’ डाक्टर सम्बुद्ध भट्टाचार्यलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको शुक्रबारको इजलासले भट्टाचार्यलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । कीर्तेसम्बन्धीको कसुरमा अनुसन्धान गरेर जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला सरकारी वकिल कार्यालयमा फाइल पठाएको थियो । त्यसपछि उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो।

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलब २१ अङ्कले ओरालो लागेर दुई हजार ३४ दशमलव ८२ मा सीमित भएको हो ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ३५ अङ्कले ओरालो लागेर तीन सय ६५ दशमलव २० मा सीमित भएको हो । कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ । कूल एक करोड सात लाख ७२ हजार चार सय ८३ कित्ता शेयर रु तीन अर्ब ७७ करोड ५४ लाख २२ हजार एक सय ९६ मूल्यमा कारोबार भयो ।

थाइल्याण्डका पूर्व प्रधानमन्त्री सिनावात्रा रिहा

भ्रष्टाचारको अभियोगमा दोषी ठहर भएका थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा परोलमा रिहा भएका छन्।
थाइल्याण्डको उच्च अदालतले सिनावात्रालाई आठ वर्षको जेल सजाय तोककोमा थाइल्याण्डका राजाले कैद अवधि मिनाहा गरी १ वर्षको सजायमा झार्नु भएको थियो।

१५ वर्षसम्म निर्वासनमा रहेका सिनावात्रालाई निर्वासनबाट फर्कने बित्तिकै प्रहरीले नियन्त्रणमा लिएको थियो । स्वास्थ्य अवस्था कमजोर भएका सिनावात्रा प्रहरीको अस्पतालमा रही सजाय काटिरहेकोमा मौखिक प्रतिज्ञामा रिहा भएका हुन् ।

नेपाल ए पराजित

एकदिवसीय क्रिकेटमा नेपाल ए आफ्नो पहिलो खेलमा क्यानडा ११ सँग पराजित भएको छ। मूलपानी क्रिकेट मैदान भएको खेलमा नेपाल ४ विकटेले पराजित भएको हो। नेपालले बासिर हदमदको अर्धशतकको मदतमा क्यानडालाई २१७ रनको लक्ष्य दिएको थियो। त्यो लक्ष्य क्यानडाले ६ विकेट गुमाएर खेल सकिन ३ बल बाँकी छँदा भेट्टायो।

नवनित दलिवालले ८० र निखिल दत्तले ६७ रन बनाए। यसअघि मुलपानीमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१६ रन बनायो। अहमद ५० रनमा अविजित रहे। रासिद खानले ४० रन बनाए भने मयन यादवले ३६ रन जोडे।

Logo